Kanakai Online

मोर्चा निर्माण नेपाली राजनीतिको नयाँ मोड नेता चन्द


सोमवार, असार ४, २०८० |

कनकाई अनलाईन
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले समाजवादी मोर्चा निर्माण नेपाली राजनीतिको लागि नयाँ मोड भएको बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित समाजवादी मोर्चा नेपाल घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव चन्दले सो कुरा बताउनुभएको हो ।

सरकारमा भएको र संघर्षमा रहेको पार्टीबीच मोर्चा बन्नु नेपालको इतिहासकै नयाँ प्रयोग भएको उहाँले बताउनुभयो । देशको राजनीति अत्यासलाग्दो परिस्थितिमा गुज्रिएको भन्दै देशलाई त्यसबाट मुक्त गर्न समाजवादी मोर्चा बनेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “नेपाललाई आजको परिस्थितिबाट मुक्त गर्नुपर्छ, कुनैपनि मुल्यमा आजको संकटबाट प्रतिगामी र पश्चगामीलाई मौकाको फाइदा उठाउन दिनु हुँदैन । हाम्रो देशमाथि आँखा लगाउने साम्राज्यवादीलाई कुनै पनि स्थितिमा स्वीकार गर्न सकिँदैन ।”

नेपालको स्वाधिनता र नेपाली जनताको अधिकारका लागि नयाँ संघर्ष, लडाइँ अगाडि बढाउनुपर्छ भन्ने सोचका साथ इतिहासमा नयाँ अभ्यासस्वरुप मोर्चा निर्माण गरिएको उहाँको भनाइ छ । उहाँले सात बुँदे घोषणपत्रसहित दलहरु उपस्थित भएको भन्नुहुँदै समाजवादी मोर्चाले देशको नेतृत्व गर्ने बताउनुभयो ।

“सात बुँदे घोषणापत्र लिएर तपाईहरुको बीचमा उपस्थित भएका छौँ । पूर्ण आत्मविश्वासका साथ हामीले दाबी गरेका छौँ, यो देशको नेतृत्व अग्रगामीले गर्ने हो । यो देशको नेतृत्व समाजवादी मोर्चाले गर्ने हो । देशको नेतृत्व देशभक्त स्वाभिमानी नागरिकले गर्ने हो । हामी सक्छौँ” उहाँले भन्नुभयो ।

सम्बन्धित खबर