कनकाई अनलाईन
झापाको पुरानो सदरमुकाम झापा बजारस्थित ईलाका प्रहरी कार्यालय कुमरखोदको नव निर्मित भवनको उद्घाटन गरिएको छ ।
सोमबार एक कार्यक्रमकाबिच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले शिलालेख अनावरण गरी भवनको आजै उद्घाटन गर्नुभएको हो ।
नव निर्मित भवन समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी प्रमुख बास्तोलाले यस अघि यस क्षेत्रका प्रहरीहरु जिर्ण भवनमा कष्टका साथ बसेर नागरिकको सेवा प्रवाह गर्दै आएकोमा प्रहरीलाई नयाँ भवन उपलब्ध भए संगै कार्यरत प्रहरी कर्मचारीहरुमा थप सहयोग पुग्ने र जनताको सेवामा मद्धत मिल्ने बताउँनुभयो । बास्तोलाले नयाँ भवनबाट सेवा प्रवाह गर्दा काम गर्ने प्रहरीमा मनोवल उच्च हुने समेत विश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथी प्रहरी प्रमुख बास्तोलाले जग्गा दाता स्थानिय चन्द्रमाया कार्कीलाई सम्मान समेत गर्नुभयो । प्रदेश सरकारबाट बिनियोजित २ करोड ३५ लाख ८० हजार १ सय ६२ रुपैयाको लागतमा साढे २ तले कार्यालय भवन, भान्साघर र शौचालयको निर्माण गरिएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख विश्वमणी बराल , झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, झापाका प्रहरी प्रमुख दुर्गाराज रेग्मी, सशस्त्र प्रहरी बल, नेपाल नं २ गण हेडक्वाटर भद्रपुर झापाका प्रमुख देवराज अर्याल, आन्तरीक राजश्व कार्यालय भद्रपुरका प्रमुख सुवप्रसाद रिजाल सहित जन प्रतिनिधि सहित बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
उक्त स्थानमा रहेको प्रहरी भवन ज्यादै जीर्ण हुदा वेलावखत भवनको छटबाट ढुंगा र सिमेन्टका टुक्रा झर्ने र पानी चुहिने गर्दा भवनभित्रै छाता ओडेर सेवा प्रहरीले सेवा प्रवाह गर्नुपरेको प्रहरीको गुनासो रहेको थियो ।