कनकाई अनलाईन
कनकाई नगरपालिका र विदेशी दातृ निकाय हेफर नेपालको साझेदारीमा कनकाई नगरपालिकामा जारी कार्यक्रमहरुको वारेमा स्थानीय ७ राजनैतिक दल र स्वतन्त्र नागरिक कार्य सम्पादन समुह लगायातले यस कार्यक्रमको विरोध गरेसगै यस हेफर नेपालको समन्वयमा गठन भएको महिला समुहले कार्यक्रमलाई नरोक्न नगरपालिकालाई दवाव दिएका छन
।
कनकाई नगरपालिकामा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै हेफर नेपाल र कनकाई नगरपालिकाद्धारा साझेदारीमा गठन गरिएको सक्षम महिला सहकारीका महिला सदस्यहरुले बिच बाटोमा आएर यस कार्यक्रम रोकिदा महिलाको लागि आएका कार्यक्रमहरुमा समेत समस्या आउने भन्दै अबको कम्तीमा २ बर्षका लागि कनकाई नगरपालिकामा यस कार्यक्रमलाई निरन्तता दिन आग्रह गरेका छन ।
कनकाई नगरपालिकामा यस समुहका ३६ वटा महिला समुह गठन गरि प्रत्येक समुहमा २५ जना महिला सहभागिता रहेको र महिलाहरुले तालिम संञ्चालन गर्नेदेखि लिएर मल बिउ बिजन विक्री वितरण, समुहगत खेती बजारी करण लगायातका कामहरु गरिरहेको भन्दै कार्यक्रम फिर्ता गएमा महिलाहरुको बर्षौदेखिको कार्यक्रम खेर जाने बताएका हुन । महिलाहरुको समुहभित्र उपहार समुह समेत निर्माण गरेर मासिक बैठक बस्ने वचत गर्ने लगायातका आर्थिक र सामाजिक गतिविधि गरिरहेको महिलाहरुको भनाई रहेको छ । शितल महिला समुहकी अध्यक्ष रत्ना खड्का महिलाहरु समुहमा आवद्ध भएर धेरै अगाडि वढिसकेको अवस्थामा विच बाटैमा रोक्दा भर्खर पलाउन लागेको मुनालाई कुच्चिएर मारेको जस्तो हुने भन्दै कार्यक्रमलाई निरन्तता दिन र यसमा भएका कमि कमजोरी भए सुधारेर जान दिनुपर्नेमा जोड दिनुभयो । हामी यस यात्रामा अगाडि बढिसकेका छौ हाम्रो यात्रालाई नरोकियोस खडकाले भन्नुभयो । महिलाहरुलाई उद्यमी बनाउने अभियानमै धक्का लाग्नसक्ने खडकाको भनाई थियो । यसैगरि अर्की समुहकी अध्यक्ष धनकुमारी ढकाल पराजुलीले घरबाट बाहिर निस्कन समेत डराउनुपर्ने अवस्थाका महिलामा समुहमा बसेर तालिम लिएपछि सानो तिनो गर्जो टार्न थालिसकेको बताउँनुभयो । हामीले बिउ बिजन वितरण गर्ने देखि लिएर साह्रो गाह्रो पर्दा सरसापटी चलाउने काम गर्न थालिसका थियौ ।
हामीलाई राजनितिमा नमुसिदिए हुने थियो ढकालले भन्नुभयो । हामीलाई क्षमता अभिवृद्धि गर्ने संस्था चाहिएको छ जुन काम हेफरले गरेको छ भन्दै कार्यक्रम हटन नहुने अडान राख्नुभयो । यसैगरि सक्षम सामाजिक महिला सहकारीकी अध्यक्ष रेणुका खतिवडाले नगरपालिकाले आफ्ना नागरिकका लागि ल्याइएका राम्रा कार्यक्रम मध्ये हेफर समेत रहेको भन्दै यसलाई नरोक्न बरु निरन्तता दिएर लैजान अनुरोध गर्नुभयो । हामीलाई जीवन उपयोगी हज्जारौ रुपैँया तिरेर पनि नपाइने तालिम सित्तैमा दिएको छ । हामी व्यावसायी समेत बन्दै गएका छौ हेफरको समय कम्तीमा २ बर्ष थपियोस खतिवडाले भन्नुभयो ।
कार्यक्रममा कनकाई नगरपालिकाभरका हेफर र कनकाई नगरपालिको समन्वयमा गठन गरिएका सक्षम महिला समुहका सयौ महिलाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले नगरपालिकामात्रैको पहलमा सबै क्षेत्रमा काम गर्न नसकिने हुदा विभिन्न वित्तिय संस्थासगै हेफर नेपाल, कारितास नेपाल लगायातका संघ संस्थाको सहकार्य र समन्वयमा कार्यक्रमहरु संञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । कार्यक्रममा कनकाई नगरपालिका ८ नम्बरका वार्डअध्यक्ष लीलाबहादुर कटुवालले भने हेफर कार्यक्रम विना पनि आफ्नै कृषि साखाको मात्रै समन्वयमा काम गर्न सकिने बताउँदै कार्यक्रमको विरोध भइरहेको भन्दै आपत्ति जनाउँनुभएको थियो । यता कनकाई नगरपालिका १ नम्बरका वार्डअध्यक्ष सुशिल पोखरेल, ५ का वडाअध्यक्ष तथा नगर प्रवक्ता कृष्णबहादुर राई, ७ नम्बरका वडाअध्यक्ष भीष्मभुषण सिटौला, ९ नम्बरका वडाअध्यक्ष राजेन्द्र उप्रेतीले भने महिला सशक्तिकरणका क्षेत्रमा काम गरिरहेका हेफर कार्यक्रमको सहकार्य बिचै छाडन नहुने बताउँनुभयो । कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रमुख आशाशर्मा शिवाकोटी, नेकपा एमालेका कनकाई नगर अध्यक्ष खडगप्रसाद प्रसाई, निमित्त प्रमुख प्रशासकिय अधिकृत पिताम्बर गौतम, कृषि साखाका प्रमुख कुलबहादुर गुरुङ्ग, यदुकुमार उप्रेती लगायातको आतिथ्यता रहेको थियो ।