कनकाई नगरपालिकाले पूर्वाधारका क्षेत्रमा काम गर्दै आएको छ । नगरबासीको माग, आवश्यकता र नगरको स्रोतको उपलब्धताका आधारमा सडक, पुल, भवन, नदी नियन्त्रण लगायतका काम गरिरहेको छ । नगरले पूर्वाधारका क्षेत्रमा गरेको कामका बारेमा नगरबासीको धारणा के छ र आगामी दिनमा नगरको पूर्वाधार नीति तथा कार्यक्रम कस्तो हुनुपर्छ ? उनीहरुको विचार जस्ताको त्यस्तै यहाँ नागरिक आवाजका रुपमा समेट्ने प्रयास गरिएको छ ।
विनोद सुब्बा (कनकाई–५)
स्थानीय निर्वाचनपछि यहाँका विकास निर्माण लगायातका क्षेत्रम कामहरु भएकै देखिन्छ । मानिसहरुको आशा र अपेक्षा अनुसार मानिसहरुलाई जति रुपमा चाहिने हो, त्यति रुपमा नभएपनि त्यो भन्दा अगाडि यस क्षेत्रमा अवस्था कस्तो थियो ? अहिले कस्तो छ ? यो सबै हेरियो भने पनि हामीले महसुस गर्न सक्छौं । हामी बसेकै ठाउँलाई हेर्ने हो भने पनि बाटोघाटोकै सुविधा पनि थिएन अहिले आएर त्यो सबै पूरा भएको छ । यसो हुनुमा स्थानीय सरकारकै देन प्रमुख रुपमा रहेको छ ।
तर, यतिले नै सबै पुगिसक्यो भन्ने पनि होइन, अझै पनि धेरै विकास निर्माणका कामहरु गर्न बाँकी छ । हाम्रो क्षेत्रमा ठूलो कार्यक्रमको कुरा भएको थियो, कृषकहरुका लागि पूर्वी नहरको कुरा । तर किन हो हुन पाएन । त्यो हुनसकेको भए, यहाँका कृषकहरुलाई ठूलो राहत हुने थियो ।
यस क्षेत्रमा अन्य विकास निर्माण लगायतमा धार्मिक पर्यटनको हव धनुषकोटीधाम बनेको छ । कोटीहवन त छँदै थियो, जामुनखाडी, सेल्फीडाँडा, साइन्स सिटी लगायातका क्षेत्रका क्षेत्रका कारण यस क्षेत्रको परिचय फेरिएको छ । कनकाई नगरपालिकाको दुवै क्षेत्रमा माई र विरिङ ठूला नदी भएका कारणले धेरै समस्या भएको छ । यसको स्थायी समाधानका लागि स्थानीय, प्रदेश, संघ र मिलेसम्म अन्य दातृ निकायसँगको सहयोगमा समेत यसको स्थायी समाधान खोजिनु आवश्यक छ । यी बाहेक सुरुङ्गा खोला लगायतले केही न केही क्षति वार्षिक रुपमा गरिरहेको छ । यसको नियन्त्रण गरिनुपर्छ ।
कुमार पाठक (कनकाई–३)
कनकाई नगरपालिकाको नगरप्रमुखका रुपमा नगरप्रमुख राजेन्द्रकुमार पोखरेलको दोस्रो कार्यकाल हो । नगर उपप्रमुख आशा शर्मा शिवाकोटीको समेत पहिलो कार्यकालको हो । यो पाँच वर्षे कार्यकालको अन्तिम अवस्थामा हामी आइपुगेका छौं । अहिलेसम्म उहाँहरुसँगै जनप्रतिनिधिको टिमले गरेका सबैकुरा ठिक्कै नै छ । स्रोत र साधनले भ्याएसम्म मैले देखेसम्म राजेन्द्रकुमार पोखरेल मेयरज्यूले राम्रै कामहरु गरिरहनुभएको छ ।
हरेक क्षेत्रमा आफ्नो क्षमताले भ्याएसम्म कामहरु गरिरहनुभएको छ । आफ्नो इमान्दारिता पूरा गर्नुभएको छ । जहाँसम्म मलाई लाग्छ– उहाँले आफूले एक रुपैयाँ पनि भ्रष्टाचार गर्नुभएको छैन, जीवनभर भ्रष्टाचार गर्नु पनि हुँदैन । नगरपालिकाको स्रोत र साधनले भ्याएसम्म उहाँको टिमले राम्रो कामहरु गरेको छ । यसलाई हामीले मान्नै पर्छ ।
तर, चुनावको बेलामा राजेन्द्रकुमार पोखरेलले मेरै पसल अगाडि आएर उहाँले २ महिनाभित्र धनीपूर्जा आउँछ भनेर भन्नुभएको थियो । त्यो चाहि कसरी आएन, त्यसमा उहाँको भूमिका कति छ कि छैन त्यो पनि समयले बताउँला ? उहाँको टिमले धनीपूर्जा वितरणको बाँकी रहेको कामहरु गर्नुपर्ने छ दोस्रो कुरा यहाँ आउने विपद् व्यवस्थापनको कामलाई ध्यान दिनुपर्छ ।
लोचन खरेल (कनकाई–३)
कनकाई नगरपालिकाले गरेका राम्रा कामहरु धेरै छन् । बाटो–घाटो, नदी नियन्त्रण लगायातका धेरै कुराहरुमा राम्रा कामहरु गरेका छन् । स्थानीय बाटोहरु गल्लीहरु समेत राम्ररी पेबर्सहरु लगाइएको छ, यसम हामी नगरबासी धेरै खुसी पनि रहेका छौं । कनकाई नगरपालिकाले धेरै स्थानमा सार्वजनिक स्थानमा खानेपानी र शौचालयको प्रबन्ध गरेको छैन । जनतालाई सास्ती भएको छ । त्यसको व्यावस्थापन चाँडो गर्नुपर्छ जस्तो लाग्छ मलाई ।
शिक्षाको क्षेत्रमा नगरले जति गर्नुपर्ने थियो, त्यो गरेको भने देखिँदैन । विद्यार्थी जीवनदेखिनै लागुऔषध दुव्यर्सनीको समस्या ठूलो रुपमा रहिआएको छ । त्यसलाई नगरपालिका र जनताको साझेदारीमा हटाउनु र कम गर्नुपर्छ । त्यस क्षेत्रमा खासै काम भएको जस्तो मलाई लाग्दैन । सरसफाईको क्षेत्रमा पनि त्यति ध्यान नदिएको जस्तो लागिरहेको छ । सरकारी स्कुलहरुमा अध्यापन गर्ने शिक्षकहरुलाई नगरपालिकाको क्षेत्रबाट समेत थप तालिमहरुको प्रबन्ध गर्नुपर्यो । उहाँहरुकै माध्यमबाट समेत दुव्र्यसनीको अवस्था घटाउनुपर्यो ? प्रहरी प्रशासन लगायतको सक्रियता बढाउनुका लागि समेत स्थानीय सरकारले पहल समन्वय गर्नुपर्यो ।
फोहोरमैला व्यावस्थापनका क्षेत्रमा चाहिँ कनकाई नगरपालिकाभर कहीँ पनि डस्विन म देख्दिन । त्यसको चाँडो व्यावस्थापन गर्नुपर्यो । फोहोरका बारेमा सरसफाई र जनचेतनामूलक कार्यहरु पनि निरन्तर गर्नुपर्यो ।
अर्जुन बोहोरा (कनकाई)
कनकाई नगरपालिका हाम्रो स्थानीय सरकार हो । नगरले गरेका राम्रा कामहरुको जहिले पनि हामीले खुलेर प्रसंसा गरेका छौं । नराम्रा कुराहरुको हामीले नगरपालिकामै पुगेर ध्यानाकर्षण पनि गरिरहेका छौं । विकास निर्माण भनेका नियमित हुने प्रक्रिया पनि हो । अहिले हामीलाई चाहिने जति त विकास हुनसकेको छैन । हाम्रा मागहरु विकासप्रतिको चाहनाहरुका आधारमा त पक्कै पनि भएको छैन । तर पनि स्थानीय सरकार गठन भएपछि धेरै विकास निर्माणले गति लिएको छ ।
अबको हाम्रो आवश्यकता बाटोघाटो भौतिक निर्माण भन्दा पनि स्वास्थ्य र शिक्षा हो । नागरिकको जीवनस्तर उकास्नु छ भने कृषि नै हो । यस कुरामा चाहिँ केही न केही कमिकमजोरी भएकै छ । जेन्जी आन्दोलनपछि जेन्जी मोमेन्टकै आधारमा सरकार चल्नु पर्छ । बाटाघाटा त हिजो राजा महेन्द्रकै पालादेखि शुरु भएको हो अहिले पनि सकिएको छैन । त्यस कुरालाई संघीय सरकारले निरन्तता दिनुपर्छ । स्थानीय सरकार भनेको शिक्षा, स्वास्थ्य र अलिक बढी कृषकहरुका पक्षमा ध्यान दिनुपर्छ । उन्नत जातको विउ विजन र सिञ्चाईका साथै कृषकको उत्पादनलाई बजारीकरणमा ध्यान दिनु जरुरी छ ।
प्रेमनारायण आचार्य (कनकाई)
कनकाई नगरपालिकाले विकास निर्माणका कामहरु त गरेकै छ । तर त्यसपछि पछाडि यहाँको सरकारले स्वास्थ्य र शिक्षालाई ध्यान दिनु जरुरी छ । यहाँका स्कुलहरुमा पनि पहिलेका दलहरुले यहाँका स्कुलहरुमा आफ्ना मान्छेहरुलाई भर्ती केन्द्रजस्तो बनाउनुभएको छ । जसले गर्दा शिक्षामा आशातित प्रगति भएको जस्तो मलाई चाहिँ लाग्दैन । शिक्षक जस्तो गरिमामय पदमा भर्ती गरिँदा कम्तीमा प्रतिस्पर्धाबाट आउनुपर्छ । योग्यता भएका मान्छेहरु शिक्षकका रुपमा भर्ना हुनुपर्छ ।
विकास गर्ने तरिका पनि अलिकति के नपुगेको जस्तो भएको छ । बजार बाटोमाथि सार्दा तल्लो बजार र त्यस ठाउँको बिजोग भएको छ । खाली ठाउँमा केही निर्माणको थालनी पनि भएको छैन । भएका संरचनाहरु पनि भत्काइदिए । त्यसको ठाउँमा बरु स्कुलको जमिनहरु खोजी गरेर त्यसको संरचना खाली गरिनुपर्ने थियो र यहाँ त लागिरहेको बजारहरु पो खाली गरिए खण्डहर बनाइए । स्थानीय सरकारले कम्तीमा यहाँका बजार र स्कुल दुबैको वातावरण हराभरा बनाउनुपर्छ ।
यहाँ व्यापार गर्ने व्यापारीहरुलाई सरकारले समन्वय गरेर सबै व्यापारीहरुलाई सुहाउँदो करको दायरामा ल्याइदिओस् । कर, तिर्ने बेलामा यो वा त्यो नभनिकन सरल तरिकाले कर तिर्न पाइओस् । सामाजिक सञ्जालमा आउने गरेका धेरै टिका–टिप्पनीहरु छन् । तिनीहरुलाई समेत चिर्ने गरिको वातावरण समेत स्थानीय सरकारले गरिदिओस् भन्ने मलाई लागेको छ ।
धर्मप्रसाद आचार्य (कनकाई)
कनकाई नगरपालिकाले गरेका विकास निर्माणलाई हेर्ने हो भने मैले बुझेसम्मचाहिँ कही आफ्नो, कही सरकारको आफ्नो पकेट एरियामा अलिक बढी विकास गर्ने गरेको र कुनै ठाउँलाई चाहिँ अलिक उपेक्षा गर्ने गरेको पाइएको छ । एउटै बाटोमा कहिलेकही ३÷४ चोटीसम्म कामहरु भइरहेका छन् भने कतै भने एकचोटी पनि सरकारको ध्यान नपुगिरहेको अवस्था हामीले देखेका छौं ।
भोटका बेला बाहेक कहीँ–कहीँ सरकारका प्रतिनिधिहरु फेरि फर्किएर नगएका उदाहरण पनि नगरभित्रै पनि रहेका छन् । शिक्षामा कनकाई नगरपालिकाभित्र एउटै नीति र एउटै पाठयक्रम बनाएर लागू गर्नुपर्ने आवश्यकता देखिन्छ । एउटै युर्निफर्म पनि बनाइदिनु जरुरी छ । यसो हँुदा सबै विद्यार्थीहरुको समान हैसियत देखिने थियो ।
सरकारले ऐलानी जमिनको धर्नीपूर्जा दिने कुरालाई यहाँका जनतालाई भोट बैंकका रुपमा प्रयोग गरिँँदै आएको छ । त्यस कुराको अन्त्य गरीनु आवश्यक छ । यस क्षेत्रमा ऐलानी जमिनको सबैलाई धनीपूर्जा र गुठी संस्था बाहेकको जमिनलाई समेत चाँडो व्यवस्थित गरेर धनीपूर्जा वितरण गरिनुपर्छ । नगरपालिकाले पार्टीका मान्छेका कुरा सुनेर भन्दा आफैँ प्रतिनिधि त्यहाँ पुगेर विकास निर्माणका कामहरु गर्नुपर्यो ।
सन्तोस रायमाझी (कनकाई)
कनकाई नगर सरकारले गणतन्त्र आए पछाडिको समयमा भए गरेका विकास निमार्ण लगायतलाई हेर्दा धेरै हदसम्म राम्रै कामहरु पनि भएका छन् । तर, जनता र समयको माग अनुसारको प्रगति भने नभएको हामीले महसुस गरेका छौं ।
शिक्षाको क्षेत्रमा, स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय कामहरु भएको छैन । गुणस्तरीय शिक्षा–स्वास्थ्यको कामहरु भएको छैन । यहाँका जनताले यो सुविधा पाएका छैनन् । शिक्षा निःशुल्क पाउनुपर्ने त्यो जनताले पाइरहेका छैनन् । स्वास्थ्यको क्षेत्रमा पनि धेरै कामहरु भइरहे पनि दक्ष जनशक्तिको अभाव अझ जनशक्तिकै अभावका कारण नगरबासीले जति सेवा सुविधाहरु पाउनुपर्ने हो त्यो पाइरहेका छैनन् ।
स्वास्थ्य शिक्षामा कर्मचारीको प्रयोग गर्दा पनि आफ्ना नजिकका मान्छेहरुलाई प्रयोग गर्ने गरेको पनि देखिएको छ । सुरुङ्गा बजारलाई उपयोग गर्ने ९० प्रतिशत मानिसहरु यहाँका रहँदारहँदै पनि यहाँको बजारलाई व्यवस्थापन नगरी ३ वर्ष पहिले नै बजारलाई माथि जंगलम स्थान्तरण गरियो । यसो गर्दा न उतको व्यावसाय चल्यो न यताको व्यावसाय चल्यो । यसरी बजारलाई अव्यवस्थित बनाउने कामहरु भयो । यसलाई म गल्ती भएको मान्दछु ।
यहाँका उत्पादन सब्जीहरु टाढाटाढाबाट पनि आउने हुँदा सस्तोमै पनि पाइने गर्दथ्यो । बजारको स्वरुप नै बिग्रैपछि सब्जी महँगो भएको छ । कर्मचारीहरुले पनि जनताप्रति उत्तरदायी जुन रुपमा हुनुपर्दथ्यो त्यो भएको देखिँदैन । माईखोला र विरिङ खोलालाई थप व्यावस्थित गर्ने देखि लिएर कृषकहरुको उत्पादनलाई बेला मौकामा असिना पानीले समेत नष्ट गरिदिने गर्छ । उनीहरुको मेहनतलाई कसरी हुन्छ व्यवस्थित गर्नका लागि बिमा लगायतका कामहरु स्थानीय सरकारले गर्नु पर्छ ।


