कनकाई अनलान
उत्तरी मोरङको केराबारी गाउँपालिकाले सङ्कटापन्न अवस्थामा रहेको सालक संक्षरण अभियान सुरु गरेको छ । मानिसहरूको जङ्गली स्रोतसाधनसँग परनिर्भरता बढ्दै जाने क्रम बढेसँगै दुर्लभ वन्यजन्तु सालक सङ्कटमा परेको हो ।
किसानमैत्री वन्यजन्तुका रूपमा परिचित सालकको मासु र खपटामा औषधीय गुण पाइने भन्दै नेपालबाट चीन र भियतनाममा यसको चोरी तस्करी हुने गरेको छ । सालकको मुख्य आहारा मानिसको बालीनालीमा दुःख दिने धमिरा र किरा मानिन्छ । सामुदायिक वन र वैज्ञानिक वनका नाममा अव्यवस्थित रूपमा जङ्गलको घना क्षेत्र मासिन थालेपछि सालकको बसोबास क्षेत्र सङ्कटमा परेको उत्तरी मोरङको चुरे क्षेत्रका वन उपभोक्ता बताउँछन् ।
केही वर्षअघिसम्म उत्तरी मोरङको चुरे क्षेत्रमा प्रशस्त सालक भेटिन्थे । अहिले पनि केराबारी र मिक्लाजुङ गाउँपालिका र लेटाङ नगरपालिकाका चुरे क्षेत्रमा सालकको बासस्थान भेटिने गरेको छ । स्थानीयस्तरमा सालक संरक्षणमा लागेको नमुना फर्माकल्चर सिकाइ थलोका अध्यक्ष कुमारबहादुर विश्वकर्माले भन्नुभयो, “सालकको आहाराको मुख्य स्रोत धमिरा र किरा हो । वनमा मानव उपस्थिति बढेसँगै धमिराको ढिस्कासमेत लोप भएको छ । एकातिर चोरी तस्करी बढेको छ भने अर्कातर्फ बसोबास र आहारा मासिएको छ ।
” मानिसलाई कुनै प्रकारको हानि नगर्ने सालकले माटोलाई समेत उर्वर बनाउने ‘भर्टिकल बायो डाइभर्सिटी फन्ड’ का सदस्य गङ्गा लिम्बू बताउनुहुन्छ । लिम्बूले भन्नुभयो, “माटो खुकुलो बनाउने र किसानको अन्नबालीलाई हानि नगर्ने भएकाले सालक किसानमैत्री वन्यजन्तुका रूपमा परिचित छ । खास गरी जङ्गली वन्यजन्तुभन्दा पनि मानव आक्रमणबाटै सालक सङ्कटमा परेकाले यसको संरक्षणका लागि बासस्थान जोगाउन मानिसले नै सहयोग गर्नु पर्छ ।”
लोपोन्मुख अवस्थामा पुगेको सालक जोगाउन ‘भर्टिकल बायोडाइभर्सिटी फन्ड’ र ‘नमुना फर्माकल्चर सिकाइ थलो’ नामका दुई संस्था सन् २०१७ बाट उत्तरी मोरङमा व्रिmयाशील छन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले सालकलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ । आठ प्रजातिका सालकमध्ये संसारमै दुर्लभ मानिएका दुई प्रजाति कालो सालक ९चाइनिज प्याङ्गोलिन० र तामे सालक ९इन्डियन प्याङ्गोलिन० नेपालमा मात्र पाइन्छ ।
नेपालमा पाइने स्तनधारीमध्ये कालो सालक एउटै मात्र अन्तर्राष्ट्रिय रूपमै अति सङ्कटापन्न वन्यजन्तु हो । यी संस्थाले यो क्षेत्रमा सालकको चोरी सिकार र तस्करी रोक्ने, घाइते सालकको उपचार गर्ने, सालक भएको स्थानको पहिचान गर्ने, सालकको महत्त्व स्थानीयलाई बुझाउने तथा सालकका बारेमा जनचेतना फैलाउनेलगायतका कार्य गरिरहेको ‘भर्टिकल बायो डाइभर्सिटी फन्ड’ का अध्यक्ष भोजराज काफ्लेले बताउनुभयो । काफ्लेका अनुसार फन्डले मोरङ, सुनसरी र सङ्खुवासभामा सालक संरक्षणसम्बन्धी काम गरिरहेको छ ।
समुद्री सतहदेखि करिब दुई हजार मिटरसम्मको उचाइका वनजङ्गलमा सालक पाइन्छ । अति लजालु, संवेदनशील एवं शान्त वातावरणमा बस्न रुचाउने सालकले मानिसलाई कुनै क्षति गर्दैन । एक बेतमा एउटा मात्र बच्चा जन्माउने सालकको बच्चाको जन्मदर अत्यन्तै कम हुन्छ । जन्मिएका बच्चामा पनि हुर्किने सम्भावना कम भएकाले सालकमैत्री वातावरण तयार गर्नुपर्ने ‘नमुना फर्माकल्चर सिकाइ थलो’ का अध्यक्ष कुमारबहादुर विश्वकर्मा बताउनुहुन्छ । पाँचरसात वर्षअघिसम्म सालक देखिरहेका केराबारी–५, सतिसालेका दुर्गाप्रसाद कट्टेलले भन्नुभयो, “किराधमिरा खाएर बाँच्ने यो प्राणीको बासस्थान र खाना मासियो । बस्ने स्थान मात्र संरक्षण गरेर भएन । जङ्गलमा धमिराको ढिस्का देखिन्न । मानिसको वनमा जथाभाबी प्रवेशले ढिस्का मासिए ।” कट्टेलले समयमै ध्यान दिन सके अझै पनि संरक्षणको सम्भावना रहेको बताउनुभयो ।
मोरङको केराबारी गाउँपालिकाले सालक संरक्षणसम्बन्धी कार्यविधि, २०८० निर्माण गरेर स्थानीय सामुदायिक वनको सहकार्यमा संरक्षणसम्बन्धी काम सुरु गरेको छ । पाकिलाका प्रवक्ता नारायण भुजेलले भन्नुभयो, “पहिलो चरणमा पालिकाभित्रका सबै सामुदायिक वनसँग सहकार्य गरी जनचेतना कार्यक्रम गर्ने छौँ । पहिले महत्त्व बुझाएर मात्र संरक्षण अभियान सुरु गर्ने प्रवक्ता भुजेलले बताउनुभयो । हाल नेपालका ४३ जिल्लामा सालक भेटिएको तथ्य सार्वजनिक भएको छ ।