कनकाई अनलईन
घुर ताप्नेक्रममा जलेर घाइते हुनुभएकी बाह्रदशी ५ की एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
गत माघ २८ गते घुर ताप्नेक्रममा एकल महिला ५६ वर्षीया कमला राजवंशी जलेर घाइते हुनुभएको थियो । कम्मरमुनि जलेर घाइते भएकी कमलालाई उपचारका लागि बिर्तामोडको संजिवनी हस्पिटलमा भर्ना गरिएको थियो । उपचारकै क्रममा मंगलवार दिउँसो उनको मृत्यु भएको बाह्रदशी ५ का वडाध्यक्ष वीरबहादुर राजवंशीले बताउँनुभयो ।
कमजोर आर्थिक अवस्थाकी राजवंशीलाई आर्थिक सहयोग संकलन गरेर अस्पतालमा उपचार गराउँनुपरेको वडाध्यक्ष वीरबहादुर राजवंशीले बताउँनुभयो ।
त्यस्तै मंगलवार विहान १०ः३० बजेको समयमा बुद्धशान्ति वडा नं.६ चुल्ठे पाखागाउँ बस्ने ५६ वर्षीय सूर्य सुनुवारको घरमा आगलागी भएको छ । सिमेन्ट ढुङ्गाको वाल, काठको खम्बा, टिनको छानो भएको २ कोठे निर्माणाधिन घर र काठको खम्बा टिनको छानो भएको २ कोठे भान्सा घरमा तरकारी पकाउने क्रममा चुल्होबाट अचानक आगलागी भएको हो ।
आगलागीबाट २ वटा घर र घरभित्र राखेको अन्नपात, भाडाकुडा, लत्ताकपडा, काठको सामान बनाउन प्रयोग हुने मेसिनहरु, महत्वपूर्ण कागजात, घर बनाउन राखेको अन्दाजी २० कि.बी. चिलाउनेको काठ, बजारमा बेच्नको लागि बुनेर तयार गरेको अन्दाजी ४० वटा नांङ्लो समेत पूर्ण रुपमा जल्दा अन्दाजी १० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।