Kanakai Online

झापाको शिवसताक्षीको मेडिकलबाट ठूलो परिमाणमा प्रतिबन्धित औषधि बरामद


आइतवार, साउन १४, २०८० |

कनकाई अनलाईन
झापाको शिवसताक्षीको एक औषधि पसलबाट आइतबार ठुलो परिमाणको प्रतिबन्धित औषधि बरामद गरिएको छ । स्वास्थ्य कार्यालय झापा र इलाका प्रहरी कार्यालय झिलझिलेको शिवसताक्षी ७ स्थित व्याङ्गडाँडा मेडिकल हलबाट प्रतिबन्धित औषिध ठूलो परिमाणमा बरामद गरेको हो ।

मेडिकलमा चेक जाँचका क्रममा ९ हजार ९ सय ३० थान प्रतिबन्धित ट्रामाडोल औषधि लुकाएर राखेको अवस्थामा फेला परेको स्वास्थ्य कार्यालय झापाका फार्मेसी प्रमुख रमेश बारकोटीले जानकारी दिनुभयो । यो औपधि नेपालमा बेचविखन गर्न रोक लगाइएको बारकोटीले बताउँनुभयो । यस्ता प्रतिबन्धित औषधिहरु पछिल्लो समय लागु औषधको रुपमा प्रयोग भइरहेको समेत जानकारी दिनुभयो । उनले भने, जिल्ला स्वास्थ कार्यालयले यस्ता औषधिहरु झापाका विभिन्न स्थानबाट बरामद गर्दै आएको समेत छ । सोही मेडिकलबाट अन्य नेपालमा दर्ता नभएका औषधिहरु पनि फेला परेको छ ।

उक्त मेडिकललाई स्वास्थ्य कार्यालय झापा, इलाका प्रहरी कार्यालय झिलझिले, शिवसताक्षी नगरपालिकाका स्वास्थ्य शाखा र दुधे बजार विकास समितिको संयुक्त टोलीले सिल गरेको छ । औषधि पसल समेत दर्ता नगरी चलाइएको पाइएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

त्यसैगरी शिवसताक्षी ६ शिवगञ्ज स्थित निश्चल फार्मेसीमा पनि प्रतिबन्धित औषधी फेला परेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । उक्त फार्मेसीमा २१६ थान औषधि फेला परेको थियो ।

सम्बन्धित खबर