कनकाई अनलाईन
झापाको झापा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ मा ४० युनिट भन्दा कम विजुली खपत गर्ने गाउँबासीको विद्युत महशुल तिरिदिने भएको छ ।
उपाध्यक्ष अन्जुदेवी थपलियाले आइतबार चौधौं गाउँसभामा बजेट प्रस्तुत गर्दै झापा गाउँपालिकामा स्थायीरुपले बसोबास गर्ने परिवारलाई मासिक ४० युनिट विद्युत महशुल स्थानीय सरकारले बेहोर्ने व्यवस्था मिलाइएको बताउनुभयो ।
उहाँले यसका लागि ५० लाख बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।
यस्ता सुविधा प्राप्त गर्नका लागि घरधुरी कर अनिवार्य तिरेको हुनुपर्ने र विद्युत महशुल बुझाएको नगदी रसिद हुनुपर्ने बताइएको छ।सो अनुरुप उपभोक्ताले प्राधिकरणलाई तिरेको रकम गाउँपालिकाले भुक्तानी गर्नेछ।
चालू आर्थिक वर्षमा गाउँपालिकाले मासिक ३० युनिट सम्म विद्युत खपत गर्ने परिवारको महसुल तिरिदिदै आएको थियो।
गाउँपालिकाले चौधौं गाउँसभाबाट आगामी आर्थिक वर्ष २०८०÷०८१ सालका लागि रु ४९ करोड ९० लाख १७ हजार २ सयको अनुमानित बजेट सर्वसम्मत पारित गरेको छ ।