कनकाई अनलाईन
सुन पसलमा आउने ४६६ जना ग्राहकको २४ करोड ६५ लाख ३ सय ५५ रुपैयाँ हिनामिना गरेर फरार रहेका सुनचाँदी व्यवसायी सोमराज विक बिहीवार साँझ काँकडभिट्टाबाट पक्राउ परेका छन् ।
गौरादह नगरपालिका वडा नं.१बस्ने ५१ वर्षिय वि.क.लाई स्थानीय जनप्रतिनिधि र प्रहरीको बिशेष समन्वयमा आज बिहिवार साँझ काकरभिट्टा क्षेत्रबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक डीएसपी खगेन्द्र रिजालले बताउँनुभयो ।
स्थानीय मानिसहरुको रकम हिनामिना गरी गत असार १४ गतेदेखि सम्पर्कबिहीन भएका विक.माथि पीडितहरुको जाहेरी अनुसार गत असार २४ गते ठगी मुद्दा दर्ता भएको थियो । उनी मलाई नखोज्नु भन्दै वार्डध्यक्षलाई पत्र लेखेर सम्पर्कविहीन भएका थिए । गत असार १५ गते वडा नं. १ का वडाध्यक्ष नगेन्द्र भण्डारीको म्यासेन्जरमा चिठी पठाएर उनी सम्पर्कविहीन बनेका थिए । हालपनि वार्ड कार्यालयमा दैनिक ३÷४ जना विकबाट ठगिएको भन्दै दैनिक सम्पर्कमा आउने गरेकोले ठगिको रकम अझै बढन सक्ने वार्डअध्यक्ष भण्डारीले बताउँनुभयो । विक सम्पर्कविहिन भएपछि उनका सबै बैँक खाता रोक्का गरिसकिएको प्रहरीले जनाएको छ । विकले पहिले गौरादहवाशीलाई विश्वासमा लिएर ब्याजमा रकम लिनेदिने काम गर्दै आइरहेको स्थानीयको भनाई छ ।