कनकाई नगरपालिका झापा जिल्लालाई चिनाउने ऐतिहासिकस्थल मध्ये कनकाई नदी र हिन्दु धार्मिक आस्थाको केन्द्र कोटीहवन रहेको धार्मिक एवम् पर्यटकीय नगरी हो । स्थानीय तहको पुनर्संरचना पछि साविक सुरुङ्गा गाविस र घैलाडुब्बा गाविसलाई समेटेर २०७१ बैशाख २५ गतेको नेपाल सरकारको निर्णय अनुसार यस क्षेत्रको प्रसिद्ध धार्मिक महत्व बोकेको कनकाई नदीको नाममा यस नगरपालिकाको नामाकरण गरिएको थियो ।
कूल ५३ हजार ८८ जनसंख्या रहेको कनकाई नगरपालिका ७९.१ वर्ग किलोमिटरमा फैलिएकोछ । यो नेपालकै पहिलो विद्युत् चुवहावट मुक्त र बन्द निषेधित नगरपालिका हो । स्थानीय तह पुनर्संरचनापछि पहिलो जननिर्वाचित नगरप्रमुखको रुपमा राजेन्द्रकुमार पोखरेलले सफलतापूर्वक कार्यभार सम्हालनुभयो भने दोस्रो कार्यकाल समेत उहाँले निर्वाह गरिरहनु भएको छ । स्थानीय तहमा जननिर्वाचित जनप्रतिनिधि आएसँगै विकासको क्रम तीव्र भएको उहाँ बताउनुहुन्छ । नगरपालिकाले गरेका विकास निर्माण लगायतका विषयमा कनकाई साप्ताहिकले गरेको कुराकानीको संक्षेप :–
कनकाई नगरपालिकाको पूर्वाधार विकासमा तपाईंको प्राथमिकता के–के छन् ?
समयअनुसार प्राथमिकताका विषयहरू परिवर्तन भइरहन्छन् । कुनै समय पहिलो प्राथमिकतामा रहेको विषय पछि दोस्रो वा तेस्रो प्राथमिकतामा पर्न सक्छ । तर, नगरपालिकाले गर्ने सबै काम नागरिकको आवश्यकता र प्राथमिकतासँग जोडिएका छन् । पूर्वाधार मात्र होइन, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन तथा आर्थिक विकासका क्षेत्रहरू पनि उत्तिकै महत्वपूर्ण छन् ।
नेपालको तीन तहको शासन व्यवस्थामा स्थानीय सरकार नै कार्यान्वयनको प्रमुख तह हो । केन्द्र र प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याए पनि त्यसको प्रत्यक्ष कार्यान्वयन स्थानीय तहबाटै हुन्छ । यही जिम्मेवारीलाई आत्मसात गर्दै नगरपालिकाले उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गरी पूर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा निरन्तर काम गरिरहेको छ ।
झापा रोड (अमरपथ सडक) निर्माण गर्दा कतिपयले विरोधसमेत गर्नुभएको थियो । तर, आज त्यही सडक नगरको महत्वपूर्ण पूर्वाधारका रूपमा स्थापित भएको छ । यसबीचमा धेरै सडक निर्माण भएका छन्, अझै पनि धेरै महत्वपूर्ण सडक निर्माण गर्न बाँकी छन् । नगरबासीबाट आएका आलोचना र सुझावलाई हामीले सकारात्मक रूपमा लिएका छौं । ती सुझावहरूले हाम्रो कामलाई थप प्रभावकारी बनाउन सहयोग पुगेको छ ।
शिक्षाको क्षेत्रमा नगरपालिकाले के–कस्ता काम गरेको छ ?
शिक्षाको क्षेत्रमा विगतको तुलनामा उल्लेखनीय काम भएका छन् । स्थानीय पाठ्यक्रम विकास गरी कक्षा–८ सम्म अध्यापन भइरहेको छ । स्थानीय ज्ञान, संस्कृति र आवश्यकतालाई समेटेर शिक्षालाई व्यवहारिक बनाउने प्रयास गरिएको छ ।
परम्परागत शिक्षाले मात्र रोजगारी सुनिश्चित गर्न नसकेको निष्कर्षका आधारमा नगरपालिकाले प्राविधिक शिक्षामा विशेष जोड दिएको छ । सीटीईभीटीको मान्यता प्राप्त प्राविधिक कार्यक्रम र कनकाई पोलिटेक्निकमार्फत प्राविधिक जनशक्ति उत्पादन गर्ने प्रयास भइरहेको छ ।
सुरुआती वर्षमा विद्यार्थीहरूको आकर्षण उच्च भए पनि पछिल्लो समय केही कमी देखिएको छ । यसबाट सिक्दै समयअनुकूल र बजारमुखी प्राविधिक शिक्षा आवश्यक रहेको निष्कर्षमा पुगेका छौँ । होटल म्यानेजमेन्टजस्ता विषयमा विद्यार्थीहरूको आकर्षण देखिएकाले त्यस्ता कार्यक्रम सञ्चालनका लागि आवश्यक सम्बन्धन प्राप्त गर्ने प्रयास भइरहेको छ ।
नगरमा कृषिको अवस्था र नगरपालिकाको भूमिका कस्तो छ ?
कृषि क्षेत्रको विकासका लागि नगरपालिकाले व्यापक रूपमा विद्युतीय सिँचाइ प्रणाली विस्तार गरेको छ । अनुदानमा सिँचाइ मोटर वितरण गरिएकाले हजारौँ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । कृषकहरू अहिले बाह्रै महिना खेती गर्न सक्ने अवस्थामा पुगेका छन् ।
करिब एक दशकअघि नगरको सीमित क्षेत्रमा मात्र मकै खेती हुने गरेकोमा अहिले अधिकांश क्षेत्रमा मकै, धान, तरकारी तथा तेलहन बाली उत्पादन भइरहेको छ । पशुपालन क्षेत्र पनि विस्तार हुँदै गएको छ । वैदेशिक रोजगारीबाट फर्किएका युवाहरू समेत कृषिमा आकर्षित भएका छन् ।
नगरपालिकाले विभिन्न दातृ निकायसँग सहकार्य गरेर कृषि क्षेत्रको आधुनिकीकरणमा काम गरिरहेको छ । यद्यपि सार्वजनिक खरिद प्रक्रियाका कारण गुणस्तरीय उपकरण खरिदमा केही चुनौती देखिएका छन् । कृषकले चाहेको ब्रान्ड वा गुणस्तरको सामग्री खरिद गर्न कानुनी प्रक्रिया बाधक बन्ने गरेको अनुभव छ ।
हाल विद्युतीय सिँचाइ मोटर खरिद प्रक्रिया अख्तियारमा उजुरी परेका कारण रोकिएको छ । बजेट हुँदाहुँदै पनि कृषकलाई मोटर वितरण गर्न नसकिएको अवस्था छ । यस्ता नीतिगत जटिलतामा सुधार आवश्यक रहेको महसुस गरेका छौँ ।
पशुपालनतर्फ कोरियन प्रविधिबाट कृत्रिम गर्भाधान गरी उच्च दूध उत्पादन गर्ने गाई विकास गर्ने कार्यक्रम सञ्चालनमा ल्याइएको छ । यसले किसानको आम्दानी बढाउन महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
पूर्वाधार विकासमा नगरपालिकाको विशेष रणनीति के हो ?
धेरै स्थानीय तहले कालोपत्रे सडकलाई प्राथमिकता दिएका छन् । तर, कनकाई नगरपालिकाले स्थानीय सरकार गठनको प्रारम्भिक चरणदेखि नै पेभर्स सडकलाई प्राथमिकता दिएको छ ।
कालोपत्रे सडक केही वर्षमै मर्मत गर्नुपर्ने अवस्थामा पुग्ने गरेको छ भने सात–आठ वर्षअघि निर्माण गरिएका पेभर्स सडकहरू अझै राम्रो अवस्थामा छन् । साथै कालोपत्रे सडक निर्माणमा प्रयोग हुने अधिकांश सामग्री आयातित हुन्छन्, जसले ठूलो रकम विदेशिन्छ । पेभर्स निर्माणमा भने अधिकांश सामग्री स्वदेशी प्रयोग हुने भएकाले स्थानीय अर्थतन्त्रलाई पनि फाइदा पुग्छ ।
विद्यालय भवन, वडा कार्यालय, पुल तथा अन्य सार्वजनिक संरचनाको निर्माणमा उल्लेखनीय प्रगति भएको छ । हालै सन्का खोलामा पुल निर्माण सम्पन्न भएको छ । समग्र पूर्वाधार विकासको हिसाबले नगरले उल्लेखनीय उपलब्धि हासिल गरेको छ ।
विपद् व्यवस्थापनमा नगरपालिकाको काम कस्तो छ ?
कन्काई, बिरिङ, सन्का, सुरुङ्गा, बाघे लगायतका नदीहरू नगरका लागि अवसर र चुनौती दुवै हुन् । विगतमा बाढी तथा कटानका कारण ठूलो क्षति हुने गरेको थियो । अहिले स्थानीय स्रोतसाधन तथा संघ–प्रदेश सरकारको सहयोगमा नदी नियन्त्रणका काम प्रभावकारी रूपमा अघि बढेका छन् ।
पछिल्लो दशकमा मात्रै नदी नियन्त्रणका लागि करिब १० करोड रुपैयाँभन्दा बढी लगानी गरिएको छ । नदी नियन्त्रणका कारण विगतमा बर्खायाममा आवतजावत अवरुद्ध हुने क्षेत्रहरूमा अहिले सहज आवागमन सम्भव भएको छ ।
स्वास्थ्य क्षेत्रमा नगरपालिकाले के उपलब्धि हासिल गरेको छ ?
कनकाई नगर अस्पताल अहिले नगरबासीको भरपर्दो स्वास्थ्य संस्था बनेको छ । केही वर्षअघि सामान्य प्राथमिक उपचारमा सीमित रहेको अस्पतालमा अहिले दैनिक ५०० देखि ७०० जनासम्मले सेवा लिइरहेका छन् ।
पहिले अधिकांश बिरामीलाई अन्यत्र रेफर गर्नुपर्ने अवस्था थियो । अहिले एक्स–रे, भिडियो एक्स–रे, प्रयोगशाला सेवा तथा स्त्रीरोग, बालरोग, हाडजोर्नी र नसारोग लगायतका विशेषज्ञ सेवा नगर अस्पतालमै उपलब्ध छन् ।
नयाँ भवनबाट १५ शैय्याको अस्पताल सेवा सञ्चालनमा आइसकेको छ । भविष्यमा नगर अस्पतालबाट शल्यक्रिया सेवा सञ्चालन गर्ने लक्ष्य रहेको छ । ‘माइनर ओटी’ सञ्चालन गर्न सके नगरका विपन्न नागरिकलाई ठूलो राहत मिल्ने विश्वास छ ।
नगरको आन्तरिक स्रोत बढाउने योजना के छ ?
आन्तरिक आय वृद्धि गर्न सकिने सम्भावित क्षेत्रहरूको अध्ययन गरिएको छ । व्यापारिक तथा सार्वजनिक संरचनाहरूलाई व्यवस्थित गर्दै राजस्वका नयाँ स्रोतहरू विकास गर्ने योजना छ ।
यसै क्रममा सुरुङ्गा बजारमा कनकाई बहुउद्देश्यीय सामुदायिक भवन निर्माणको ठेक्का लागिसकेको छ । निर्माण सम्पन्न भएपछि यसले नगरको आन्तरिक आम्दानी वृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
नगर प्रमुखको स्पष्ट भिजन छैन भन्ने आलोचना पनि सुनिन्छ नि ?
आलोचना लोकतन्त्रको अभिन्न अंग हो । सबै आलोचनाको जवाफ दिन सम्भव हुँदैन । तर, नगर विकासका लागि दीर्घकालीन सोच र योजना दुवै आवश्यक छन् ।
कनकाईमा पर्यटनको ठूलो सम्भावना छ । धार्मिक, जैविक तथा पर्यावरणीय पर्यटन विकास गर्न सकिने अवस्था छ । कोटीहवनदेखि धनुषकोटीसम्म विद्युतीय रेल सञ्चालन, केवलकार निर्माण, रोज गार्डेन स्थापना, जगन पाण्डेको दरबार संरक्षण, हात्ती सफारी तथा जल पर्यटनका सम्भावनाबारे अध्ययन भइरहेको छ ।
नगर विकास कोषको सहयोगमा केही परियोजनाको सम्भाव्यता अध्ययन भइसकेको छ । पर्यटन विकासलाई संस्थागत गर्न ‘कनकाई पर्यटन प्राधिकरण’ सम्बन्धी कानुनी व्यवस्था समेत गरिएको छ ।
खानेपानीको पहुँच विस्तारमा के काम भइरहेको छ ?
स्वच्छ खानेपानी नागरिकको आधारभूत अधिकार हो । त्यसका लागि नगर तथा वडा कार्यालयमार्फत विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् ।
स्रोत र साधन सीमित भएकाले सबै क्षेत्रमा एकैपटक सेवा विस्तार गर्न सम्भव नभए पनि आगामी दुई–तीन वर्षभित्र नगरका सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँचमा ल्याउने लक्ष्यका साथ काम भइरहेको छ ।
अन्त्यमा केही भन्नुहुन्छ ?
स्थानीय तहलाई अधिकार र स्रोतसाधन प्राप्त भएपछि विकास निर्माणका कामले गति लिएका छन् । नगरबासीको सहयोग, सुझाव र सहभागिताले नै हामीलाई सफलता दिलाएको हो ।
नगरपालिकाका कमीकमजोरी औँल्याइदिन, रचनात्मक सुझाव दिन तथा विकास अभियानमा साथ दिन सम्पूर्ण नगरबासीलाई आग्रह गर्दछु । सकारात्मक सुझाव र आलोचनाले हामीलाई अझ जिम्मेवार र प्रभावकारी ढंगले काम गर्न प्रेरणा मिल्नेछ ।



