कनकाई अनलाईन
सत्तारुढ माओवादी केन्द्रले भोलि शनिबार तीन महिने अभियान सुरु गर्ने भएको छ । देशभरका ७ हजार २४३ वडामा एकसाथ सुरु हुने ‘जनतासँग माओवादी स् विशेष रुपान्तरण अभियान’का क्रममा शीर्ष नेताहरु पनि वडा तहसम्म जाने छन् ।
प्रचार विभाग प्रमुख अग्निप्रसाद सापकोटाका अनुसार अभियानको भोलि विहान ९ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट उद्घाटन गर्नेछन् । त्यसपछि चन्द्रागिरी नगरपालिका वडा नम्बर २ घट्टेडाँडाको कार्यक्रममा जाने छन् । अरु सबै पदाधिकारी जाने वडाहरु तोकिएको छ ।
पार्टीले गरेका कमजोरी महसुस गरेरै जनतासँग फर्किने अभियान घोषणा गरिएको सापकोटा बताउँछन् । उनका अनुसार अभियानका क्रममा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गर्ने र पार्टी सदस्य संख्या ८ लाख पुर्याउने लक्ष्य छ ।
जनतासँग फर्किने भनेर माओवादी केन्द्रले अभियान घोषणा गरेको यो पहिलो पटक भने होइन । उत्पादन ब्रिगेड बनाउनेदेखि संगठन सुदृढ गर्ने अभियान घोषणा गर्यो । मंसिर २०७९ को आम निर्वाचनपछि फागुनमा पनि दुई महिने अभियान घोषणा गरेको थियो । तर त्यो घोषणामै सिमित रह्यो ।
पछिल्लो केन्द्रीय समिति बैठकमा धारणा राखेका २१८ जनामध्ये अधिकांशले अभियान घोषणा गर्ने, एक दिन पनि कार्यक्षेत्रमा नजाने, फोन गरेर संगठन चलाउन खोज्ने, शहरमा बसेर गाउँको जिम्मा लिने प्रवृत्ति देखिएको भन्दै आलोचना गरेका थिए । बैठकले ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ तीन महिना चलाउने निर्णय गर्यो । पार्टीले विगतमा गरेका कमजोरी महसुस गर्दै यो पटक निरिक्षण गर्ने संयन्त्र समेत तयार पारेर अभियान चलाउन लागिएको उपाध्यक्ष समेत रहेका प्रचार विभाग प्रमुख सापकोटा बताउँछन् ।
माओवादी नेताहरु पनि यो अभियान माओवादी आन्दोलनलाई पार्टीका रुपमा स्थापित गर्न शान्ति प्रक्रियामा आएपछिकै महत्वपूर्ण पानीढलोका रूपमा लिन्छन् । ‘हिजो पृथ्वी थर्किने गरी जनयुद्ध गरेर आएकाहरू आज जनताबाट कट्दै गएको महसुस भएको छ’, उनले भने, ‘त्यसैले यो अभियान पार्टी अध्यक्ष, हामी पदाधिकारी र सिंगो पार्टी पंक्तिका लागि अन्तिम परीक्षा हो ।’
सापेकाटाले भने जस्तै १२ बुँदे समझदारी गरेको शान्ति प्रक्रियामा आएको माओवादीले ०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा अभूतपूर्व सफलता पाएको थियो । प्रत्यक्षतर्फ २४० मध्ये १२० सिट जितेको माओवादी ६०१ सदस्यीय संविधानसभामा २२० सिटका साथ पहिलो दल थियो । दोस्रो नेपाली कांग्रेस र तेस्रो दल एमाले मिल्दा पनि माओवादी हाराहारी मात्र हुन्थ्यो ।
त्यसयता एकपछि चुनावमा अर्को आकार घट्दो छ । अहिले २७५ सदस्यीय प्रतिनिधिसभामा जम्मा ३२ सिटको दल छ माओवादी । प्रत्यक्षतर्फ गठबन्धन गरेर केही सिट जितेपनि समानुपातिकमा चुनावको मुखमा बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले हाराहारी मात्र मत पाएको छ । प्रदेशहरुमा पनि अवस्था उस्तै छ ।
संगठनको हालत पनि उस्तै बन्यो । एउटा समय झण्डै चार हजारको केन्द्रीय कमिटी बनाएको माओवादीमा अहिले पनि ७०० भन्दा ठूलो केन्द्रीय कमिटी छ । केन्द्रमा सरकारको नेतृत्व गर्नुका साथै प्रदेशमा पनि कतै नेतृत्व र कतै सत्ता साझेदार हुँदा पनि माओवादीको संगठन चलायमान देखिएको छैन ।
तल्लो तहका कार्यकर्ता मात्र होइन, नेतृत्वमा बसेकाहरु नै सार्वजनिक रुपमा असन्तुष्टि पोख्छन् । माओवादी अध्यक्ष प्रचण्ड स्वयं पार्टीको आकार, प्रकार, प्रवृत्तिबारे असन्तुष्टि पोख्छन् । पछिल्लो पटक १७ देखि २१ साउनसम्म चलेको केन्द्रीय समिति बैठकको उद्घाटन सत्रमा पनि यस्तै भाषण गरे । ‘पार्टी जनताबाट कटेको महसुस भइरहेको छ, हामी नेताहरू कतै न कतै बिग्रिएको सत्य हो’, उनले भने, ‘अब पनि सच्चिएनौं भने विघटनको विकल्प छैन ।’
सरकारको कामको बलमा संगठन विस्तार
माओवादीले रुपान्तरण अभियानका क्रममा पार्टी अध्यक्ष प्रचण्ड प्रचण्ड नेतृत्वको सरकारले गरेका कामकारबाहीलाई जनतासम्म पुर्याउने तयारी गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरण, सुन तस्करी नियन्त्रणमा लगायत सुशासनको पक्षमा गरेका कामलाई प्रचार गर्ने उसको तयारी छ ।
‘पार्टीले नेतृत्व गरिरहेको सरकारको केही राम्रा काम भइरहेको बेला छ, नागरिकमा आशा उब्जिएको छ’, रुपान्तरण अभियान पार्टी शान्ति प्रक्रियामा आएयताकै पहिलो महत्वपूर्ण अभियान भएको भन्दै माओवादी केन्द्रका नेता ओमविक्रम भाट भन्छन्, ‘अहिले जनतासँग जान हामीसँग स्पष्ट धारणा छ, गरेका काम छन्, हामी कहाँ चुक्यौं भनेर जनतासँग सोध्ने हिम्मत जुटेको छ ।’
तर सुन तस्करीमा संलग्नहरुसँग माओवादी नेताहरुकै उठबस देखिनुका साथै भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान गरिरहेका प्रहरी अधिकृतहरुको सरुवाका कारण सरकारमाथि नै प्रश्न उठेको छ । अनि माओवादी संस्थागत हिसाबले पार्टी भन्दा बढी अध्यक्षमा निर्भर छ । कतिपय अवस्थामा अध्यक्ष प्रचण्डले योजना अगाडि नसारेसम्म कुनै पनि काम अघि नबढ्ने अवस्था छ ।
राजनीतिक विश्लेषक राजेन्द्र महर्जन त माओवादी अझैं पनि पार्टीका रूपमा विकास नभइसकेको बताउँछन् । केन्द्रीकरणको नाममा प्रचण्डको वरिपरि घुम्नेहरूको भीडजस्तो भएको भन्दै उनले भने, ‘पार्टीका लागि सिद्धान्त र राजनीति हुनुपर्छ । माओवादीका लागि प्रचण्डले जे भने त्यही सिद्धान्त, जे गरे त्यही राजनीति जस्तो भयो । केही बैठक र भेला भएपनि कसैले प्रश्न उठाउँदैनन् ।’
माओवादीका बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पनि यसलाई स्वीकार गर्छन् र, सुधार गरेर अघि बढ्ने प्रयत्न गरिरहेको बताउँछन् । ‘माओवादी पार्टी बन्न सकेन, आन्दोलनमा सीमित रह्यो । प्रचण्डको मात्रै नेतृत्व, उहाँले जे भन्नुहुन्छ त्यही अन्तिम सत्यजस्तो भयो’, सहयात्री भन्छन्, ‘त्यसो हुनुमा यो पार्टीको जन्म नै त्यही मोडालिटी भएको हो भन्ने कुराले अर्थ राख्छ । हामीमा लामो समयदेखि उहाँप्रति एउटा मनोविज्ञान बन्यो । उहाँले नभनेसम्म केही पनि नगर्ने भनेपछि जे पनि गर्ने भयौँ । हामीले सुधार्न नसकेको भनेकै यही हो ।’
राजनीतिक विश्लेषक महर्जन भने माओवादीले यथार्थमै आफ्नो मूल्यांकन गरेको भए सकरात्मक हुने, तर विश्वास गरिहाल्ने वातावरण नरहेको बताउँछन् । जनतासँग सम्वाद गर्ने माओवादीको घोषणाले नै अहिलेसम्म कसरी पार्टीका रूपमा जोगियो भन्ने प्रश्न उठ्ने भन्दै उनले भने, ‘उनीहरूले जनताबाट कसरी अलग भए भनेर मूल्यांकन गर्नसक्नुपर्छ । माओवादी जनतासँग टाढाको कुरा हो, पहिले आफ्नै कार्यकर्ता तहमा पुग्यो भने पनि ठूलो हुन्छ ।’