Kanakai Online

यस शैक्षिक वर्षबाट भद्रपुरको स्थानीय पाठ्यक्रम लागु


मङ्गलवार, जेठ २३, २०८० |

कनकाई अनलाईन

भद्रपुर । झापाको पहिलो नगरपालिका भद्रपुरले स्थानीय विषयवस्तु समेटर पाठ्यक्रम तयार पारेर लागु गरेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको अधिकार प्रयोग गरी स्थानीय जाति, भाषा, भूगोल, संस्कृति पर्यटकीय क्षेत्रको पहिचान लगायतका विषय समेटेर पाठ्यक्रम तयार गरी यस शैक्षिक वर्षबाट लागु गरेको हो ।

नगरपालिकाले चालू शैक्षिक सत्रमा कक्षा १ देखि ८ कक्षासम्म ‘भद्रपुरको सेरोफेरो’ विषयमा स्थानीय पाठ्यक्रम तयार गरेर पठन पाठन सुरु गरेको छ ।

पाठ्यक्रममा ७ वटा क्षेत्र समेटेर तयार पारिएको छ । जसमा भद्रपुरको भौगोलिक अवस्था, प्राकृतिक सौन्दर्यता, नदी, खोला, तालतलैया, मठमन्दिरहरू, धार्मिक ऐतिहासिक स्थलको परिचय, नैतिक आचरण, योग शिक्षा तथा नगरपालिकाको बारेमा विविध जानकारी समेटिएको छ ।

नगर शिक्षा शाखाका कर्मचारी योगेन्द्र पौडेलका अनुसार ‘स्थानीय स्रोत साधन र स्थानीय परिवेश सुहाउँदो विषयवस्तु समेटेर पाठ्यक्रम तयार गरेका हो ।’ यस वर्ष पाठ्यक्रम मात्र लागु गरिएको भन्दै पौडेलले आगामी शैक्षिक वर्षबाट भने पाठ्यपुस्तक समेत तयार पारेर पठाइने जानकारी दिए ।

उनले केन्द्रीय पाठ्यक्रमले नसमेटेका विषयसँगै नीति शिक्षा, जीवन उपयोगी शिक्षा, धार्मिक ऐतिहासिक, सांस्कृतिक र भौगोलिक पहिचान, पर्यटकीय स्थल जस्ता विषयहरु पाठ्यक्रममा समावेश गरिएको बताए । पौडेलले ‘अहिले हामी परीक्षण चरणमा भएकाले तत्काल पुस्तक नछापेर परीक्षणका रूपमा पाठ्यक्रम लगाउँदै सुझाव र प्रतिकृयाको चरणमा रहेको स्पष्ट पारेका छन् ।

सम्बन्धित खबर