Kanakai Online

झापामा बाढीको वितण्डा सयौ घर जोखिममा


बिहिवार, असार २८, २०८० |

कनकाई अनलाईन
झापाका विभिन्न नदिमा अविरल वर्षाका कारण आएको बाढीका कारण घर गाउँमा बाढी पस्दा सयौ घरपरिवार प्रभावित बनेका छन । बाढीका कारण कनकाई माईमा आएको बाढीका कारण झापा गाउँपालिकाको वडा नं १ र २ का ६४ घर डुबानमा परेका छन् । वडा नं १ मिलनवस्तीको ३० घर माईखोलाको बाढीले डुबानमा परेको इलाका प्रहरी कार्यालय कुमरखोदका प्रहरी नायव निरीक्षक कुलबहादुर मगरले बताउँनुभयो ।
त्यसैगरी वडा नं .२ को सडकवाडी गाउँमा ठुलो माई खोलाको बाढी पस्दा ३४ घर डुबानमा परेका छन् । बाढीका कारण घरभित्र पानी पसिरहेको स्थानीय बाढीपिडित सन्तोष राजवंशीेले बताउँनुभयो ।

आहिले डुवान क्षेत्रमा ईलाका प्रहरी कार्यालय कुमरखोद र सशस्त्र प्रहरी वेस क्याम्प टाँघनडुब्बाको टोली खटिएर स्थानीयलाई सतर्क गराईरहेको , पुनः वर्षा भएर जोखिम भएमा सुरक्षित स्थानमा गएर बस्न अनुरोध गरिएको सशस्त्र प्रहरी वेस क्याम्प टाँघनडुब्बाका प्रमुख दिपेन्द्रमणी राईले बताउँनुभयो ।

यसैगरि अबिरल बर्षाका कारण अधुवा खोलामा पानीको बहाब बढेपछि स्थानीय बाह्रदशी २ नम्बर वार्डका सुकुमबासी बस्ती जोखिममा परेको छ । त्यहाँ बसोबास गर्ने ४५ घरधुरीका करिव १५० जना मानिसहरुलाई सुरक्षित स्थानतर्फ सारिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक खगेन्द्र रिजालले बताउँनुभयो । प्रहरी, जनप्रतिनिधि, स्थानीयबासीको सहयोगमा वाढीपिडित र जोखिममा रहेकाहरुलाई स्थानीय दक्षिणेश्वर शिवालय मन्दिरमा सारिएको प्रहरीले जनाएको छ ।
झापामा निरन्तर रुपमा परेको अविरल वर्षाका कारण जनजीवन प्रभावित बनेको छ । भने जिल्लाका साना ठुला नदिहरुमा बढेको पानीको वहावका कारण नदि छेउका गाउँबस्तीहरु थप जोखिममा परेका छन ।

जिल्लाको कनकाई माई,रतुवा,विरिङ,मेची,हडिया, निन्दा, कमल, अदुवा, देउनियाँ लगायतको नदीहरुमा हाल पानीको सतह बढेको छ । नदि छेउका बस्तीहरुलाई थप सर्तक रहन आग्रह गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर