कनकाई अनलाईन
झापामा राम्रो डयुटी नगरेको तथा सिमापारका लागि गाई गोरुहरु छाडिदिएको भन्दै सादा पोशाकमा घुमुवाको रुपमा खटिएका बराह बाहिनी पकलीका सशस्त्र प्रहरीका निरीषक नभप्रभात राईले डियुटीमा रहेका सशस्त्र प्रहरीकै हवल्दार तथा जवानलाई निर्घात कुटपिट गरेका छन ।
मंगलवार राती ८ बजेको समयमा झापाको सीमावर्ती क्षेत्र नकलबन्दामा घुमुवाका रुपमा पुगेको प्रहरी निरिक्षक राई नेतृत्वको ३ जनाको प्रहरी टोलीले सुरक्षामा खटिएका सशस्त्र प्रहरीका हवल्दार तथा जवानलाई प्रहरी निरीक्षक राईले पानीमा डुबाउँदै भाटैभाटाले हानेको स्थानीयले बताएका छन । प्रहरीले प्रहरीलाई कुटपिट गर्न थालेपछि आक्रोसित स्थानीयले कुटपिट गर्ने प्रहरीमाथि कार्वाहीको माग राख्दै नाराजुलुस समेत लगाएका थिए ।
प्रहरी निरिक्षक राई नेतृत्वको प्रहरी टोलीको कुटपिटबाट सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट मेचीनगर नकलबन्दामा कार्यरत सशस्त्र प्रहरी वरिष्ठ हवल्दार पासाङ तामाङ, सशस्त्र प्रहरी हवल्दारहरु गणेशबहादुर तामाङ, रामबहादुर कार्की, सहायक हवल्दार शान्तबहादुर राई र सशस्त्र जवान उमेश राजवंशी घाइते भएका छन्। घाईतेहरुको स्थानीय मेची आम्दा अस्पतालमा उपचार भएको थियो । घाईतेहरु सबैको शरिरभरी निलडाँम र हात र पाखुरामा देखिनेगरिको बाँसको भाटाले हानेको चोट र निलडाँम रहेको छ ।
सादा पोशाकमा रहेका प्रहरीले प्रहरीमाथिनै कुटपिट गरेको थाहा पाएपछि उक्त क्षेत्रमा ठुलो सङ्ख्यामा स्थानीयवाशी जम्मा भएर नाराजुलुश समेत लगाएका थिए । मंगलबार राती भएको उक्त घटनापश्चात केही बेर नकलबन्दा क्षेत्र तनावग्रस्त बनेको थियो ।
सशस्त्र प्रहरीको २ नम्बर गण झापाका प्रमुख प्रहरी उपरीक्षक देवराज अर्यालले कुटपिटमा संलग्नलाई कारबाही गर्ने आश्वासन दिएपछि स्थानीयबासी घटनास्थलबाट हटेका थिए । यता घुमुवाका रुपमा आएका प्रहरीले गल्ती गरेको भन्दै घटनाको छानविनका लागि समिति बनाइसकिएको र सुक्ष्म रुपमा छानविन समेत सुरु गरिसकिएको अर्यालले बताउँनुभयो । घटनामा संग्लन प्रहरी निरिक्षक राई सहितको टोलीलाई विभागिय कार्वाहीका लागि हाल बराह बाहिनी पकलीमै पठाइसकिएको समेत जानकारी दिनुभयो ।
यता झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले सशस्त्र प्रहरीको आफ्नै केही कुरा बुझाबुझ नहुदा मंगलबारको घटना भएको बताउनुभयो । सादा पोशाकमा रहेका सशस्त्र प्रहरीलाई स्थानीयबासीले नचिनेका कारण पनि नकलबन्दा क्षेत्र केहिवेल तनावग्रस्त भएको प्रजिअ पोखरेलले बताउँनुभयो । यता कुटपिटको घटनाबाट आक्रोसित स्थानीयको समुहले सशस्त्र प्रहरीको गाडी समेत तोडफोड गरेर क्षति पुर्याएका थिए ।