Kanakai Online

आत्मदाह गरेका आचार्यको परिवारले ५० लाखको बीमा दाबी पाउने


शुक्रवार, माघ १३, २०७९ |

कनकाई अनलाईन
संसद भवन अगाडी आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाट लगभग ५० लाख रुपैयाँ हाराहारीको दाबी भुक्तानी पाउने भएका छन् ।

आचार्यले २०७७ सालमा ५० लाख रुपैयाँ बीमाङ्कको धनन्जय जीवन बीमा पोलिसी खरिद गरेका थिए । सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालका अनुसार आचार्यले बिर्तामोड झापा शाखाबाट ५० लाख रुपैयाँ बीमाङ्क बराबरको पोलिसी खरिद गरेका थिए । उनले भने ‘सामाजिक सञ्जालमा एक करोड भनिए पछि हामीले पोलिसी फाइल हेर्दा ५० लाख रुपैयाँको बीमा गरिएको पाइएको छ ।

आचार्यले पोलिसी खरिद गरे पछि लगातार दुई किस्ता बापतको बीमा शुल्क भुक्तानी गरेका थिए । तर पछिल्लो किस्ता बापतको बीमाङ्क रकम भुक्तानी गरेका थिएनन् । समयमा तेस्रो किस्ता भुक्तानी नगरेकाले उनको यो पोलिसी व्यतित बीमालेखमा गणना भइकेको थियो ।

नियम अनुसार बीमा पोलिसी खरिद गरेको दुई वर्षसम्म बीमितले आत्महत्या गरेमा दाबी भुक्तानी पाइदैन । तर पोलिसी खरिद गरेको तीन वर्ष पुगेकोले उनी दाबी पाउन योग्य भएको अर्यालले जानकारी दिए । आचार्यले धनफिर्ता ‘मनिव्याक’ पोलिसी खरिद गरेको हुँदा उनले वार्षिक रुपमा बीमाङ्कको ५ प्रतिशतका दरले दाबी पाउने व्यवस्था छ । सोहि अनुसार उनले यस अगाडी २ पटक ५ प्रतिशतकादरले फिर्ता पाइसकेका छन् । यस हिसावले उनले ५ लाख रुपैयाँ फिर्ता पाइसकेका छन् । तेस्रो किस्ता वापतको बीमा शुल्क चाही उनले नतिरेको कारण सोही तेस्रो वर्षको बीमा शुल्क रकम भने घट्छ । अरु बाँकी रकम भने उनको परिवारलाई कम्पनीले भुक्तानी गर्नेछ ।

कम्पनीले विर्तामोड शाखाबाट पोलिसी फाइल मगाएको छ । पोलेसी मंगलबारसम्ममा उपलब्ध गराउने जानकारी परिवारले गराएको बताइएको छ । उक्त पोलिसी फाइल आइसके पछि मात्रै उनको परिवारले ठ्याक्कै कति रुपैयाँ पाउने भन्ने विषयमा जानकारी गराउनेछ ।

कम्पनीले दाबी भुक्तानी गर्दा नियम अनुसार आचार्यले भुक्तानी नगरेको तेस्रो वर्षको बीमा शुल्क घटाउनेछ । त्यस पछि बीमित आचार्यले तिरेको बीमाङ्क रकमको बोनस सहित जोडिनेछ । यस आधारमा आचार्यको परिवारले ५० लाख हाराहारीकै दाबी पाउने देखिन्छ ।

बीमा पोलिसीमा बीमित आचार्यले हकवालाको नाम आफ्नै श्रीमती नानुका अधिकारी राखेका थिए । अव आवस्यक कागजपत्र पुर्याएर दाबी भुक्तानीको प्रकृया पुरा गर्ने वित्तीकै उनले दाबी पाउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्यालले जानकारी दिए ।

उनको बुधबार विहान उपचारको क्रममा ज्यान गएको थियो । इलाम स्थायी घर भएका आचार्य उद्यमी, व्यवसायी थिए ।