Kanakai Online

नेपाल–भारत सीमाको जङ्गेपिलर हात्तीले भत्कायो


शुक्रवार, भदौ २२, २०८० |

कनकाई अनलाईन
झापाको मेचीनगरस्थित वडा ४ मा नेपाल–भारत सीमाको जङ्गेपिलर हात्तीले भत्काएको छ । आलेटुङ्गदेखि माथिल्लो नेपाल–भारतको २६ नम्बरको जङ्गेपिलर हात्तीले भत्काएको हो ।

वडा ४ का वडाध्यक्ष अर्जुन कार्कीका अनुसार सीमामा हात्ती नियन्त्रणका लागि खटिएको र्‍यापिड रेस्पोन्स टिम ९आरआरटी० ले पिलर भत्केको अवस्थामा देखेपछि वडा कार्यालयमा खबर गरेका छन् । हात्तीले जङ्गेपिलर पूर्णरुपमा भत्काएर क्षति गरेको छ ।

स्थानीयको प्रयास र वडा कार्यालयको संयोजनमा भारतबाट आउने जङ्गली हात्तीको क्षति न्यूनीकरण र हात्ती मानव द्वन्द्व व्यवस्थापनका लागि आरआरटी बनाइएको छ । वार्ड कार्यालय र सशस्त्र प्रहरीलाई बाहुनडाँगीलाई यस विषयमा आरआरटीले सूचना दिएको उहाँले बताउनुभयो ।

‘जङ्गेपिलर मकिएको रहेछ हात्तीले पूर्ण रुपमा भत्काइदियो’, वडाध्यक्ष कार्कीले जानकारी दिनुभयो । पछिल्लो समय बाहुनडाँगी नाका भएर एकैसाथ दुईसय वटासम्म भारतीय हात्ती नेपाल प्रवेस गर्ने गरेका छन् । हात्तीले दिनहुँजसो यस क्षेत्रमा भौतिक क्षति गर्दैआएको स्थानीयको भनाइ छ ।

नेपाल वारी नेपाली युवाहरु र नेपाल पारी भारततर्फ भारतीय युवाहरु मिलेर नियमित हात्तीको गस्ती गर्न आरआरटी बनाएर काम गरिरहेका छन् । हात्तीबाट हुनसक्ने जोखिम र क्षतिको विषयमा सम्बन्धित निकायमा उनीहरुले समयमा नै जानकारी गराउने गरेको पनि कार्कीले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलका अनुसार औपचारिक रुपमा यस विषयमा जानकारी प्राप्त भएको छैन । बुझेर यस विषयमा आवश्यक प्रक्रिया अघि बढाउने उहाँले बताउनुभयो ।

सम्बन्धित खबर