Kanakai Online

प्रेस सेन्टर झापाको भेलाको निष्कर्ष, प्रविधिमैत्री बन्न नसके पत्रकारिताको मृत्यु


बिहिवार, साउन ११, २०८० |

कनकाई अनलाईन
प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाको पहिलो विस्तारित बैठक सम्पन्न भएको छ । बिहीबार बिर्तामोडमा विविध बिषयमा छलफल गर्दै बैठक सम्पन्न भएको हो ।

बैठकमा गत फागुन ९ गते कनकाईमा सम्पन्न नवौँ जिल्ला अधिवेशनबाट चयन भएको राजु पाठक नेतृत्वको समितिले हालसम्म गरेका विभिन्न कार्यक्रमको समिक्षा भएको थियो । बैठकमा उपस्थित सम्पूर्ण सहभागीहरुले आफ्ना धारणा साथै सुझाव राखेका थिए ।

संगठनलाई चुस्त, दुरुस्त र चलायमान बनाउन भावी कार्ययोजना निर्माणको बिषयमा व्यापक छलफल भएको थियो । बैठकले डिकेश लामाको नेतृत्वमा राजु बराल र पार्थ मण्डल सदस्य रहेको तालिम तथा प्रशिक्षण उपसमिति, लिलाराज झापालीको संयोजकत्वमा सीएम शर्मा र भेषराज नेपाल सदस्य रहेको अनुशासन उपसमिति, प्रकाश उप्रेती संयोजकत्वमा आइपी भट्टराई र भोला तिम्सिना सदस्य रहेको आर्थिक उपसमिति र झुलन रेग्मीको संयोजकत्वमा उद्धव पुरी र पुजन आचार्य सदस्य रहेको संगठन सुदृढीकरण उपसमिति गठन गरेको छ ।

निवर्तमान उपाध्यक्ष पार्थ मण्डल, चुडामणी तिम्सिना (सीएम), दिपक अधिकारी, उद्धव पुरी र राजु बराललाई प्रदेश समिति सदस्यका लागि सिफारिस गर्ने निर्णय भएको छ । भेषराज नेपाल (राजन)लाई जिल्ला समिति सदस्य मनोनयन गर्ने निर्णयसमेत भएको छ । कार्यक्रममा पत्रकार महासंघका प्रदेश कोषाध्यक्ष तथा प्रेस सेन्टरका केन्द्रिय सचिव बिमल लामिछाने, पत्रकार महासंघ प्रदेश सदस्य तथा प्रेस सेन्टरका केन्द्रिय सदस्य लीलाराज झापाली, प्रेस सेन्टरका प्रदेश सदस्य तथा नेपाल पत्रकार महासंघ झापाका सचिव डिकेश लामाले पत्रकारहरुले प्रविधिको प्रयोगमा जोड दिनु पर्नेमा जोड दिनुभयो । आफुलाई समयानुकूल बनाउँदै प्रविधिसँग साक्षात्कार गर्न सकेमात्र अगाडी बढ्न नसकेमा सामाजिक सञ्जालहरुबाटै पत्रकारिताको मृत्यु अवश्य हुनेमा अग्रज पत्रकारहरुको सुझाव थियो । पत्रकारिताका लागि सेन्टरले झापाका ३ स्थानमा महत्वुणै तालिम र आगामी भदौ महिनामा इलामका प्रदेश स्तरीय मिडिया सम्मेलनको आयोजना गरेको समेत जानकारी दिइएको थियो ।

अक्षय कोष निर्माणका लागि प्रदेश सदस्य आइपी भट्टराईले एघार हजार एक सय एघार हजार उपलब्ध गराउने घोषणा गरे ।

राजु पाठकको अध्यक्षतामा सम्पन्न बैठकको सहजीकरण सचिव पुष्प खड्काले गरेका थिए । यसैविच पत्रकार महासंघको आगामी चैत्र महिनामा हुने निर्वाचनका वारेमा समेत व्यापक तयारी गर्ने भेलाले निर्णय गरेको छ ।

सम्बन्धित खबर