कनकाई अनलाईन
मेची भन्सार कार्यालय काँकडभिट्टा भित्रैबाट राजश्व छलेर कन्टेनरसहित एक करोडको सामान भित्रिएको भोलिपल्ट भद्रपुर नाकाबाट पनि राजश्व छलेर लाखौंको सामान भित्रिएको पाइएको छ ।
भद्रपुर नाकाबाट पास भएको पिकअपलाई सशस्त्र प्रहरीको टोलीले शनिवार बिहान सवा ८ बजे नियन्त्रणमा लिएको छ । शनिवार विहान भद्रपुर नगरपालिका ५ संगम चोकमा सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुरबाट खटिएको मोबाइल गस्ती टोलीले भद्रपुरबाट बिर्तामोडतर्फ आउँदै गरेको मे १ ज १८२१ नं. को पिकअपलाई चेकजाँच गर्दा अन्दाजी १८ लाख २४ हजार ७२४ मूल्य बराबरको १६ पोका कपडा बरामद गरेको छ ।
शंकास्पद देखिएको त्यति मूल्यबराबरको सामान र ८ लाख मूल्यबराबरको गाडी आवश्यक अनुसन्धानको लागि राजश्व चुहावट नियन्त्रण कार्यालय ईटहरी सुनसरी पठाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी देवराज अर्यालले बताउँनुभएको छ ।
यता झापाको भद्रपुर भन्सार कार्यालयले यस बर्ष पनि राजश्व संकलनमा कमि आएको छ ।
भारतको पश्चिम बंगाल र विहारसित सीमा जोडिएको भद्रपुर भन्सार कार्यालयमा हरेक बर्ष राजश्व संकलनमा कमि आउने गरेको पाइएको हो ।
छोटी भन्सारका रूपमा रहँदा ३२ करोडसम्म वार्षिक राजश्व संकलन गरेको भद्रपुर भन्सारले आर्थिक वर्ष २०७९÷८० सम्म आइपुग्दा दश करोडमा सिमित हुनु परेको तथ्याङ्क छ ।
वंगलादेशका कपडाजन्य उत्पादन समेत यही बाटोबाट नेपाल भित्रने भद्रपुर भन्सारले अघिल्लो वर्ष १३ करोड राजश्व संकलन गरेकोमा यस वर्ष पाएको लक्ष्य समेत छुन सकेन ।
भद्रपुर भन्सार प्रमुख अमित तिवारीले भने राजश्व घट्नुमा कोरोनाले ल्याएको मन्दीलाई प्रमुख कारण रहेको बताउँदै आउँनु भएको छ । स्थानीय व्यापारी र जानकारहरुको भनाइ भने फरक रहने गरेको छ । भन्सार राजश्व चुहावटमा कर्मचारीदेखि सुरक्षाकर्मीसम्मको सिण्डिकेट मूल कारण रहने गरेको स्थानीयको आरोप छ ।
दश बर्षदेखि भद्रपुर नाकाबाट भित्रने कुनै पनि सामग्री भने नघटनु तर राजश्वमा दर्ता हुने क्रम एक तिहाइ मात्र रहनुले शंकाको सुविधा बढाएको स्थानीयको भनाई रहेको छ । स्थानीय व्यापारीहरुका अनुसार यस नाकाबाट भित्रने कपडा धरान, इटहरीदेखि काठमाण्डौसम्मका ठूला व्यापारीले लैजाने दर विगतकै हाराहारीमा रहेको छ ।
यस नाकाबाट मेसीनरी पार्टपूर्जा, कपडा, रासायनिक विषदी, चप्पल जुत्ता, कृषि उपकरणका पार्ट, सुर्ति लगायत आयत हुने गरेको छ । पछिल्लो समय राजश्व बढी संकलन हुने सुर्ति तथा मेसीनरी पार्टपूर्जाबाट कम परिणाममा बैध बाटोबाट आउँदा राजश्व संकलनको परिणाम हरेक वर्ष घटिरहेको जानकारहरुको भनाई छ ।
फोटो ः सशस्त्र प्रहरीद्धारा नियन्त्रणमा लिएको पिकअप भ्यान तस्वीर सशस्त्र प्रहरी कार्यालय झापा