Kanakai Online

कनकाईमा जारी महिला फुटबलको तेस्रो दिनको खेलमा दमक विजयी


शनिवार, फागुन २०, २०७९ |

कनकाई, अनलाईन
झापाको कनकाईमा जारी जिल्ला स्तरीय महिला फुटबलको तेस्रो दिनको खेलमा दमक महिला फुटबल क्लवले जीत हासिल गरेको छ ।

सातौं संस्करणका रूपमा कनकाई खेलकुद प्रतिष्ठान(कासा)ले आयोजना गरेको प्रतियोगिता कनकाई माविको खेल मैदानमा संचालन भएको हो । प्रतियोगिताको तेस्रो दिन आज सुक्रबार पारिजात महिला फुटबल क्लव सालबारी र दमक महिला फुबल क्लव विच भएको प्रतिस्पर्धामा दमक ३—० गोलको अन्तरले विजयी बनेको हो । विजेता बनेको दमककालागी क्रमशः खेलको २७ औं मिनटमा अम्बिका लिम्बुले, २९औं मिनटमा विष्णु लिम्बुले र ३६ औं मिनटमा सन्जु तामाङले गोल गरेको आयोजक कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष छवी थपलियाले जानकारी दिए ।

खेलको प्लेयर अफ द म्याच विजयी टिमकी सन्जु तामाङ घोषित भइन । उनलाई व्यवसायी विरेन्द्र मैनालीबाट प्राप्त सहयोग रकम रू.२ हजार कनकाई खबर साप्ताहिक एवं ठोस खबरका पत्रकार सिएम शर्माले प्रदान गरे । शनिबारको खेल भद्रपुर महिला फुटबल क्लव र एकता महिला फुटबल क्लव चारपाने विच हुने आयोजक समितिकी सचिव मान्ता खरेलले जानकारी दिएकी छन् ।

कनकाई नगर खेलकुद विकास समिति सह–आयोजक रहेको प्रतियोगिताको मुख्य प्रायोजक कनकाई नगरपालिका रहेको बताइएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर फागुन २४ गते समापन हुने प्रतियोगिताको समापन समारोहमा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगरले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रतिष्ठानकी उपाध्यक्ष अम्बिका खरेलले बताएकी छन् ।प्रतियोगितामा प्रथम पुरस्कार नगद ७५ हजार र दोस्रो पुरस्कार ५० हजार, शिल्ड, ट्रफी र प्रमाण पत्र रहेको उपाध्यक्ष खरेलले बताइन् ।त्यसैगरी विधागत तर्फ उत्कृष्ट गोल किपर, सर्वाधिक गोल कर्ता र मेनअफ द सिरिजले जनही ३ हजार प्राप्त गर्ने उपाध्यक्ष खरेलले जानकारी दिइन् ।