Kanakai Online

कनकाई बहुमुखी क्याम्पसको १४ औ क्याम्पससभा निर्वाचनका लागि समिति


शनिवार, साउन २७, २०८० |

कनकाई अनलाईन
कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाको १४ औ क्याम्पससभा आज सम्पन्न भएको छ ।


क्याम्पस सभाहलमा भएको क्याम्पससभामा कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको प्रमुख आथित्यतामा आयोजिक क्याम्पससभामा बोल्दै मुख्यमन्त्री थापाले कनकाई नगरवाशीको एकता र सहकार्यबाट प्रदेश सरकारले समेत धेरै कुरा सिक्न जरुरी रहेको बताउँनुभयो । मुख्यमन्त्री थापाले कनकाई बहुमुखी क्याम्पसले यस क्षेत्रका कमजोर आय आर्जन भएका गरिब परिवारका विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताउँदै प्रदेश सरकारले यसअघिपनि सहयोग गरिरहेको र आगामी बर्षहरुमा समेत साथ र सहयोग निरन्तर रुपमा रहिरहने बताउँनुभयो ।


यसैगरि कार्यक्रममा बोल्दै प्रदेश सभासदस्य लख्खीदेवि गणेशले कनकाई बहुमुखी क्याम्पसले कम शुल्कमा गरिबका छोराछोरीलाई गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताउँदै आफुपनि यसै क्षेत्रको सांसद रहेकोले क्याम्पसलाई निरन्तर साथ र सहयोग रहने बताउँनुभयो ।


यसैगरि कार्यक्रममा बोल्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले क्याम्पसमा भएका आपसी तिक्त्ततालाई सबै मिलेर हल गर्दै जानुपर्ने भन्दै क्याम्पसको समग्र शैक्षिक अवस्थाको विकासका लागि नगरपालिकाको समेत सहयोग निरन्तर रहने बताउँनुभयो । नगरपालिकाले कक्षा १२ सम्मको जिम्मा लिएको बताउँदै आवश्यकीय बजेटको कमीका कारण सक्दो सहयोग गर्न नगरपालिकाले नसकेको भन्दै आगामी दिनमा क्याम्पसलाई सहयोग जारी रहने नगरप्रमुख पोखरेलको भनाई थियो ।


कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका झापा जिल्ला सभापति देउकुमार थेबेले देशका ७५३ पालिकामध्ये कनकाई नगरपालिका कहिल्यै बन्द नहुने पालिका रहेकोले यस क्षेत्रको शैक्षिक र व्यापारिक अवस्था समेत अन्यत्रको भन्दा राम्रो भएको बताउँनुभयो ।
कनकाई नगरपालिका ३ नम्बरका वार्डध्यक्ष युवराज चौम्लागाईले क्याम्पसको चौतर्फी शैक्षिक विकासका लागि सबैनागरिक र संघ संस्था नगरपालिका एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेकपा एमालेका कनकाई नगर अध्यक्ष खडग प्रसाईले क्याम्पसको शैक्षिक वातावरणलाई सहज बनाउन सबैको हातेमालो जरुरी रहेको बताउँनुभयो । कार्यक्रममा बोल्दै कनकाई बहुमुखी क्याम्पसका प्राध्यापक समितिका अध्यक्ष तुलसी कार्की र कर्मचारी संगठनका अध्यक्ष हरि ढकालले क्याम्पसको समग्र अवस्था चित्तबुझ्दो रहेको भन्दै अझ राम्रो बनाउनका लागि सबैको साथ सहयोगको जरुरी रहेको बताउँनुभयो । कार्यक्रममा चन्दादाताका तर्फबाट समाजसेवी शेरबहादुर थापाले बोल्दै क्याम्पस प्रमुख र अध्यक्षको सहकार्यबाट क्याम्पसले धेरै प्रगति गरिरहेको बताउँनुभयो ।


कार्यक्रममा बोल्दै कनकाई बहुमुखी क्याम्पसका अध्यक्ष प्रकाश चुडालले क्याम्पसको समग्र शैक्षिक प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पसले देशभरका सिमिति मात्रै क्याम्पसमा प्राप्त अन्तराष्ट्रिय प्रमाणपत्र क्युएए प्राप्त गर्न सफल बनेको बताउँनुभयो । झापामा स्नातकोत्तर तहसम्मको अध्यापन हुने ३ वटामात्रै सामुदायिक क्याम्पस मध्येमा पर्ने यस क्याम्पसमा हाल शिक्षा संकायतर्फको नेपाली, अंग्रेजी र इपिएममा स्नातकोत्तर तहसम्मको अध्यापन हुने गरेको जानकारी गराउँनुभयो ।

अध्यक्ष चुडालले क्याम्पसमा हाल ४ वटा बस समेत संञ्चालन गरिरहेको जानकारी दिदै क्याम्सको पास आउट नतिजामा समेत सुधार आएको बताउँनुभयो ।
क्याम्पसमा विद्यार्थीको सङ्ख्या वृद्धिसगै आवश्यक कक्षाकोठाको अभाव भएकोले विश्वविद्यालय अनुदान आयोगको १ करोड रुपैँयाको सहयोगमा भवन निर्माण थालिएको बताउँनुभयो ।
यता कनकाई बहुमुखी क्याम्पसका क्याम्पसप्रमुख विकासप्रसाद उप्रेतीले शैक्षिक तथा प्रशासनिक प्रतिवेदन पेश गर्दै हाल क्याम्पसमा ३९ जन प्राध्यापकहरु र २२ जना कर्मचारीहरु र १५ सय विद्यार्थीहरु रहेको जानकारी दिनुभयो । क्याम्पस प्रमुख उप्रेतीले २ आर्थिक बर्ष २०७८÷७९ र २०७९÷८० को आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
यसैगरि सोही क्याम्पससभाले अध्यक्षको बार्षिक प्रतिवेदन तथा पिन्सिपलको आर्थिक प्रतिवेदन सुझावसहित पास गरेको थियो ।
यसैगरि आगामी ४५ दिनभित्र निर्वाचन सक्नेगरि स्थानीय शिक्षासेवी तथा कानुन व्यावसायी टिकाप्रसाद पोखरेलको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । जसको सदस्यमा कनकाई माध्यमिक विद्यालयका प्रअ कर्णबहादुर डाँगी र सदस्य सचिवमा कनकाई बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख विकासप्रसाद उप्रेती रहनुभएको छ ।

सम्बन्धित खबर