कनकाई अनलाईन
कनकाई नगरपालिकाले केहि दिनभित्रै गरेका कामकार्वाहीप्रति असहमति राख्दै कनकाईमा सक्रिय ६ दलले आज ध्यान आकर्षणपत्र बुझाएका छन ।
नेपाली कांग्रेसका नगर सभापति दुर्गा प्रसाई, माओवादी केन्द्रका कनकाई नगर अध्यक्ष यामनाथ सेडाँई, राष्ट्रिय स्वतन्त्र पार्टीका कनकाई नगर अध्यक्ष नन्दकुमार चुडाल, राप्रपाका नगर अध्यक्ष इन्द्र रोक्का, जसपाका नगर अध्यक्ष रत्नकुमार श्रेष्ठ, नेकपा एसका नगर संयोजक प्रतिक राजवंशी, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका नगर अध्यक्ष हस्त योन्यामले आफ्ना कार्यकर्तासहित नगरपालिकामा पुगेर नगरले गरेका निर्णयप्रति फरकमत राख्दै ज्ञापनपत्र बुझाएका हुन ।
ज्ञापनपत्रमा नगरभित्रका जग्गा बर्गिकरण पश्चात आवाश तथा व्यावसायिक क्षेत्रमा राखिएको जग्गाको सम्पत्ति कर ( मालपोत) अत्याधिक वृद्धि गरिएको, घरजग्गा नक्सा पासको राजश्व अव्यवहारिक र महङ्गो भएको, ऐलानी जग्गाको बषौदेखि बसोबास गर्दै आएका नागरिकहरुलाई बाटो पैनी भनेर जग्गाको धनीपुर्जाबाट बञ्चित गरिन लागेको, नगरले चाडै सरपट नापी ल्याएर नगरको जग्गा नापी गर्न ढिलाई गरेको , कृषि तथा पशु विकासको बजेट अन्य एनजिओ आइएनजिओलाई दिएर नगरले बदमाशी गरेको लगायत रहेको छन । यी माग ७ दिनभित्रमा पुरा नगरिएमा शसक्त आन्दोलन गरिने विज्ञप्तिमा जनाइएको छ । ज्ञापनपत्र दिनुअघि नेताहरुले ध्यानकर्ष समेत गराएका थिए ।
ज्ञापनपत्र बुझ्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले सम्पत्तिकर बढनुको कारण बताउँदै यसअघि कतिपय जग्गाधनीले आफ्नो जग्गाको बास्तविक प्रकृति नबताएर गलत बताएका कारण उक्त घरजग्गाको अहिले बास्तविक मुल्याङ्कन हुदा कर बढेको, घरजग्गा पासको नियम अनुसार नगराइएमा बेरुजु रकम देखिने समस्या रहेको, ऐलानी जग्गाको नापीमा नियम जेजस्तो भएपनि नगरले हाल जसको जाृेतभोग रहेको छ त्यसैको नाममा नापी गरिएको, सटपट नापीका लागि कनकाई नगरपालिकाले निरन्तर माग गरेको भएपनि नआएको बताउँनुभयो । यता नगरपालिकाले आवश्यक नभएको प्रमाणित भएमा कृषिको सहजीकरण गर्दै आएको विदेशी संस्थालाई तत्काल हटाउन आफु तयार भएको बताउँनुभयो ।
कार्यक्रममा कनकाई नगरकी उपप्रमुख आशा शर्मा शिवाकोटी वडाअध्यक्षहरु लगायातको उपस्थिति रहेको थियो । यसैविच सर्वदलिय संयन्त्रले कनकाई नगरपालिकाका अन्य वार्डहरुमा समेत ज्ञापन पत्र बुझाएका छन ।