कनकाई अनलाईन
झापाको भद्रपुरमा जारी प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपमा विभागीय टोली एपिएफ फुटबल क्लब बंगलादेशको काउवार्न बजार प्रगति संघ ढाकाको टिमलाई सडनडेथमा हराउदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
निर्धारित ९० मिनेटको समयमा १–१ को बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि निर्णय हुन नसकेपछि सडनडेथबाट निर्णय लिइएको हो ।
सडनडेथमा एपिएफले बंगलादेशी पाहुना टोलीलाई ९–८ ले पराजित गरेको हो । सडनडेथमा काउवार्नका औङ गोल गर्न चुकेपछि पराजय व्यहोर्नुप¥यो । उनको प्रहारलाई एपिएफका गोलरक्षक एन्जल श्रेष्ठले उत्कृष्ट बचाउ गर्दै जित दिलाउनुभयो । श्रेष्ठ खेलको प्लेयर अफ द म्याच हुदै नगद २० हजार समेत प्राप्त गर्नुभयो ।
जितसँगै एपिएफले फाइनल प्रवेशका लागि मछिन्द्र क्लबसँग आइतबार खेल्नेछ ।
खेलमा सुरुवाती अग्रता भने काउवार्न बजार प्रगति संघ, ढाका बंगलादेशले लिएको थियो । खेलको २१ औँ मिनेटमा बंगलादेशका साएरले गोल गर्नुभयो । उहाँले पेनाल्टी एरियाबाट गरेको प्रहारले जाली चुमाएको थियो ।
दोस्रो हाफपछि एपिएफ आक्रमक बन्यो । ७२ औँ मिनेटमा युवराज खड्काले गोल गर्दै खेललाई बराबरीमा फर्काउनुभयो । काउवार्नका गोल किपर कोबिजबाट रिवाउन्स भएको बललाई खडकाले गोलमा परिणत गर्नुभयो । त्यसपछि दुबै टिमबाट थप गोल हुन नसक्दा खेल ट्राईब्रेकरमा थकिलिएको थियो ।
शनिबारको पहिलो सेमिफाइनल खेल संकटा क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।
गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिनुभयो ।
प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, फाइनल खेलको पहिलो गोलकर्ता र प्रशिक्षकलाई २५ हजार दिइने आयोजकले जनाएको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ दिइने आयोजकले जानकारी दिएको छ ।