Kanakai Online

युएई, ओमान र हङकङ समूह चरणबाटै बाहिरिने खतरा


मङ्गलवार, वैशाख १२, २०८० |

कनकाई अनलाईन
काठमाडौं – उपाधि दाबेदार ओमान, युएई र हङकङ एसिसी प्रिमियर कपमा समूह चरणबाटै बाहिरिने खतरा बढेको छ । अन्तिम खेलमा जित निकाल्न नसके यी तीन ठूला टोली समूह चरणबाटै बाहिरिने समिकरण बनेको हो । घरेलु टोली नेपाल एक खेल अगावै सेमिफाइनलमा पुग्दा अन्य ठूला तीन टोलीको लागि भने अन्तिम खेल क्वाटरफाइनल सरह हुनेछ ।

समूह बी मा हङकङ ३ खेलमा ५ अंकका साथ शीर्ष स्थानमा छ । हङकङले अन्तिम खेल बिहीबार कुवेतसँग खेल्नेछ । कुवेत ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ तेस्रो स्थानमा छ । हङकङ र कुवेतबीचको खेल क्वाटरफाइनल सरह हुनेछ । विजेता टोली सेमिफाइनलमा पुग्नेछ । यदि अंक बाँडेमा वा पराजित भएमा भने कुवेत स्वतः प्रतियोगिताबाट बाहिरिने छ ।

उता युएई ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । बहराइन ३ खेलमा १ मा जित र १ मा हारसहित ३ अंकका साथ चौथो स्थानमा छ । सिंगापुर जित विहीन हुँदै बाहिरिएको छ । बहराइन र युएईबीच बुधबार प्रतिस्पर्धा हुनेछ । यस खेलको विजेता टोली सेमिफाइनलमा पुग्नेछ ।

हङकङ अन्तिम खेलमा विजयी हुँदा ७ वा वर्षाको कारण अंक बाँड्दा ६ अंक हुन्छ । सेमिफाइनलमा पुग्न उक्त अंक पर्याप्त हुनेछ । तर पराजित भएमा कुवेतको ४ खेलमा ६ अंक हुँदा सेमिफाइनल हुनेछ । हङकङ पराजित हुँदा अन्तिम आशा बहराइनको जित हुनेछ । यता हङकङ पराजित हुँदा र उता अन्तिम खेलमा बहराइनले युएईलाई हराउनु पर्छ ।

बहराइन अन्तिम खेलमा विजयी हुँदा ५ अंक हुन्छ । हङकङ र बहराइनको ५–५ अंक भएकोा खण्डमा नेटरनरेटमा निर्भर हुनेछ । युएई पराजित हुँदा भने ४ अंक मात्रै हुने हुँदा प्रतियोगिताबाट बाहिरिनेछ । युएईलाई यो खेलमा जित्नै पर्ने हुन्छ ।
उता समूह ए मा साउदी अरेविया र ओमानबीचको खेल क्वाटरफाइनल सरह हुनेछ ।

साउदी ३ खेलमा १ मा जित, १ मा हारसहित ३ अंककासाथ चौथो स्थानमा छ । ओमान ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ तेस्रो स्थानमा छ । बुधबार टियु मैदानमा हुने खेलमा विजेता टोली सेमिफाइनलमा पुग्नेछ । पराजित हुने टोली बाहिरिनेछ । समूह ए बाट नेपाल सेमिफाइनलमा पुगि सकेको छ ।

त्यसैको कारण युएई र ओमान पराजित हुँदा प्रतियोगिताबाट सिधैं बाहिरिनेछन् । कुनै आशा र सम्भावना बाँकी रहँदैन । हङकङको झिनो अंक गणीतिय आशा मात्रै बाँकी रहनेछ । समूह ए बाट नेपाल ३ खेलमा ५ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ । प्रतियोगितामा नेपालमात्रै सेमिफाइनलमा पुग्ने एक्लो टोली हो ।

प्रतियोगिता पहिलो सेमिफाइनल खेलमा समूह ए को विजेताले समूह बी को उपविजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल खेलमा समूह बी को विजेताले समूह ए को उपविजेतासँग खेल्नेछ । सेमिफाइनल शनिबार हुनेछ । फाइनल सोमबार हुनेछ । प्रतियोगिता विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तासँग खेल्न पाउनेछ ।

शीर्ष तीन टोलीले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् । इमर्जिङ टिप्समा एसियाका टेस्ट टोलीका यू(२३ टोलीको सहभागिता रहनेछ । एसिया कप सेप्टेम्बरमा पाकिस्तान र इमर्जिङ टिम्स एसिया कप जुलाईमा हुनेछ।

अंक तालिका स्

समूह ए मा नेपाल ३ खेलमा २ मा जित र एक खेलमा अंक बाँड्दै ५ अंकका साथ शीर्ष स्थानमा छ । नेपालले अन्तिम खेल बिहीबार कतारसँग खेल्नेछ । मलेसिया ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा रहेर बाहिरिएको छ । ओमान ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ तेस्रो स्थानमा छ ।

ओमानले अन्तिम खेल बुधबार साउदीसँग खेल्नेछ । साउदी ३ खेलमा १ मा जित, १ मा हार १ खेलमा अंक बाँड्दै ३ अंकका साथ चौथो स्थानमा छ । कतार ३ खेलमा जित विहीन हुँदै पुछारमा रहेर बाहिरिएको छ ।

समूह बी मा हङकङ ३ खेलमा २ मा जित र १ खेलमा अंक बाँड्दै ५ अंकका साथ शीर्ष स्थानमा छ । युएई ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ ।

कुवेत ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ तेस्रो स्थानमाछ । बहराइन ३ खेलमा १ मा जित, १ खेलमा हार र १ खेलमा अंक बाँड्दै ३ अंकका साथ चौथो स्थानमा छ । सिंगापुर सबै खेलमा जित विहीन हुँदै बाहिरिएको छ ।

सम्बन्धित खबर