कनकाई अनलाईन
आफूलाई ढुंगा हान्नेहरू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको पार्टीको भएको दाबी गर्नुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई यस प्रकारका अनर्गल हल्ला नचलाउन एकीकृत समाजवादी पार्टी झापाले चेतावनी दिएको छ ।
एकीकृत समाजवादी झापाका संयोजक बेदराज रेग्मीले शुक्रवार प्रेस विज्ञप्ति जारी गरी यस प्रकारका अनर्गल हल्ला नचलाउन र भ्रम नछर्न आग्रह गर्दै त्यस्ता कुराबाट सचेत रहन सबैमा अनुरोध गरेको हो । अहिले कोशी प्रदेशको नामकरणको विषयलाई लिएर पूर्वमा पहिचानको मुद्दामा आवाज उठाइरहेको समयमा पुर्व कोशी प्रदेशका विभिन्न स्थानमा कार्यक्रममा निस्कनुभएका एमाले अध्यक्ष ओलीले आफूलाई आक्रमण गर्न खोजिएको र त्यसमा माधब नेपालका कार्यकर्ताको संलग्नता रहेको भन्ने भनाई आपत्तिजनक रहेको एकिकृत समाजवादीका जिल्ला अध्यक्ष रेग्मीको भनाई छ ।
‘ पहिचानधर आन्दोलनरत पक्षले उठाएको आवाज र मागलाई उचित सम्बोधन गर्नुको साटो अनर्गल प्रचारबाजी गर्नु त्यो तहको नेतालाई यस्तो कुरा गर्नु पटक्कै सुहाउने कुरा होइन ’ समाजवादीको भनाई छ । एकिकृत पार्टी पहिचानको मुद्दा र अधिकारको विषयमा प्रष्ट भएको भन्दै कुनै समस्या देखा पर्दा समाधानको उपाय खोज्नुको साटो पहिचानको विषयलाई विषयान्तर गर्ने अरुलाई दोष थोपर्ने कदम ओलीले गरेको रेग्मीको दावी छ । रेग्मीले पहिचानको माग गर्नेलाई आतंककारीको सज्ञा दिनु नहुने यस्ता समस्यालाई वार्ताद्धारा समाधान गर्नुपर्ने एकिकृत समाजवादी झापाको भनाई छ ।
ओलीले आफूलाई ढुंगा हान्नेहरू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको पार्टीको रहेको दाबी गर्नुभएको थियो । झापामा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले ड्युटीमा रहेका प्रहरीको टाउको फुटाउनेलाई आतंककारीको संज्ञा दिनुभएको थियो ।