शिखर मोहन
मञ्चमा आसीन कवि राजेश ढुङ्गानाका आँखा रसाए । खैरो कोटको खल्तीबाट रुमाल झिकेर उनले अनायसै बगेका आँसु पुछे । कुनै ठुलो दुर्घटनाको खबर सुनेर झरेका थिएनन् ती आँसु । नाटककार अशेष मल्लले विगत सम्झाइदिँदा ढुङ्गानाले आफूलाई थाम्न सकेनन् ।
शनिबार ९६ जेठमा० सर्वनाम थिएटरमा कवि राजेश ढुङ्गानाकै कविताकृति ‘सुकिला मान्छेको सामूहिक मृत्यु’को परिचर्चा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा अधिकांश पाका साहित्यकार सहभागी थिए ।
थपडी बजाउँदा बजाउँदा
हातभरि ठेलैठेला उठिसके
टुँडिखेलमा बसेर भाषण सुन्दासुन्दा
चउरका लहलहाउँदा
सम्पूर्ण दूबोहरू मरिसके
नेताहरूका वाचा
यही टुँडिखेलमै जन्मेर, टुँडिखेलमै मरे
जनताका सपनाहरू पनि
यही चउरमा जन्मेर
यही चउरमा मरेर गए।।।
९सुकिला मान्छेको सामूहिक मृत्यु०
जनताको विवशताप्रति कवि राजेश ढुङ्गानाले करिब २० वर्षअघि लेखेको उल्लिखित कवितांश आज पनि उत्तिकै सादर्भिक छ । हिजोआज पनि चुनावका समयमा हरेक जनता आशावादी भएर चउरमा बसेर नेताका भाषण सुन्दै आफ्ना सपना बुन्छन्, अनि जितेर गएपछि ती सपना त्यहीँ मर्छन् । ४० र ५० का दशकका चर्चित कवि ढुङ्गाना पछिल्लो समय हराएजस्तै भएका थिए, तर एकाएक उनी गत शनिबार सर्वनाम थिएटरमा ‘सुकिला मान्छेको समूहिक मृत्यु’को दोस्रो संस्करणका साथ झुल्किए ।
प्रजातन्त्रिक आन्दोलनका योद्धा
राजेश २०३६ सालदेखि नै नेपालमा प्रजातन्त्र ल्याउनका लागि लडेका कवि हुन् । सर्वनाम थिएटरका संस्थापक अशेष मल्ल भन्छन्, ‘मैले चिनेको राजेश एउटा विद्रोही राजेश हो, पञ्चायतीकालमा स्वतन्त्रताका लागि लड्ने एउटा योद्धा हो । त्यतिबेलाका सशक्त कवि राजेशका हरेक कवितामा प्रजातन्त्र र विद्रोहका कुरा हुन्थे । सिर्जनाले मात्र होइन, उनी सशरीर प्रजातन्त्रका लड्ने व्यक्ति हुन्, जेलनेल पनि भोगेका ।’
पञ्चायती शासन ढाल्न २०४६ सालको आन्दोलनमा लेखक साहित्यकारको ठुलो भूमिका छ । त्यतिबेला राजनीतिक व्यक्तिहरू सबै जेलमा कोचिएको अवस्था थियो । विभिन्न पेसामा आबद्ध डाक्टर, इन्जिनियर, वकिल, कलाकार, साहित्यकार समेत आन्दोलनका लागि सडकमा ओर्लिएका थिए । त्यो समूहमा कवि ढुङ्गाना आन्दोलनको राँको बोकेर सडकमा उत्रिएका थिए ।
राजा वीरेन्द्रको शासन उत्कर्षमा थियो । पञ्चायतविरुद्ध कुनै कार्य गर्न निषेध थियो । त्यो स्थितिमा मुरारी अर्यालको घरमा वामपन्थी धार र प्रजातान्त्रिक धारका साहित्यकार भेला हुन्थ्यो । त्यसमा अधिकांश वामपन्थी साहित्यकार हुन्थे तर प्रजातन्त्रवादी साहित्यकारहरूको उपस्थिति अत्यन्त न्यून हुन्थ्यो, तर त्यस्ता कार्यक्रममा राजेशको उपस्थिति अनिवार्य हुन्थ्यो । ‘राजेश बिहानै मेरो घरमा आउँथे र भन्थे– दाइ हामी पनि लाग्नुप¥यो । मलाई घिच्याएर लैजान्थे गिरिजा प्रसादको घरमा,’ मल्ल भन्छन्, ‘त्यहाँ गएर हामी साहित्यकारहरूलाई काम दिनुस् भन्थ्यौँ ।’
उनीहरुको आग्रहपछि गिरिजाले भनेका थिए– साहित्यिक भेटघाट कार्यक्रम गरे म आउने छु । हामीलाई त जेल हालिहाल्छ, साहित्यकारहरूले सडक तताउने काम गर्नू ।
गिरिजाले दिएको सल्लाहअनुसार हरेक साहित्यकारको घरघर पुगेर राजेशले कार्यक्रममा उपस्थिति हुन आग्रह गर्दथे, तर सबै निरङ्कुश पञ्चायतदेखि डराएका थिए । त्यो कार्यक्रमा जम्मा ८–१० जना साहित्यकारहरू मात्र भेला भए । यो उपस्थिति देखेर मल्लले सर्वनामका सबै कलाकारलाई कार्यक्रममा डाकेका थिए । मल्ल सुनाउँछन्, ‘गिरिजा, कृष्णप्रसादहरूलाई के थाहा, को साहित्यकार हो, को होइन भन्ने ।’
२०४६ को फागुन ७ गते गणेशमान सिंहको घरबाट जनआन्दोलनको घोषणा गर्ने निर्णय भएको थियो । सो सन्दर्भ पारेर साहित्यकार, कलाकारको समूहले फागुन ७ गतेभन्दा अघि नै एउटा भेला गराउने र गिरिजालाई बोलाउने निर्णय भएको थियो । ‘त्यसको व्यवस्थापन सबै राजेशले गरेका थिए,’ मल्ल सम्झन्छन्, ‘गिरिजा कोइराला आएपछि हामीले फागुन ७ गते केही गर्न नसके पनि एउटा कविता सङ्ग्रह प्रकाशित गरौँ भन्ने निर्णय त्यहीँ ग¥यौँ । रातारात कविता सङ्कलन गरियो, मोहन कोइरालाले त्यो सङ्ग्रहको नाम राखिदिए– वसन्तको खोजीमा ।’
सोही निर्णय अनुसार ७ गते वसन्तको खोजी कविता सङ्ग्रह विमोचन गरेर साहित्यकारहरू प्रजातन्त्रको आन्दोलनमा होमिए । मल्ल भन्छन्, ‘त्यसमा राजेशको महत्त्वपूर्ण हात छ ।’ सो सङ्ग्रहमा राजेश ढुङ्गाना, अशेष मल्ल, रमेश तुफान, मोहन कोइराला, हरि अधिकारी, शिव अधिकारी, शारदा शर्मालगायत २०–२५ कविका कविता सङ्कलित छन् ।
मल्लको बुझाइमा, राजेश ढुङ्गाना एकदमै रचनात्मक र एग्रेसिभ मान्छे हुन् । उनीमा सिर्जनाको भोक–प्यास अत्यधिक रहेकाले दमदार कविता र अरू लेखहरू पनि लेखे । ‘निरङ्कुश पञ्चायतविरुद्ध सधैँ आवेगमा रहन्थे । कहिले प्रजातन्त्र आउला भनेर उनको मनमा सधैँ हुटहुटी हुन्थ्यो,’ मल्ल भन्छन्, ‘त्यो आवेग र आक्रोशका छिटा उनका हरेक कवितामा भेटिन्छन् ।’
प्रजातन्त्रपछि ओझेलमा
२०४६ को जनआन्दोलनमा धेरै साहित्यकार कफन बाँधेर होमिएको सम्झन्छन्, स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन । ‘राजेश पुराना र राम्रा कवि हुन्, प्रजातान्त्रिक धारका साहित्यकारमा अशेष मल्ल, राजेश र हरि अधिकारीजस्ता सीमित मान्छे थिए,’ श्रेष्ठ भन्छन्, ‘तर २०४६ मा बहुदल आएपछि उहाँलाई कतै अवसर दिइएन । यसरी कैयौँ इमानदार मानिसहरू ओझेल परेका होलान् ।’
पछि धेरै साहित्यकार नेपाली साहित्यमा आए, तर राजेश जस्ता राम्रा र समाजले पत्याएका कवि निकै कम रहेको श्रेष्ठकले बताए । ‘कवि मात्र नभएर परिवर्तनको अन्दोलनको संवाहक बनिसकेको एउटा व्यक्तित्व यति लामो समयसम्म लेखिरहनुभएको छ, तर नयाँ सङ्ग्रह प्रकाशन हुन सकेको छैन,’ श्रेष्ठ भन्छन्, ‘यो २० वर्षसम्म उहाँका नयाँ कविता प्रकाशित नहुनु, नयाँ सङ्ग्रह नआउनु उहाँका लागि मात्र होइन, नेपाली साहित्यकै लागि घाटा हो ।’
वरिष्ठ लेखक हरि अधिकारी कवि ढुङ्गानालाई एकदमै राजनीतिक चेत भएको डेमोक्र्यााटिक पत्रकारका रूपमा चिन्छन् । ‘ढुङ्गाना कवि मात्र नभएर एक कुशल राजनीतिक सङ्गठनकर्ता पनि हुन्,’ अधिकारी भन्छन्, ‘कांग्रेसमा निःस्वार्थ रूपमा लामो सयम आबद्ध भएको व्यक्ति हुन् ।’
कवि ढुङ्गाना हरि अधिकारीकै सङ्गतबाट पत्रकारितामा लागेका थिए । अधिकारीले सम्पादन गर्ने जनमञ्चमा उनले सबभन्दा पहिले कलम चलाएका थिए । ‘मैले नै जनमञ्चमार्फत उनलाई पत्रकारितामा प्रवेश गराएको हुँ,’ अधिकारीले भने, ‘पछि उनले प्रजातन्त्रवादी खेमाबाट चलाएका अन्य साप्ताहिकहरूमा पनि काम गरेका थिए ।’
त्यतिबेला लोकतन्त्रवादी पत्रकारहरूको एउटा समूह थियो, त्यसमा प्रमुख व्यक्तिमध्येमा पर्ने व्यक्तित्व भइसकेका पत्रकार थिए ढुङ्गाना । ‘उनी त्यतिबेला गिरिजाप्रसाद कोइरालाको बेडरुममा सरासर जान सक्ने विश्वासी पत्रकार भइसकेका थिए,’ अधिकारी भन्छन्, ‘गिरिजाबाबुले नामले बोलाएर अह्राउने खालको पत्रकारको तहमा पुगेका थिए ।’
भद्रपुरको अस्पताल चोकमा ढुङ्गाना बस्थे, जो डेमोक्र्याटहरूको अखडाजस्तै थियो । अधिकारी भन्छन्, ‘त्यहीँबाट उनी २०३६ सालको आन्दोलनमा होमिएका थिए । उनी २०४६ सालको आन्दोलनमा पनि होमिए, प्रजातन्त्र पुनः बहाली भयो तर उनले राजनीतिक नियुक्ति मागेनन् । केही वर्ष काठमाडौँ बसेर २०६० सालतिर आफ्नै ठाउँ भद्रपुरतिर गएका थिए ।’
करिब २० वर्ष भद्रपुरमा रहेकाले कवि ढुङ्गानालाई नयाँ पुस्ता र पार्टीले समेत बिर्सिएको ठान्छन् नाटककार मल्ल । २०५० सालतिर उनी बिरामी भए । मृत्युको मुखमा पुगेका उनलाई थुतेर नयाँ जीवन दिन सफल भइन्, उनकै सहयात्री मीना ढुङ्गाना । ‘राजेशलाई पुनर्जीवन दिन मीनाको महत्त्वपूर्ण योगदान छ,’ मल्ल भन्छन्, ‘पुनर्जीवन दिन मात्र होइन, उनलाई सिर्जनाका लागि प्रोत्साहन, संरक्षण र प्रकाशन प्रसारणमा पनि उनको भूमिका छ ।’
करिअर
सिन्धुलीको तोस्राममा २०१९ सालमा कवि राजेश ढुङ्गानाको जन्म भएको हो । सिन्धुली उनको मामा घर हो । उनका पिता नेपाल राष्ट्र बैङ्कका जागिरे थिए । जागिरका सिलसिलामा पिताको जहाँ सरुवा हुन्छ, त्यहीँ अध्ययन गर्न गए उनी । त्रि–चन्द्र कलेज घन्टाघरबाट स्नातकको अध्ययन सके ।
जीवन निर्वाहका लागि उनले सुरुमा पत्रकारिता क्षेत्रमा हात हाले । देशान्तर, सुरुचि, विमर्श, नेपाल पुकार जस्ता चर्चित पत्रिकामा काम गरे । काठमाडौँबाट झापा गएर पनि ‘साप्ताहिक विचार’मा काम गरे ।
२०३५ सालदेखि उनी साहित्य सिर्जनामा लागेका हुन् । पहिलो सिर्जना भने कविता हो, तर कुन शीर्षकको कविता थियो भन्ने उनलाई अहिले सम्झनामा छैन । २०३८ सालमा साप्ताहिक विचार भन्ने पत्रिकामा आफ्नो कविता प्रकाशित भएको उनलाई याद छ । त्यसपछि उनको कविताको गहनतालाई सबैले चिन्न थाले । अनि मधुपर्क, गरिमा जस्ता पत्रिकामा उनका कविता प्रकाशित हुन थाले ।
‘सिर्जना आफैँमा रमाइलो क्षण हो । हरेकलाई आफ्नो सिर्जना तयार भएपछि खुसी लाग्छ,’ कवि ढुङ्गाना भन्छन्, ‘सडक नाटक सुरु हुँदा डा। ध्रुवचन्द्र गौतम, नारायण शर्मा, हरि अधिकारी, ध्रुव सापकोटाहरूसँगको जमघट र साहित्यकारहरूको माहोलले मलाई कवितातर्फ अझ बढी आकर्षित ग¥यो । विद्यार्थी आन्दोलन र जनमत सङ्ग्रहका समयमा धेरैपटक पुलिस कस्टडीमा बसँे ।’
२०३६ सालमा भएको प्रजातन्त्रको अन्दोलनमा उनी नारा–जुलुस लगाउँदा उनलाई कैयौँपटक प्रहरीले पक्रियो । त्यसपछि जनमत सङ्ग्रहसम्बन्धी भित्तेलेखन गर्दागर्दै उनलाई पक्राउ गरेको थियो ।