कनकाई अनलाईन
अर्जुनधारा, मंसिर ५ । चौंथो खुदुनाबारी गोल्डकपको उपाधि मेचीनगर नगरपालिकाले जितेको छ ।
अर्जुनधारा–३ को कैदले प्राकृतिक रंगशालामा आज भएको फाइनल खेलमा शिवसताक्षी नगरपालिकालाई २–० गोल अन्तरले हराउँदै मेचीनगरले उपाधि कब्जा गरेको हो । मेचीनगरलाई जित दिलाउन लक्षु थापाले दुवै गोल गरे । उनले खेलको २६ औं र ३६ औं मिनेटमा गोल गरेका थिए ।
गोल्डकप विजेता मेचीनगरले नगद १ लाख ११ हजार २ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पायो । उपविजेता बनेको शिवसताक्षीले नगद ५५ हजार ६ सय ५५ रुपैयाँ ,ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
शिवसताक्षीका निकेश श्रेष्ठ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बने । उनले नगद १० हजार र ट्रफी पाए । मेचीनगरका विशाल दर्जी उत्कृष्ट डिफेन्डर बन्दा मेचीनगरकै सनम भुजेल सर्वाधिक गोलकर्ता बने । उनले प्रतियोगितामा ७ गोल गरेका थिए । त्यस्तै मेचीनगरका युवराज पुरी उत्कृष्ट गोलकिप्पर बन्दा मेचीनगरका टिम कोच ससेन्द्र धिमालले बेष्ट कोचको पुरस्कार हात पारे । त्यस्तै आयोजक टिमका सौरव विक प्रतियोगिताको उदीयमान खेलाडी घोषित भए । उनीहरु सबैले जनही नगद ७ हजार र ट्रफी पाए ।
फाइनल खेलको नायक बनेका लक्षु थापाले बेस्ट प्लेयर अफ दि फाइनलको पुरस्कार पाए । उनले नगद ५ हजार र ट्रफी हात पारे ।
विजेता, उपविजेता र विधागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई प्रतियोगिताका संयोजक सिताराम भट्टराई, अर्जुनधाराका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ, शिवसताक्षीका नगर प्रमुख मेघाहाङ थोप्रा, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, अर्जुनधारा १ का वडाध्यक्ष उपेन्द्र बस्नेत, अर्जुनधारा २ का वडाध्यक्ष नरेन्द्रकुमार श्रेष्ठ, प्रतियोगिताका खेल संयोजक धनबहादुर तामाङ, आर्थिक संयोजक ढुण्डीराज गौतमलगायतले पुरस्कार बितरण गरेका थिए ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न भएको चौंथो खुदुनाबारी गोल्डकपको समापन समारोहमा खेल क्षेत्र र खुदुनाबारीको समग्र विकासका लागि यागदान दिने मदनबिक्रम नेम्वाङ, कर्मेन्द्र बिक्रम नेम्वाङ, राजेन्द्रबहादुर गौतम, गोबिन्दराज काफ्ले र युवराज महतलाई सम्मान गरिएको थियो ।गोल्डकपलाई अर्जुनधारा नगरपालिकाको १, २ र ३ नम्बर वडाले संयुक्त रुपमा आयोजना गरेका थिए ।