Kanakai Online

सुर्तिको पुरस्कारमा कनकाई नगरपालिकाको फुर्ति जम्बो टोली सहभागि भएपछि सर्वत्र विरोध


शुक्रवार, पौष २७, २०८० |

कनकाई अनलाईन
शुक्रबार काठमाण्डौमा भएको एउटा सम्झौता र सम्मान कार्यक्रमका लागि कनकाई नगरपालिकाबाट जम्बो टोली सहभागि भएको भन्दै आलोचना भएको छ । कार्यक्रमको आवश्यकता भन्दा बढी जनप्रतिनिधी, कर्मचारी र अन्य गरी करिब दुई दर्जनको संख्यामा काठमाण्डौ गएपछि नगरपालिकाको आलोचना भएको हो ।
‘खुद्रे कार्यक्रमका लागि मेयर, उपमेयर, कार्यकारी प्रमुखसहित लावालस्कर जान आवश्यक थिएन,’ एक कनकाईबासीले भने, ‘बढीमा दुईदेखि तीन जना जाँदा हुने कार्यक्रममा जम्बो टोली जानुले लाजमर्दो अवस्था सिर्जना गर्यो ।’ आवश्यकताभन्दा बढीको संख्यामा कार्यक्रममा सहभागिता हुँदा पालिकालाई आर्थिक भार पर्ने उनको भनाई छ ।
यता नगर प्रमुख राजेन्द्र पोखरेलले बुधबारसाँझ पाँच तारे होटल हयात प्लेसमा बसेको खर्च गोल्यान समूह अन्तर्गतको जनता एग्रो एण्ड फरेष्ट्रीले व्यहोर्ने र बिहीबारको होटल खर्च लगायत अन्य खर्च न्यूनतम ढंगमा पालिकाले व्यहोर्ने बताए । अहिले पालिकाले गर्ने खर्चको तुलानामा यो कार्यक्रमबाट कैयन गुणा बढी कनकाईबासीलाई भविष्यमा फाइदा पुग्ने नगरप्रमुख पोखरेलको भनाई छ ।


नगरप्रमुख पोखरेलको नेतृत्वमा गएको टोलीले शुक्रबार बिहान गोल्यान समूहको जनता एग्रो एण्ड फरेष्ट्री लिमिटेडसँग व्यवसायीक कृषिका माध्यमबाट उचित मूल्य र बजार प्रबर्धन गर्ने गरी सम्झौता गरेको छ । कनकाईमा उत्पादित अग्र्यानिक कृषि उपज उक्त प्रालिले बजारीकरण गर्ने हुँदा कृषकलाई फाइदा पुग्ने पोखरेलले बताए । सम्झौता पत्रमा जनता एग्रो प्रालिका तर्फबाट उद्योगी पवनकुमार गोल्यानले हस्ताक्षर गरेका थिए ।

त्यस्तै बिहीबार नै भएको अर्को कार्यक्रममा कनकाई नगरपालिका सम्मानित भएको छ । नेपाल हृदयरोग निवारण प्रतिष्ठानले कनकाई नगरपालिकालाई सम्मान गरेको हो । सूर्तिजन्य पदार्थ ९बिक्री, वितरण र सेवन गर्न नियन्त्रण र निषेध गर्ने० ऐन, २०८० जारी गरेका कारण कनकाई नगरपालिकालाई सम्मान गरिएको आयोजकले जनाएको छ । प्रतिष्ठानले ३२औँ केन्द्रिय सभाको अवसरमा बगैँचा रेष्टुरेण्ट जावलाखेलमा आयोजित कार्यक्रमका बिच कनकाई नगरपालिकालाई सम्मान गरेको हो । यता कनकाई नगरपालिकालाई सुर्ति नियन्त्रण गरेको भनेर सम्मान गरेपनि सम्मान गर्ने संस्थाको विश्वनियतामाथिनै प्रश्न उब्जिएको छ । कनकाई नगरपालिकामा कागजी रुपमा सुर्ति प्रतिबन्ध भनिएपनि कनकाईका सबै पसलमा सुर्तिजन्य पदार्थको विक्री वितरण भइरहेको स्थानीयको भनाई रहेको छ । कनकाई नगरपालिकामा पहिलेभन्दा सुर्तिको विक्री घटनुको साटो बढेको पाइएको छ ।

यता सामान्य कार्यक्रममा नगरपालिकाले जम्बो टोली लगेर नगरपालिकाको खर्च गरेको भन्दै नेकपा माओवादी केन्द्र कनकाईले विरोध गरेको छ । आवश्यक दुईचारजना मानिस गएर पुरस्कार लिदा हुनेमा यसरी टोलीनै लिएर गएर नगरपालिकाको खर्च बढाउनु जरुरी थिएन भन्दै आफुले फेसबुकमा फोटो देखेपछि मात्रै यी सब कुरा थाहा पाएको माओवादी पार्टीका कनकानई नगर अध्यक्ष यामनाथ सेढाँईले बताउँनुभयो । पुरस्कृत हुनु राम्रो कुरा हो तर यसरी जम्बो टोलीनै जानु राम्रो संकेत होईन सेढाईले भन्नुभयो ।
यता नेकपा एसका कनकाई नगर अध्यक्ष प्रतिक राजवंशीले जनताबाट उठेको करको रकमलाई यसरी फजुल खर्च गरिएको भन्दै आफ्नो पार्टीको तर्फबाट समेत विरोध रहने बताएका छन ।

हामीलाई पनि केही थाहा छैन यदि पुरस्कार थाप्नकै लागि टोली लगिनु गलत भएको राजवंशीले बताउँनुभयो । यता नेपाली कांग्रेसका कनकाई नगर सभापति दुर्गा प्रसाईले जनताको चाहना इच्छा र नगरपालिकाको प्राथमिकता एकातिर थाति राखेर कागजी सफलतामा नगरपालिका रमाउँदै पुरस्कार थाप्न काठमाण्डौ जम्बो टोली लिएर जानु दुखद भएको बताउँनुभएको छ ।
कृषि बजारको समस्या नगरमा ज्युका त्यु छ । कुनै अमुक संस्थाले पुरस्कृत गरेको भन्दै सिगो टोली काठमाण्डौ गएर खर्च गर्नु दुखद हो प्रसाईले भन्नुभयो । नगरपालिकाले गर्ने हरेक कार्यक्रम र योजनाहरुका वारेमा जनताले थाहा पाउँनुपर्ने भन्दै यस क्षेत्रका दलहरु कसैलाई पनि पुरस्कारका वारेमा जानकारी नभएको प्रसाईले बताउँनुभयो ।
यता रास्वपा पार्टीका कनकाईका नेता रमेशचन्द्रबाबु मैनालीले पहिलोकुरा कनकाईमा सुर्ति सेवन एकरति पनि नरोकिएको भन्दै जसले पुरस्कृत गरेको हो त्यहि संस्थाको विश्वनियतामा पनि प्रश्न उब्जिएको भन्दै पुरस्कार लिन पनि यत्रो जम्बो टोली जानु लज्जाको विषय भएको बताउँनुभयो ।

सम्बन्धित खबर