भद्रपुर । भद्रपुरस्थित ओम साइ पाथीभरा हस्पिटलले आफ्नो चौधौँ वार्षिक उत्सवको अवसरमा नयाँ सेवा थप विस्तार गरेको छ । हस्पिटलले विश्वस्तरीय फाइबर लेजर मेसिनबाट किड्नीको ढुङ्गा, पिसाब नलीको ढुङ्गा, पिसाब थैलीको ढुङ्गा प्रोस्टेटको अप्रेसन नचिरीकन र प्वाल नपारीकन गरिने सल्यक्रिया सेवा सुरु गरेको हो।
यो सेवा विस्तारसँगै बिरामीले यस्ता उपचारको लागि धेरै खर्च गरेर अन्यत्र जानु नपर्ने अस्पतालका अध्यक्ष दीपक कुमार पोख्रेलले जानकारी दिए । उनका अनुसार मेची अञ्चल कै पहिलो बिसेशज्ञ उपचार सेवाका रुपमा २०६६ सालबाट सुरु भएको यस अस्पतालले आफ्नो सेवा प्रारम्भसँगै आइसियु , डायलिसिस, ल्याप्रोस्कोपिक सर्जरी, न्युरो सर्जरी, नाक कान घाटी, अर्थोपेडिक सर्जरी, गाइने सर्जरी, डेण्टल सर्जरी र विशिष्ट मेडिसिन सेवा दिँदै आएको छ ।
हाल आँखाको उपचार समेत भइरहेको छ । यो सबै सेवा नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रमबाट बिरामीले उपचार पाइरहेको छ । अस्पतालका कन्सल्टेन्ट ल्याप्रोस्कोपिक तथा युरिलोजी सर्जन डा. शशिकुमार सिंहका अनुसार यो २१ औ शताब्दीको विश्व स्तरीय लेजर प्रविधि आइआरआइ एस लेजर मेसिनबाट नचिरीकन कुनै प्वाल नपारी स्टोनको शल्यक्रिया गर्दा बिरामीहरू लाभान्वित हुने छन् ।