Kanakai Online

कनकाईमा पूर्वाधार : नदी नियन्त्रणमा नगरपालिकाको अर्जुनदृष्टि


मङ्गलवार, जेठ १९, २०८३ |

कनकाई, १९ जेठ । झापाको कनकाई नगरपालिकाकाले नदी नियन्त्रणका लागि तटबन्धन निर्माण कार्यलाई तीव्रता दिएको छ । नगरका मुख्य÷सहायक नदी तथा खोलाहरुले बर्सेनि जमिन कटान गर्नुका साथै धार परिवर्तन गरी बस्ती पस्ने गरेकाले सोको नियन्त्रणका लागि तटबन्धन निर्माण कार्यलाई तीव्रता दिएको हो ।

नगरका मुख्य नदीहरु कनकाई माई, विरिङ, सुरुङ्गा, बाघे, सन्का नदीहरुको नियन्त्रणका लागि भूमिगत जल सिञ्चाई कार्यालयसँग समन्वय गरेर धमाधम प्रभावित नदीहरुमा ‘स्पोर’ निर्माण थालिएको छ ।

अघिल्ला वर्षहरुमा बाँसको पाइलिङ्ग समेत गरेर केही हदसम्म नदी नियन्त्रण गर्दैै आइरहेको कनकाई नगरपालिकाले यस वर्ष यी प्रभावित नदीहरुको नियन्त्रणका लागि ८० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

अहिले कनकाई माईको पूर्वी तटमा धमाधम ढुङ्गा जाली भरेर नदी नियन्त्रणको काम भइरहेको छ भने विरिङ्ग नदीमा समेत कनकाई–८ र १ नम्बर वडा क्षेत्रमा धमाधम स्पोरहरुको निर्माण भइरहेका छन् ।

यस क्षेत्रमा भूमिगत जल सिञ्चाई समेतको लगानीमा ढुंगा भरेर जाली निर्माण अन्तिम चरणमा पुगेको छ । जेठ मसान्तसम्ममा यी नदिहरुमा स्पोर ढुङ्गा भर्ने काम सम्पन्न भइसक्ने कनकाई नगरपालिकाका इन्जिनियर विशाल थेबेले जानकारी दिनुभयो ।

यस वर्ष मात्रै कनकाई नदी क्षेत्रमा ढुङ्गाको तारजाली बनाउन ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । यहाँ बाँध÷स्पोर निर्माणले कनकाई सामुदायिक वन समूह क्षेत्रको कटान नियन्त्रण गर्ने र खोला कटान तथा डुबान गरेर गाउँ पस्नबाट जोगिने कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभयो ।

त्यसैगरी, कनकाई–८ स्थित विरिङ्ग नदीतर्फ १२ लाख र विरिङ्ग नदीकै कनकाई–१ वडामा ८ लाख रुपैयाँ विनियोजन गरिएको छ । थप १० लाख रुपैयाँले सन्का लगायतका अन्य खोलामा खोला नियन्त्रणका कामहरु भइरहेका छन् । विरिङ नदी क्षेत्रमा मात्रै विभिन्न ३ वटा टुक्रामा १७२ मिटर लामो स्पोरहरु निर्माणको अन्तिम चरणमा पुगेको छ ।

कनकाई नगरपालिका क्षेत्रका यी खोला तटबन्धका कार्यहरु टेण्डर प्रक्रियामा गरिएको र यस क्षेत्रमा जनताको तटबन्ध कार्यक्रमसँग समेत समन्वय गरेर विरिङ नदी नियन्त्रणको कार्यहरु यस वर्षका लागि अन्तिम चरणमा पुगेको कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभयो ।

“कनकाई नगरपालिकाबाट मात्रै हामीले एक करोड रुपैयाँ बराबरको कामहरु अहिले गरिरहेका छौं”, उहाँले भन्नुभयो, “त्यसमा विरिङ र माई खोलामा मात्रै ८० लाख र बाँकी सन्का खोला लगायतका साना खोलाहरुमा लगानी गरिएको छ, जुन खोलाले कनकाईबासीलाई दुःख दिने गरेका थिए, ती खोलाहरुको नियन्त्रणका लागि हामीले बर्खा अगाडि नै कामहरु गरिरहेका छौं ।”

“अहिले पनि सबैभन्दा बढी जोखिम स्थलहरु कनकाई नदीको क्षेत्र र विरिङ नदीको १ र ८ को क्षेत्रमा खानेपानी आयोजनादेखि लिएर जनताको तटबन्ध समेतको समन्वयमा हामीले काम गरिरहेका छौं”, नगरप्रमुख पोरखेलले भन्नुभयो, “अघिल्ला वर्षहरुमा भए÷हुने गरेका नदीको दुःख यसपालि हामीलाई केही हदसम्म कम हुनेमा हामी विश्वास्त छौं ।”