Kanakai Online

बिर्तामोड नगर अस्पताल जाने बाटो अलपत्र पार्ने ठेकेदार सिटौलामाथि कारबाही


बुधवार, असार १३, २०८० |

बिर्तामोड । बिर्तामोड नगर अस्पताल जाने सडक समयमै पूरा नगरी अलपत्र पारेर छोड्ने ठेकेदारमाथि बिर्तामोड नगरपालिकाले कारबाही प्रक्रिया सुरु गरेको छ ।

सो सडकमा प्लम र कालोपत्रे निर्माण गर्ने ठेक्का ओम साई निर्माण सेवाका प्रोप्राइटर हिमाल सिटौलाले लिएका थिए ।४७१ मिटर लम्बाई र ८ मिटर चौडाइ कालोपत्रे र प्लम निर्माण गर्नका लागि सिटौलाले ८२ लाख ८३ हजार ३४६ रुपैयाँमा ठेक्का लिएका थिए । फागुन १५ गते ठेक्का सम्झौता गरेका सिटौलाले असार ५ मा काम सक्नुपर्ने म्याद रहेको थियो ।

म्यादभित्र सब बेसको कामसमेत नसकी नगर अस्पताल जाने बिरामी , स्वास्थ्यकर्मी र स्थानीयलाई आवतजावतमा ठुलो समस्यामा पार्ने सिटौलालाई तीन दिनभित्र काम पूरा गर्न चेतावनीसहितको पत्र बुधवार नगरपालिकाले पठाएको छ । यसअघि पनि बेलैमा काम नसक्ने देखेर नगरपालिकाले पहिलो चेतावनी पत्र पठाएको थियो । तीन दिनभित्र काम पूरा नगरे नगरपालिकाले कारबाही थाल्ने भएको हो । तीन दिनभित्र काम पूरा नगरे नगरपालिकाले कारबाही गर्ने प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले बताए । ‘ काम नगरे ठेकेदारले राखेको बैङ्क ग्यारेन्टी हामी तान्छौँ ’ उनले भने ।

ठेकेदारले अलपत्र पारेको सडकबाट हिँड्नै नसक्ने भएपछि स्थानीयहरू आज नगरपालिकामा डेलिगेसन गएका थिए । आफूहरूले त्यसको जिम्मा नगरपालिकाले लिनुपर्ने भन्दै दबाब दिएको स्थानीय शिखर कडरियाले बताए । सडक अलपत्र पारेर छोड्दा सडक छेउको खाल्डोमा हिजो एक जना स्कुले बालिका डुबेकी थिइन् । स्थानीयले देखेर तत्काल उद्धार गरेकाले जोगी थरकी ती बालिकालाई केही नभएको कडरियाले बताए ।

सम्बन्धित खबर