Kanakai Online

कोशी प्रदेशका मुख्यमन्त्री थापालाई विश्वासको मत प्राप्त


सोमवार, भदौ ४, २०८० |

कनकाई अनलाईन
प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० का सांसदहरुको विरोधका बीच प्रदेश सभाको बैठकको अध्यक्षता गर्नुभएका प्रदेशसभा सदस्य इस्राइल मन्सुरले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रस्तुत गर्नुभएको विश्वासको मत पारित भएको घोषणा गर्नुभएको छ ।

सभाध्यक्ष मन्सुरले प्रदेश सभामा कायम ९३ जना सांसदहरुमध्ये सोमबारको बैठकमा ७७ जना उपस्थित भएकोमा मुख्यमन्त्रीको प्रस्तावको पक्षमा ४७ मत प्राप्त भएकाले प्रस्ताव पारित भएको घोषणा गर्नुभएको हो ।

प्रस्तावको विपक्षमा जम्मा ३० मत परेको छ । सोमबारको बैठकमा विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरु अनुपस्थित हुनुभएको थियो । कोशी प्रदेश सभामा सभामुख पद रिक्त छ । सभा सञ्चालन गर्ने जिम्मेवारीमा रहनुभएका उपसभामुख सिर्जना दनुवार स्वास्थ्य समस्याका कारण बैठकमा उपस्थित हुन नसक्ने सूचना गरी अनुपस्थित रहनुभयो ।

उपसभामुख दनुवारले आफ्नो अनुपस्थितिमा सभा सञ्चालन गर्ने जिम्मेवारी यसअघि प्रदेशसभाबाट मनोनित सदस्य इस्राइल मन्सुरलाई दिनुभएको थियो । मतविभाजनको अन्तिम समयमा सभाध्यक्ष मन्सुरले सभा सञ्चालनको अख्तियारी अर्का सदस्य गिता तिम्सिनालाई हस्तान्तरण गरी प्रस्तावको पक्षमा मतदान गर्नुभएको थियो ।

सभाको अध्यक्षता गरिरहनुभएका मन्सुरले अध्यक्ष मण्डलका अर्का सदस्य तिम्सिनालाई अध्यक्षताका लागि बोलाएपछि विपक्षी दल एमालेका सांसदहरुले प्रदेश सभामा विरोध र नाराबाजी गरेका थिए । नाराबाजीबीच सभाध्यक्ष मन्सुरले मतपरिणाम घोषणा गर्दै मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्नुभएको घोषणा गर्नुभयो ।