Kanakai Online

पहिलो पटक वेस्ट इन्डिजको सामना गर्दै नेपाल


बुधवार, असार ६, २०८० |

कनकाई अनलाईन
काठमाडौं । जिम्बावेमा जारी आइसिसी एक दिवसीय विश्वकप छनोटको तेस्रो खेलमा नेपालले बिहीबार वेस्ट इन्डिजको सामना गर्दैछ । हरारे स्पोर्टस् क्लबको मैदानमा दिउँसो १२स्४५ बजे सुरु हुने खेलमा नेपाल जितको लय जारी राख्ने लक्ष्यमा छ ।

वेस्ट इन्डिज नेपालका लागि बलियो प्रतिद्वन्द्वी हो । दुई पटक एक दिवसीय र टी–२० विश्वकप च्याम्पियन बनिसकेको वेस्ट इन्डिजसँग नेपालले पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हा ।

नेपालले यसअघि वेस्ट इन्डिजसँग कुनै पनि खालको प्रतियोगिता खेल्ने अवसर पाएको थिएन । त्यसैले नेपालका लागि बिहीबारको खेल बलियो टोलीसँगको अग्निपरीक्षा हुनेछ ।

वेस्ट इन्डिजले आइसिसी एक दिवसीय विश्वकपको पहिलो र दोस्रो संस्करणको उपाधि जितेको थियो । सन् १९७५ मा इङ्ल्यान्डमा भएको पहिलो संस्करणको फाइनलमा वेस्ट इन्डिजले अष्ट्रेलियालाई हराएको थियो ।

यस्तै इङ्ल्यान्डमै सन् १९७९ मा आयोजना भएको दोस्रो संस्करणको फाइनलमा वेस्ट इन्डिजले आयोजक इङ्ल्यान्डलाई स्तब्ध बनाउँदै उपाधि जितेको थियो । यस्तै वेस्ट इन्डिजले सन् २०१२ र २०१६ मा टी–२० विश्वकप जितेको थियो ।

कमजोर बलिङका कारण पहिलो खेलमा छनोटको पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग आठ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गर्दै सुपर सिक्समा पुग्ने छनक देखाएको छ । वेस्ट इन्डिजविरुद्धको तेस्रो खेलमा पनि जितको लय कायम राख्न सके नेपालको सुपर सिक्स पुग्ने सम्भावना बलियो बन्नेछ ।

वेस्ट इन्डिज पनि नेपालाई हराएर जितको लय कायम राख्ने योजनामा छ । समूहको पहिलो खेलमा वेस्ट इन्डिजले अमेरिकालाई हराएको थियो ।नेपालले समूह ‘ए’ को अन्तिम खेलमा असार ९ गते नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । १० टोली सहभागी छनोट खेलको समूह ‘बी’ मा श्रीलङ्का, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र संयुक्त अरब इमिरेट्स ९युएई० रहेको छ ।

छनोट खेलमा समूहमा शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा प्रत्येक टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन् । फाइनल पुग्ने दुई टोली आगामी अक्टोबर–नोभेम्बरमा भारतमा हुने एक दिवसीय विश्वकपमा छनोट हुनेछन् ।

भारतमा हुने विश्वकपमा कुल १० टोली सहभागी हुनेछन् । विश्वकपमा आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बङ्गलादेश, इङ्गल्यान्ड, अफगानिस्तान र दक्षिण अफ्रिकाले स्थान बनाइसकेका छन् ।

सम्बन्धित खबर