Kanakai Online

नगर प्रमुखले दुर्व्यवहार गरेको भन्दै मिर्चैयामा प्रदर्शन


सोमवार, असार २५, २०८० |

सिरहा — नगरपालिकाले घर भत्काएपछि जानकारी गराउन जिल्ला प्रशासन कार्यालय पुगेका पीडित पक्षलाई मिर्चैया नगरपालिकाका प्रमुखले बाटोमा दुर्व्यवहार गरेको भन्दै सोमबार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मिर्चैया खण्डमा टायर बालेर प्रदर्शन गरिएको छ । प्रदर्शनका कारण राजमार्ग अवरुद्ध भएको छ । बिहान १० बजेबाट गरिएको राजमार्ग अवरुद्धका कारण लामो तथा छोटो दुरीका सवारीसाधन पूर्वतर्फ चोहर्वामा रोकिएका छन् । पश्चिमतर्फ भने मिर्चैया नजिक पुलमा रोकिएको छ ।

‘जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी सरुवा भएर आएपछि हामी मिर्चैयाका पीडितहरु जानकारी गराउन जिल्ला प्रशासन कार्यालय गएका थियौं,’ मिर्चैयाका अशोककुमार साहले भने, ‘जिल्ला प्रशासन कार्यालय पुगेका पीडितमाथि मेयर श्रवणकुमार यादवले दुर्व्यवहार गरे ।’ मिर्चैया उद्योग वाणिज्य संघ वरिष्ठ सल्लाहकार समेत रहेका साहले मिर्चैया नगरपालिकाका मेयर यादवको कार्यशैलीको विरुद्ध राजमार्ग अवरुद्ध गर्न बाध्य भएको बताए ।

मिर्चैया नगरपालिकाले साबिक गाविस रामनगर–२ (क) कित्ता नम्बर २५६ र २ (क) कित्ता नम्बर ६० को जग्गामा बनेका संरचना नेपाल सरकारको जग्गामा रहेको भन्दै करिब ३७ घर माघ २७, फागुन ११ र १९ गते तोडफोड गरी भत्काएको थियो । कित्ता नम्बर २५६ र ६० अहिले नगरपालिकाको ५ नम्बर वडामा पर्छ । नगरपालिकाले आफूहरूको बस्ने तथा व्यवसाय गरेर बाँच्ने सुनिश्चितता नै नगरी चालेको कदमले बेघर बनेको, व्यापार–व्यवसाय बन्द हुँदा रोजीरोटीको आधार नै गुमेको लगायतका दुखेसो पीडितहरूको छ ।

गत चैत २७ गतेदेखि संघर्षमा उत्रिएका उनीहरुले बस्न र व्यापार गर्न तत्काल व्यवस्था गरिनुपर्ने, घर भत्काउँदा भएको क्षतिको मूल्यांकन गरी क्षतिपूर्ति दिइनुपर्ने, जग्गाको लालपूर्जा दिइनुपर्ने, छानबिन गरी न्याय दिइनुपर्ने लगायत माग गर्दै आएका छन् ।

सडक विस्तारमात्र होइन नगरपालिकाले सडकमै नपरेको बजार क्षेत्रको १७ घरधुरी बहाल बिटौरी, ऐलानी जग्गा भएको भन्दै भत्काइदिएको उनीहरूको भनाइ छ । कित्ता नम्बर २५६ को ३ बिघा १२ कठा १७ धुर जग्गा र २ (क) को कित्ता नम्बर ६० को २ कठा ५ धुर जग्गामा रहेका घर भत्काएको थियो । मिर्चैया बजारमा भत्काइएको ती घरमा व्यापारिक पसल सञ्चालित थिए ।मिर्चैया स्थापना हुनुभन्दा अघि जंगल नै रहेका बेला बजार लगाउन आफूहरूलाई यहाँ बसोबास गराएको भए पनि अहिले आएर नगरपालिकाले उठीबास गराएको उनीहरूको गुनासो छ । त्यही बसोबास गरेको जग्गा २००४ साल र २०२५ सालमा नै व्यक्तिको नाउँमा नापी र मालपोतमा दर्ता गराएको र पुर्जामा स्पष्ट गाउँ नै लेखिएको प्रमाण रहेको उनीहरुको दाबी छ ।

उता नगरपालिकाले साबिक गाविस रामनगर–२ (क) कित्ता नम्बर २५६ को ३ बिघा १२ कठा १७ धुर जग्गा भूमिसुधार तथा मालपोत कार्यालयको मोठ स्रेस्ता अभिलेखको मोठ नम्बर १ (ङ) पाना नम्बर ६४६/१ मा सरकारको नाउँमा कायम रहेको देखिएको जनाउँदै जग्गा अतिक्रमण खाली गरिएको बताउँदै आएको छ । २०६५/२०६६ मा सरकारी सार्वजनिक जग्गाको विवरण पुस्तिकाको पाना नम्बर १०६ मा पनि सो जग्गा अभिलेखमा नेपाल सरकारको नाममा रहेको नगरपालिकाको दाबी छ ।

सम्बन्धित खबर