Kanakai Online

झापाबाट दुर्गा प्रसाईका ९ समर्थक पक्राउ


बुधवार, असोज ९, २०८१ |

कनकाई अनलाईन
दुर्गा प्रसाई पक्राउपछि उनको रिहाईको माग गर्दै ट्रक आगजनी गर्ने ९ जना प्रसाई समर्थकलाई प्रहरीले पक्राउ गरेको छ ।

कनकाई नगरपालिका ८ को लक्ष्मीपुर क्षेत्रबाट मंगलवार राती ७ जनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेको हो । असोज ६ गते बिरिङ पुल र बुट्टावारीमा दुईवटा भारतीय ट्रकमा भएको आगजनीमा संलग्न भएको आशंकामा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताउँनुभयो । पक्राउ पर्नेहरुमा हल्दिवारीका विवश लिम्बू , विरबहादुर गुरुङ,खेमराज दाहाल, बिर्तामोडका उदय लिम्बू , बुद्धशान्तिका बलिहाङ लिम्बू , अर्जुनधाराका रुद्र भुजेल र मेचीनगरका राजेश महत रहेका छन् ।

पक्राउ पर्नेहरुका बारेमा थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ । यसअघिनै सोही आरोपमा प्रहरीले राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानको भ्रातृ संस्था पीडीएफका झापा संयोजक ४० वर्षीय भिम तुम्बापो लिम्बू र राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानका झापा सहसचिव ३३ वर्षीय सुरेश चौधरीलाई पक्राउ गरेको थियो ।

उनीहरुमाथि आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगको मुद्धा दर्ता भएको छ । दुवैमाथि आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा झापा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान कार्य जारी रहेको तथा अन्य फरार प्रतिवादीहरुको हकमा तदारुकताकासाथ खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

दुर्गा प्रसाईका समर्थकहरुले असोज ६ गते राति दुईवटा भारतीय ट्रकमा आगजनी गर्नुका साथै ट्रक चालक समेत जलेर घाईते बनेका थिए ।