Kanakai Online

खर्च घट्यो तर घटेन भाडा


शुक्रवार, असोज ११, २०८१ |

कविराज घिमिरे

गत एक वर्षमा कोशी पहाडी जिल्लामा धेरै विद्युतीय सार्वजनिक सवारीसाधनको प्रयोगमा आएका छन् । कोशी राजमार्ग हुँदै धनकुटा तेह्रथुम भोजपुर सङ्खुवासभाका विभिन्न स्थानमा दैनिक एक सयभन्दा बढी सार्वजनिक विद्युतीय सवारीसाधन गुड्छन् । जिल्लामा आवतजावत गर्ने सार्वजनिक सवारीमा आधा विद्युतीय सवारीसाधन नै रहेका छन् ।

तुलनात्मक रूपमा हेर्दा डिजेल, पेट्रोलबाट वा डिजेलबाट चल्ने सवारीसाधनको भन्दा विद्युतीय सवारीसाधनको इन्धन खर्च नगण्य हुन्छ तर यात्रुबाट उठाउने भाडा दर भने उस्तै छ । पछिल्लो समय बजारमा भित्रिएका विद्युतीय सवारीसाधनमा शतप्रतिशत चार्ज गर्दा तराई क्षेत्रमा तीन सय किलोमिटरसम्म माइलेज दिने र पहाडी क्षेत्रमा करिब १५० किलोमिटरसम्म माइलेज दिने गरेका सवारीचालक बताउँछन् । शतप्रतिशत चार्ज खर्च सातदेखि नौ रुपियाँ मात्र पर्न आउने मिलन चार्जिङ स्टेसनका सञ्चालक मिलन खड्का बताउनुहुन्छ ।

यसरी हेर्दा विद्युतीय सवारीसाधनले तराई क्षेत्रमा सात सयदेखि नौ सय रुपियाँको विद्युतीय इन्धन प्रयोग गरेर तराईमा ३०० किलोमिटर कुदाउन सकिन्छ भने पहाडी क्षेत्रमा करिब १५० किलोमिटर कुदाउन सकिने धनकुटाका विद्युतीय सवारीसाधन सञ्चालक रवि थापा बताउनुहुन्छ तर डिजेल प्रयोग गर्ने सवारीसाधनले भने सोही दुरी पार गर्न इन्धनमा मात्रै करिब तीन हजार रुपियाँभन्दा बढी खर्च गर्नुपर्ने यातायात व्यवसायी बताउँछन् ।

इन्धनको तुलना गरेर हेर्दा दुई प्रकारका

सवारीसाधनमा हुने खर्च अन्तर चार गुणासम्म छ तर भाडा भने बराबर छ । अहिले धनकुटाका हिलेबाट सुनसरीको धरानसम्म दुवै प्रकारका सवारीसाधनले ४०० सय रुपियाँ भाडा लिने गरेका छन् । धनकुटाका स्थानीय दिलकुमार राई विद्युतीय सवारीसाधन प्रयोगमा आए पनि यात्रुलाई कुनै फरक नभएको बताउनुहुन्छ । राई भन्नुहुन्छ, “जिल्लामा विद्युतीय सवारीसाधन त भित्रिए तर यो भित्रनु र नभित्रनुको के अर्थ खर्च कम हुने सवारीसाधन र खर्च बढी हुने सवारीसाधनले बराबरी भाडा लिइरहेका छन् ।”

भाडा समायोजन गर्न माग

विद्युतीय सवारीसाधनको प्रयोग हुन थालेको वर्ष दिन बितिसक्दा पनि अहिलेसम्म कतैबाट पनि भाडा समायोजन गर्न प्रयासै नभएको स्थानीयको आरोप छ । जनस्तरमा भने विद्युतीय सवारीसाधनले कम भाडामा यात्रु ओसारपसार गर्न सक्ने भन्दै भाडा समायोजनको माग हुन थालेको छ । १० सिटे अन्य सवारीसाधन र विद्युतीय सवारीसाधनको मूल्यसमेत उस्तै उस्तै पर्ने व्यवसायीहरू बताउँछन् । धनकुटा नगरपालिका–७, जिरोप्वाइन्टका स्थानीय टेकबहादुर श्रेष्ठ भाडा समायोजन हुनुपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “विद्युतीय सवारीसाधनको इन्धन खर्च कम हुन्छ तर भाडा बराबर तिर्नु पर्छ यो चाँडो समायोजन हुनु पर्छ । यात्रुले राहत पाउनु पर्छ ।”

विद्युतीय सवारीसाधनमा खर्च कम हुने तर भाडा अरू बराबर नै लिने गरेको र त्यसको नियन्त्रण गर्न मौखिक गुनासो यात्रुबाट आउने गरेको धनकुटाका ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्का बताउनुहुन्छ तर भाडाबारे कुनै पनि नयाँ निर्णय नआएको र आफूहरूले भाडाबारे केही गर्न नसकेको उहाँको भनाइ छ ।

व्यवसायीको आफ्नै गुनासा

पूर्वी पहाडको मुख्य प्रवेशद्वार धरान हो । धरानमा आफूहरूले स्टेन लगाउने ठाउँ नै नपाएको व्यवसायीको गुनासो छ । त्यस्तै इटहरीमा समेत अरू व्यवसायीभन्दा पछाडि बस्नुपर्ने गुनासो छ । स्थान अनुसार विद्युतीय चार्जको महसुलसमेत फरक फरक लिने गरेको धनकुटा हिलेका विद्युतीय सवारीसाधन व्यवसायी रवि थापा बताउनुहुन्छ । मुख्य स्थानमा आफूहरूले स्टेन लगाउन नपाउँदा यात्रु बोक्न नपाउने उनीहरूको गुनासो छ । सबै कुराको सहज व्यवस्थापन भए अरू सवारीसाधनभन्दा आफूहरूले केही छुटमा यात्रु चढाउन सकिने थापाको भनाइ छ ।