Kanakai Online

प्रमाण नष्ट गर्न धमाधम क्वार्टरमा रंगरोगन गर्दै दमकका प्रमुख प्रशासकीय अधिकृत


आइतवार, साउन १४, २०८० |

कनकाई अनलाईन
नगरपालिकाले उपलब्ध गराएको क्वार्टरमै अनैतिक गतिविधि गर्ने दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले प्रमाण नष्ट गर्न कोठाको रंगरोगन सुरु गरेका छन् । क्वार्टरमै एक महिलासँग अनैतिक गतिविधि गरेको भिडियो बाहिरिएपछि समाचार प्रकाशन भएको थियो ।

उक्त समाचारपछि निरौलाले नगरपालिका परिसरमा रहेको क्वार्टरमा आइतबार बिहानैबाट रंगरोगन सुरु गरेका छन् । घटना बाहिरिएपछि छानबिन हुने डरले उनले प्रमाण नष्ट गर्नका लागि क्वार्टरस्थित बेडरुमको रंग परिवर्तन गरेका हुन् ।

विगतमा रहेको हरियो रंग बदलेर उनले पहेँलो रंग लगाएका हुन् । उक्त कोठमा देखिएको एसीले भने ती महिलासँग अश्लील हर्कत गरेको कोठा नगरपालिकाकै क्वार्टर भएको पुष्टि हुन्छ ।

सार्वजनिक भएको भिडियोमा प्रमुख प्रशासकीय अधिकृतले एक महिलासँग मदिरा सेवन गर्दै अनैतिक क्रियाकलाप गरेको भिडियोमा देखिन्छ । महिलाले भिडियो टिकटकमार्फत लाइभ गरेकी थिइन् ।

मदिराले लठ्ठ भएका निरौलाले लाइभमै अनैतिक गतिविधि गरेको देख्न सकिन्छ । भिडियो देखिएको कोठा दमक नगरपालिकाले उपलब्ध गराएको निरौलाको सरकारी क्वार्टर हो । क्वार्टरबाटै अश्लील हर्कत बाहिरिएपछि उनको विरोध सुरु भएको छ ।

निरौलाले भने क्वार्टरमा नभई उक्त गतिविधि काठमाडौंको एक होटेलमा गरेको दाबी गर्दै आएका छन् । यद्यपि, क्वार्टरभित्र बेडरुमको रंग परिवर्तन संयोग मात्र भएको उनले बताए । ‘रंग परिवर्तन संयोग मात्र हो । अरू केही होइन । यो नियमित काम हो,’ उनले भने, ‘रुममा मुसा गएर हैरान भएको थियो । त्यही भएर रंगरोगन गरेका हौँ । यसलाई अन्यथा नलिनुहोला ।’

यसबारे दमक नगरपालिकाका नगरप्रमुख रामकुमार थापाले यस विषयमा आफूलाई धेरै बोल्न नलगाउन भन्दै पन्छिए । मेयर थापाले कुरै नसुनी फोन काटेर सम्पर्क गर्न खोजेनन् । दमक नगरपालिकाका प्रवक्ता धर्मप्रसाद दाहालले क्वार्टरमा रंगरोगन गर्दै गरेको हल्ला सुन्नमा आएको र यसबारेमा सत्यतथ्य छानबिन गरेर दोषी देखिए कारबाही गरिने बताए । दमक नगरपालिकाले यसअघि प्रमुख प्रशासकीय अधिकृतको क्वार्टरमा रंगरोगन गर्ने कुनै पनि निर्णय नगरेको प्रवक्ता दाहालले जानकारी दिए ।

सम्बन्धित खबर