कनकाई अनलाईन
नव निर्मित इलाका प्रहरी कार्यालय घैलाडुब्बाको नयाँ कार्यालय भवन, ब्यारेक, भान्साघर तथा शौचालयको आज समुदघाटन भएको छ ।
कार्यालयको हाता भित्र आयोजित एक बिशेष कार्यक्रमका बिच कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले शिलालेख अनावरण गरी बिधिवत रुपमा समुद्घाटन गर्नु भएको हो ।
नव निर्मित भवनको समुद्घाटन र भवनको निरीक्षण पश्चात कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वहाँले नयाँ भवन संगै कार्यरत प्रहरी कर्मचारीहरुमा थप मनोवल उच्च हुनुका साथै आम नागरिकमा प्रदान हुने सेवा समेत समयानुसार स्तरिय हुदै जाने धारणा ब्यक्त गर्नु भयो । सुबिधा सम्पन्न भौतिक सुबिधाले थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत यसले अनुकुल वातावरण सिर्जना गर्ने बताउँदै सुबिधा सम्पन्न भवन प्राप्त भएसंगै थप जोश र उर्जाका साथ प्रहरी काम कारवाही गर्न प्रेरणा मिल्ने बताउनु भयो । यसका साथै वहाँले सुन्दर भवनमा बस्ने प्रहरी कर्मचारहरुले जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफु बिश्वस्त रहेको बताउँदै कानूनको परिधिमा रही जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भयो ।
प्रदेश सरकारको नियमित वजेटबाट रकम विनियोजित भई २ करोड ३३ लाख ११ हजार ३८२ रुपैयाको लागतमा साढे २ तले कार्यालय भवन, भान्साघर र शौचालयको निर्माण सम्पन्न भएको हो ।