कनकाई अनलाईन
काठमाडौं – साफ च्याम्पियनसिप २०२३ को पहिलो खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले हार बेहोरेको छ । भारतको बेंगलोरस्थित कन्तिरभा रंगशालामा नेपाल कुवेतसँग ३(१ ले पराजित भएको हो ।
पहिलो हाफमै २(० को अग्रता लिएको कुवेतले दोस्रो हाफमा पनि गोल थपेको थियो । अन्जन विष्टले नेपालका लागि गोल फर्काएपनि नेपालले त्यसपछि गोल गर्न नसक्दा नतिजा बदल्न भने सकेन । कुवेतका लागि मोहमद अब्दुल्लाहले २ तथा खालेद हजियाले १ गोल गरे ।
२३ औं मिनेटमा कुवेतले कप्तान खालेद हजियाको गोलमा अग्रता लियो । फवाज अलोताइबीको कर्नरमा नेपालको डिफेन्स र गोलरक्षकबीच फ्रन्ट पोस्टमा समन्वय हुन नसक्दा हजियाले खाली पोस्टमा बललाई गोलको दिशा दिए ।
३६ औं मिनेटमा कुवेत अग्रता दोब्बर पार्नबाट चुक्यो । फवाज अलोताइबीले दायाँ विंगबाट दिएको क्रसमा मोहमद अब्दुल्लाहको हेडर क्रसबारमा लागेर फर्किएको थियो ।
४१ औं मिनेटमा कुवेतले अग्रता दोब्बर पार्यो । काउन्टर अट्याकमा अघि बढेको मुभलाई शाइबाइबा अल्खाल्दीले गोलमा परिणत गरेका थिए । बायाँ विंगबाट मोहमद अब्दुल्लाहले दिएको पास पेनाल्टी क्षेत्रभित्र रोक्दै विमल पाण्डेलाई बिट गरेपछि अल्खाल्दीले गोलरक्षक किरण चेम्जोङलाई बिट गरेका थिए ।
६५ औं मिनेटमा कुवेतले अर्को गोल थप्यो । हमाद अल कलाफको क्रस अनन्तको हातमा लाग्दा रेफ्रीले पेनाल्टीको निर्णय दिएका थिए । मोहमद अब्दुल्लाहले उक्त पेनाल्टीलाई गोलमा परिणत गर्दै कुवेतलाई ३(० को अग्रता दिलाए ।
तर त्यसको दुई मिनेट नबित्दै नेपालले खेलमा गोल फर्कायो । अनन्तको लामो पास कुवेतको डिफेन्सले क्लियर गर्न नसक्दा अन्जनले बललाई अघि बढाउँदै फिनिस गरे । अन्जनको राष्ट्रिय टोलीबाट यो व्यक्तिगत १२ औं गोल पनि हो ।
७५ औं मिनेटमा कुवेतका मोहमद अब्दुल्लाह ह्याट्रिक गर्नबाट बन्चित रहे । गोलरक्षक किरणले उनको शक्तिशाली प्रहारलाई विफल पार्दै नेपालको झिनो सम्भावना कायम राखे । त्यसपछि नेपालले पाएको अवसर सदुपयोग गर्न नसक्दा पहिलो खेलमा नै हार बेहोर्न पुग्यो ।
समूह ए कै दोस्रो खेलमा आझ साँझ भारत र पाकिस्तान खेल्नेछन् । खेल ७ , ४५ बजे सुरु हुनेछ ।