कनकाई अनलाईन
झापाको शिवसताक्षी नगरपालिकामा अपाङ्गता रोकथाम तथा पुनःस्थापना अभिमुखीकरण गरिएको छ ।
शिवसताक्षी नगरपालिकाको आयोजनामा करुणा फाउण्डेसनले शिवसताक्षीका अपाङ्गता भएका व्यक्ति, संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि, विद्यालयका प्रधानाध्यापकहरुलाई सहभागी गराई अभिमुखीकरण गरेको हो ।
नगरपालिकाले आफ्नो श्रोत र साधनले भ्याएसम्म अपाङ्गता भएका व्याक्तिहरुको क्षेत्रमा काम गरिरहेको शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले बताए । यस नगरपालिकालमा पनि अपाङ्गता भएका व्यक्तिहरूको संख्या धेरै छ । उहाँहरुलाई पुनःस्थापना गर्दै विभिन्न सीप सँग जोड्न नगरपालिकाले कार्यक्रम तयार गर्ने र सामाजिक विकास मन्त्रालय कोशी प्रदेश र करुणा फाउण्डेसन नेपालको सहकार्यका अझ धेरै काम गर्न सकिने नगरप्रमुख थोप्राको भनाई थियो ।
नेपालमा दशहजार शिशु जन्मदा ५९.९ जना शिशु जन्मदोष लिएर जन्मन्छन् । नेपालमा प्रति हजार जिवित जन्ममा २१ जना एक महिना मुनिका बालबालिको मृत्यु हुने गरेको तथ्यांक छ । अपांङ्गता भएका व्यक्तीहरुको स्वास्थ्य, शिक्षा, जिविकोपार्जन, सामाजिक सहभागिता एवम सशक्तिकरणको अवसरमा समान पहुँच नभएको र विद्यालय जाने उमेर समूहका अपाङ्गता भएका बालबालिकाहरुको शिक्षामा पहुँच न्युन रहेको छ ।
आफै काम गर्न सक्छौ भन्ने मान्यतामा आधारित करुणा फाउण्डेशनले काम गर्ने सहजकता सन्तोष घिमिरेले जानकारी दिए । उनले अपाङ्गता भएको व्यक्तिहरुलाई सरकारले दिएको सुविधा र उसलाई आत्म निर्भर बनाउन अबलम्बन गर्नु पर्ने प्रावधानहरुको विषयमा अभिमुखीकरण गराएका थिए ।
अभिमुखी कार्यक्रममा उपप्रमुख नरमाया कार्की, नगर भित्र रहेका विद्यालयहरुका प्रधानाध्यापक, नगरका कर्मचारी, महिला स्वास्थ्य सेविका, अपाङ्गता भएका व्यक्तिहरुलगायतको उपस्थिति रहेको थियो ।
अभिमुखी कार्यक्रममा नगरप्रमुख मेगाहाङ्ग थोप्राको अध्यक्षता रहेको थियो भने, प्रशासन प्रमुख डिल्ली नेपालले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन शिवसताक्षी नगरपालिका महिला तथा बालबालिका शाखाकी देविना पुराजुलीले गरेकी थिइन् ।