Kanakai Online

शिवसताक्षीका ३५ विद्यालयमा इ–हाजिरी


शनिवार, फागुन ५, २०८० |

कनकाई अनलाईन
झापाको शिवसताक्षी नगरपालिकाले नगरका ३५ ओटा विद्यालयमा एक साथ इ–हाजिरी जडान गरेको छ ।
नगरका सामुदायिक विद्यालयहरुको शिक्षाको गुणस्तर बृद्धिका लागि इ–हाजिरी जडान गरिएको शिवसताक्षी नगरपालिका शिक्षा शाखाले जनाएको छ ।
इ–हाजिरीको शिवसताक्षी नगरपालिका ११ स्थित श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा नगरप्रमुख मेगाहाङ्ग थोप्राले शुभारम्भ गर्नुभएको छ ।
इ हाजरीको शुभारम्भ गर्दै नगर प्रमुख थोप्राले नगरका भित्र रहेका सामुदायिक विद्यालयहरुका शिक्षकहरुलाई हाजिरीमा सहज र एकरुपता बनाउन र नगरबाट मनिटरिङ्गका लागि इ हाजिरीको व्यवस्था गरिएको बताउँनुभयो । नगरप्रमुखले शिवसताक्षीका ३५ वटै विद्यालयमा इ हाजिरीको सुरुवात गरेको जानकारी दिनुभयो । नगरप्रमुख थोप्राले शिक्षाको गुणस्तर बृद्धिका लागि श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयलाई स्मार्ट विद्यालयको अवधारण अनुसार चालु आर्थिक बर्षमा विद्यालय प्राङ्गणमा थप व्यवस्थित बनाइने समेत जनाउँनुभयो । थोप्राले आगामी वर्ष साना विद्यालय कक्षा कोठाहरुको सुधार गर्न आवश्यक बजेट बिनियोजन गर्न लागेको समेत जानकारी दिनुभयो ।
ई–हाजिरी सुरु भएपछि विद्यालयमा शिक्षक–शिक्षिका, कर्मचारी नियमित विद्यालय आउने शिक्षा अधिकारी छवि ढकालले बताउनुभयो । शिक्षक तथा कर्मचारीहरु समयमै विद्यालयमा उपस्थित भए भएनन् अब नगरपालिकाबाटै निगरानी हुन्छ, शिक्षा अधिकारी ढकालले भन्नुभयो । यसबाट विद्यालयमा शिक्षक नियमित विद्यालय आउँने र शिक्षाको गुणस्तर बृद्धिमा टेवा पुग्ने विश्वास नगरपालिकाले लिएको नगरप्रमुख थोप्राले बताउँनुभयो ।
नगरपालिकाले करिब ९ लाखको लागतमा नगरका सामुदायिक विद्यालयहरूमा ई–हाजिरी जडान गरिएको जनाएको छ । श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईलगायत टोलीले विद्यालयको अनुगमन समेत गरेका थियो ।

सम्बन्धित खबर