कनकाई अनलाईन
देशमा हरेक बर्ष विभिन्न सरकारी तथा गैह्र सरकारी संस्थाहरुले आफ्नो विभिन्न अवशर पारेर विरुवा रोप्ने कार्यक्रम गर्दै आइरहेका छन ।
पछिल्लो १० बर्षको अवधिमा विरुवा रोप्ने कार्यक्रम लोकप्रिय बन्ने गरेको छ ।
मानिसको मृत्यु सस्कारमा समेत बिरुवा रोप्ने गरिएको छ भने नेपाल सरकार वन मन्त्रालयले त झन जिल्लाका सबै डिभिजन र सेक्टर वनमा विरुवा हुर्काउनका लागि ठुलो बजेट समेत खर्च गर्दै आइरहेको छ ।
तर रोप्ने काम गरेर ती विरुवाको अवस्था के कस्तो छ भनेर कसैले पनि ध्यान दिने गरेको पाइदैन । तर यहाँस्थित कनकाई नगरपालिकास्थित रोटरी क्लव सुरुङ्गाले भने बिरुवा रोप्ने मात्र होइन, रोपेका विरुवाको गोडमेल साथै संरक्षण समेत गर्दै आइरहेको छ । रोटरीले पवित्र कनकाई नदि परिसरमा रहेको कनकाई घाट क्षेत्रमा आफैले लगाएको बिरुवा गोडमेल सहित थप वृक्षरोपण गरेको छ ।
क्लवले वातावरणको शुद्धतालाई समेत ख्याल गर्दै वृक्षरोपण कार्यक्रमलाई निरन्तरता दिएको क्लवका अध्यक्ष शिवकुमार कडेलले जानकारी दिनुभयो । तीन महिना अघि मात्र सोही कनकाई घाट क्षेत्रमा कपुर र बज्रदन्तीका विरुवा रोपण गरेको रोटरीले हाल सम्म पनि नियमित रुपमा हेरचाह र संरक्षण गर्दै आएको क्लवका अध्यक्ष कडेलको भनाई छ । वोटविरुवाको संरक्षणमा विशेष प्राथमिकता दिँदै आएको रोटरीले विरुवा गोडमेल गरेको हो ।
विभिन्न सेवाका क्षेत्रमा सदस्यलाई जिम्मेवारी प्रदान गरेको रोटरीले सर्भिस प्रोजेक्ट अन्तर्गत गोडमेलसहितको वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको हो । रोटरी एवं रोट्रयाक्ट क्लवअफ सुरुङ्गाको संयुक्त आयोजनामा क्लवको वार्षिक क्यालेण्डरमा भएको कार्यक्रमको निरन्तरता स्वरुप क्लवका पदाधिकारीसहित सदस्यहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको क्लवका पुर्व अध्यक्ष एवं सर्भिस प्रोजेक्ट चेयर कुमारमणि पोखरेलले बताउँनुभयो ।