कनकाई अनलाईन
झापाको भद्रपुरस्थित झाँडीमा भेटिएको नवजात शिशुको अभिभावकत्व लिन दुई दर्जनभन्दा बढी व्यक्तिहरु इच्छुक देखिएको पाइएको छ ।
डाक्टर , इन्जिनियर , प्राध्यापक , उद्योगी , व्यवसायीलगायत दुई दर्जनभन्दा बढीले ती शिशुलाई धर्मपुत्रको रुपमा ग्रहण गर्ने इच्छा देखाएका हुन् । धेरै जनाले आफूहरुलाई भेटेर , फोन गरेर ती शिशुको अभिभावकत्व लिन चाहेको भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलले बताउँनुभयो । पोखरेलले अभिभावकत्व दिनैपर्ने अबस्था आए, पछि अप्ठ्यारो नपर्नेगरी सबै कानुनी प्रक्रिया पूरा गरेर मात्र शिशुलाई जिम्मा लगाइने बताउँनुभयो । शिशु लिनका लागि पर्ने निवेदनहरुलाई छानविन गरी असल अभिभावकलाई मात्र जिम्मा दिइने तयारी रहेको नगरपालिकाले जनाएको छ । सन्तानविहीन व्यक्तिहरुले त्यस शिशुलाई अपनाउन खोजेका पाइएको छ ।
अभिभावकत्व दिनुभन्दा अगाडि भद्रपुर नगरपालिकाले हकदाबीका लागि आह्वान गर्दै सात दिने सूचना निकालेको छ । उक्त नवजात शिशु कसको हो ? सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आफ्नो शिशुको पर्याप्त प्रमाण कागजातसहित हकदाबी गर्न आउन हुन वा थप जानकारीका लागि भद्रपुर नगरपालिकाको बाल कल्याण अधिकारी जीवनकला राउतसँग सम्पर्क गर्नु हुन नगरपालिकाले शुक्रबार निकालेको सात दिने सूचनामा उल्लेख छ ।
सात दिनभित्र कोही पनि हकदाबीका लागि नआएको खण्डमा फेरि तीन दिने सूचना प्रकाशन गरिने नगरपालिकाकी उपप्रमुख राधा कार्कीले बताउँनुभयो । ‘दोस्रो पटकको सूचनामा पनि कोही सम्पर्क नआए शिशुको अभिभावकत्व ग्रहणका लागि आमाबुबा बन्न नसक्ने अभिभावकहरू अदालती प्रक्रियामा जान सुरु हुने नगरउपप्रमुख कार्कीले बताउँनुभयो । तर अदालती प्रक्रिया सुरु हुनुपुर्वनै बच्चाको अभिभावकत्व लिनेको सङ्ख्या बढेको हो । नगरउपप्रमुख कार्कीले अदालतबाट प्रक्रिया पूरा गरी आएको अभिभावकलाई बच्चा दिन सकिने बताउँनुभयो । गत भदौ १२ गते मंगलबार साँझ ७ बजेर ४५ मिनेटको समयमा भद्रपुर नगरपालिका– ७ स्थित एमरेल्ड स्कुल अगाडिबाट फूलबारी टोलतर्फ जाने ग्राभेल सडक किनाराको झाडीमा बेवारिसे अवस्थामा शिशु (छोरा) फेला परेको थियो ।
हालसम्म पहिचान नखुलेको शिशु अन्दाजी १२ देखि १४ दिनसम्मको जस्तो देखिने, हरियो रंगको च्यादरमा सुताइएको, सेतो रगको पन्जा, टोपी, भेष्ट र निधारमा कालो टिका लगाएको अवस्थामा फेला परेको थियो । त्यसपछि प्रहरी टोलीले शिशुलाई उद्धार गरी मेची प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको छ । नवजात शिशुको हालसम्म बुवाआमा, अभिभावको पहिचान हुन नसकी सोही अस्पतालमा उपचाररत रहेको छ । मेची प्रादेशिक अस्पतालको स्वास्थ्य प्रतिवेदन अनुसार रातो वर्णको अन्दाजी ३ केजी तौल भएको पूर्ण स्वस्थ्य रहेको शिशु हाल मेची प्रादेशिक अस्पतालको पोषण गृहमा राखिएको छ ।