Kanakai Online

झापामा अनौठो सहयोग, अँध्यारोमा खानपिन गरेर नेत्रहीनको सहयोग


आइतवार, पौष २२, २०८० |

कनकाई अनलाईन
झापा नेत्रहीन सङ्घले ‘अँध्यारोमा खानपिन’ कार्यक्रमको आयोजना गरेर दृष्टिसम्बन्धी अपाङ्गता भएका विद्यार्थीलाई सहयोग रकम जुटाएको छ ।

विर्तामोडमा शनिबार साँझ यहाँका नागरिक अगुवालाई अध्यारोमा शुल्क तिरेर खानपिन गराउँदै सहयोग रकम संकलन गरेको हो । कार्यक्रममा सहभागिताका लागि जनप्रतिनिधि, सामाजिक सङ्घसंस्थाका अगुवा र व्यवसायीले ७ सय शुल्क तिरेर प्रवेश टिकट खरिद गर्नुभएको थियो ।

सहभागीलाई अँध्यारोमा राखेर खानपिन गराइएको उक्त कार्यक्रममा कोशी प्रदेश सरकारका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य एकराज कार्कीले आँखामा पट्टी बाँधेर सेतो छडीमा हिँडेर गर्नुभएको थियो ।

दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिले कस्ता समस्या भोगिरहेका हुन्छन् भनेर अनुभूति गराउन एकछिन भए पनि उहाँलाई सेतो छडीको साहारामा आँखा छोपेर हिँड्न लगाइएको नेपाल नेत्रहीन सङ्घका केन्द्रीय महासचिव शिशिर खनालले बताउनुभयो ।

उहाँले देशभरका हजारौँ दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिले दया होइन अवसर खोजिरहेको बताउनुभयो । उच्च शिक्षा र प्राविधिक सीप प्राप्त उनीहरुलाई रोजगारी दिएर क्षमताको प्रयोग गर्ने अवसर प्रदान गर्न स्थानीय सरकारलाई खनालले सो कार्यक्रमका बिच आग्रह गर्नुभयो ।

कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल, हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देन, विर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र सङ्ग्रौला, कचनकबल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराई लगायतको खाना कार्यक्रममा उपस्थिति रहेको थियो ।

सहभागीहरुले खानपिनका लागि तिरेको शुल्कले दृष्टिसम्बन्धी अपाङ्गता भएका विद्यार्थीको शिक्षाका लागि रेकर्डिङ स्टुडियो सञ्चालनमा खर्च गरिने नेत्रहीन सङ्घका सचिव दिलकुमार राजवंशीले बताउनुभयो ।

सहभागिहरुले अँध्यारोमा खानपिन कार्यक्रम नेपालमा पहिलोपल्ट देख्न पाएको भन्दै खुसी व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय कलाकार तथा नेता रमेश प्रसाईं र डम्बर नेपालीले साङ्गीतिक प्रस्तुति दिनुभएको थियो । दृष्टिसम्बन्धी अपाङ्गता भएका स्थानीय कलाकारले उक्त अवसरमा गीत र मुक्तक सुनाउनुभएको थियो ।

सम्बन्धित खबर