Kanakai Online

झापामा ९ लाखलाई हात्तीपाईले बिरुद्धको औषधि खुवाईदै


मङ्गलवार, फागुन ९, २०७९ |

कनकाई अनलाईन
झापामा १२ औ चरणको हात्तीपाईले बिरुद्धको आम औषधि ९ लाख ९ हजार ५ सय ३७ जनालाई खुवाउका लागि सबै तयारी पुरा गरिसकिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
अघिल्लो ११ चरणसम्मको औषधि वितरण प्रभावकारी नभएको भन्दै यसपटक भने प्रत्यक्ष निगरानीमा मात्रै यो औषधि खुवाइने जिल्ला जनस्वास्थ्य कार्यालय झापामा प्रमुख रमेश बाह्रकोटीले बताउँनुभयो । अभियानका वारेमा जानकारी दिन बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै जनस्वास्थ्य प्रमुख बाह्रकोटीले यसपटक झापामा कम्तीमा ८० प्रतिशत जनसङ्ख्यालाई प्रत्यक्ष औषधि वितरणका लागि ७०० जना तालिमप्राप्त स्वास्थ्यकर्मी र अन्य थप सहयोगीहरु समेत झापाका सबै १५ पालिकामा परिचालन गरिसकिएको बताउँनुभयो । स्थानीय निकायका प्रतिनिधि र सरोकारवालाहरुसग कार्यक्रमको सफलताका लागि विभिन्न चरणका छलफल र गोष्ठी समेत गरिसकिएको बाह्रकोटीको भनाई छ । झापामा यसअघि ११ पटकसम्म पनि यस कार्यक्रम गरिसकिएपनि सबैले औषधि नखाइदिदा कार्यक्रम असफल बनेको छ ।
झापा मोरङ सहित नेपालका १५ जिल्लामा यो कार्यक्रम संचालन गदिदै छ । फागुन ११ गतेदेखि १६ गतेसम्म अभियानका रुपमा झापामा संचालनमा गरिने भएको छ ।
यसपटकको अभियानमा हात्तीपाईले रोगको औषधि तौल र मानिसको ओजनलाई आधारमानेर जुकाको औषधि सहित हात्तीपाईलेको औषधि खुवाईने जनस्वास्थ्य प्रमुख बाह्रकोटीले बताउँनुभयो । झापामा स्वास्थ्य समस्याका रुपमा रहेको हात्तीपाइले रोगको संक्रमण दर १५ पालिकामध्ये झापा गाउँपालिका र कचनकवल गाउँपालिकामा उच्च रहेको कार्यक्रममा जानकारी दिइएको छ । केहि पालिकाहरुले हात्तीपाईले रोगको औषधि खाइसकेपछि परिचयकार्डको व्यावस्था समेत गरिएको र औषधि सेवन गरिसकेपछि नङमा मसी समेत लगाइने प्रबन्ध गरिएको जानकारी गराइएको छ ।

सम्बन्धित खबर