Kanakai Online

भद्रपुरको झाडीमा भेटिएका शिशुलाई अभिभावकत्व दिने प्रक्रिया शुरु


सोमवार, भदौ २५, २०८० |

कनकाई अनलाईन
भद्रपुरको झाडीमा भेटिएका शिशुको अभिभावकत्व लिन चाहने पचासभन्दा बढी इच्छुक देखिएको अबस्थामा भद्रपुर नगरपालिकाले अभिभावकत्व दिने प्रक्रिया शुरु गरेको छ ।

हकदावीका लागि तोकिएको १० दिनको म्यादभित्र शिशुलाई दावी गर्न आमाबुवा नआएपछि नगरपालिकाले अरुलाई अभिभावकत्व दिने गरी प्रक्रिया शरु गरेको हो । त्यसअन्तर्गत नगरपालिकाले बालकको वैकल्पिक हेरचाहका लागि सूचीकृत हुन आउन सात दिने सूचना जारी गरेको छ ।

नगरपालिकाबाट भदौ १५ गते पहिलो पटक र भदौ २२ गते दोस्रो पटक सूचना प्रकाशित गर्दा उक्त बालकलाई हकदावी गर्न उनका आमा बाबु वा आफन्तहरु सम्पर्कमा नआएपछि ती बालकको पालनपोषण, स्वास्थ्य उपचार, शिक्षा तथा बालकको उच्चतम हित सुनिश्चित हुने समेतका कार्यहरुमा अहित नहुने गरि वैकल्पिक हेरचाह गर्न चाहने बालकको आमा वा बुबातर्फका नातेदार, बालकलाई हेरचाह गर्न इच्छुक परिवार वा व्यक्ति, बालकलाई परिवारमा आधारित हेरचाह गर्ने संस्था वा बालगृह समेतले तोकिएको प्रमाण कागज संलग्न राखि बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ४९ ९२० र नियमावली २०७८ को नियम ५३ ९५० बमोजिम सात दिनभित्र निवेदन पेश गर्न नगरपालिकाले सूचना जारी गरेको हो । त्यसका लागि नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,। संस्था वा बालगृहको हकमा संस्था दर्ता प्रमाणपत्र समेतका आवश्यक कागजातहरु , वैकल्पिक हेरचाह गर्न चाहने व्यक्तिको शैक्षिक र आर्थिक हैसियत खुल्ने कागजात , घरेलु हिंसा, बालबालिका विरुद्धको कसुर तथा फौजदारी अभियोगमा सजाय नपाएको, चालचलन प्रमाणपत्रको कागजात , वैकल्पिक हेरचाह गर्ने व्यक्तिले बालकलाई ईज्जत आमद अनुसार खान लाउन, स्वास्थ्य उपचार, समेतको प्रबन्ध गर्न सक्ने स्थानीय तहको सिफारिस , शिक्षा,शारीरिक, मानसिक रुपमा बालकलाई हेरचाह गर्न सक्ने, लागूपदार्थ समेतको दुर्व्यसन तथा कुलतमा नफसेको प्रतिष्ठित व्यक्ति भनी सम्बन्धित नगरपालिका वा गाउँपालिकाको वडा कार्यालयको सिफारिस माग गरिएको छ । वैकल्पिक हेरचाह गर्नका लागि दर्ता हुन आएका निवेदनमाथि उल्लेखित कागज प्रमाणका आधारमा नगरपालिकाले सूचीकृत गर्ने र सूचीकृतहरु मध्येबाट बैकल्पिक हेरचाह गर्ने व्यक्तिको छनौट गर्ने अधिकार नगरपालिकाको हुने उपप्रमुख राधा कार्कीद्वारा आज जारी सूचनामा जनाइएको छ ।

सूचनामा नगरपालिकाले बैकल्पिक हेरचाहको अनुगमन गर्ने र आवश्यकता अनुसार बैकल्पिक हेरचाह गर्ने व्यक्तिलाई नगरपालिकाले उक्त बालक नगरपालिकामा उपस्थित गराउने निर्देशन दिन सक्ने उल्लेख छ ।

गत भदौ १२ गते साँझ भद्रपुर नगरपालिका वडा नं। ७ को चन्द्रगढी हुँदै फूलबारी टोल जाने बाटो छेउको झाडीमा बेवारिसे अवस्थामा ती शिशु फेला परेका थिए । ती शिशुलाई अभिभावकत्व लिन डाक्टर , इन्जिनियर , प्राध्यापक , उद्योगी , व्यवसायी , राजनीतिकर्मीलगायत गरी पचासभन्दा बढी इच्छुक देखिएका छन् ।

सम्बन्धित खबर