Kanakai Online

योगदान राष्ट्रका लागिले निशुल्क प्राथमिक उपचार तालिम गर्दै


बुधवार, फागुन १७, २०७९ |

जनक न्यौपाने
योगदान राष्ट्रको लागि जिल्ला शाखा झापाले आगामी फागुन १९ गते देखी २१ गतेसम्म सताक्षी नगरपालिका वाड नम्बर ८ स्थित वाटर किङ्डम पार्कमा ३ दिने निशुल्क प्राथमिक उपचार तालिमको आयोजना गर्ने भएको छ ।
झापाको १५ वटै पालिकाबाट प्रशिक्षार्थीको प्रतिनिधित्व रहने गरी कार्यक्रमको सम्पुर्ण तयारी गरी सकिएको योगदान राष्ट्रका लागि झापा जिल्ला शाखा अध्यक्ष प्रदिप कुमार संग्रौलाले जानकारी दिनुभयो ।


कुनै पनि घटना घटेपछि अस्पताल पुग्नु अगावै प्राथमिक उपचार बिधि मार्फत कसरी ब्यक्तिको ज्यान बचाउन सकिन्छ भन्ने अभिप्रायका साथ संचालन गर्न लागिएको प्रशिक्षणात्मक कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक ओम प्रसाद उप्रेतीले ३ दिन सम्म प्रशिक्षण दिनु हुनेछ। “ एक घर, एक डाक्टर “ भन्ने मुल नाराका साथ संचालन गर्न लागिएको कार्यक्रममा झापा लगायत मोरङ, सुनसरी , इलाम , धनकुटा लगायतका स्थानबाट समेत प्रशिक्षणमा सहभागिताका लागि नाम दर्ता समेत भइरहेको अध्यक्ष संग्रौलाले जानकारी दिनुभयो।
झापामा पहिलो पटक संचालन गर्न लागिएको यस कार्यक्रमलाई सहज बनाउन जन स्वास्थ कार्यालय झापा, झापाका केही इक्छुक दाताहरु र १५ वटै पालिकाले सहयोगको लागि प्रतिबद्धता गरेको समेत अध्यक्ष संग्रौलाले जानकारी दिनुभयो। ३ दिन सम्म संचालन हुने कार्यक्रममा झापा बाहिरबाट सहभागी हुने प्रशिक्षार्थीहरुका लागि भने निशुल्क खाना बस्नको ब्यवस्था समेत गरिने भएको छ।
कम्तीमा २०० जना प्रशिक्षार्थीहरुको उपस्थित रहने अपेक्षाका साथ संचालन गर्न लागिएको कार्यक्रममा झापा जिल्लाबाट आजिवन सदस्यता लिनु भएका सदस्यहरुलाई सम्मानका साथ प्रमाणपत्र बितरण कार्यक्रम रहेको समेत अध्यक्ष संग्रौलाले जानकारी दिनुभयो।