Kanakai Online

दुर्गाका समर्थकको निशानामा भारतीय ट्रक, गाडीमा आगजनि चालक घाईते


सोमवार, असोज ७, २०८१ |

कनकाई अनलाईन
बीएण्डसी अस्पतालका संचालक दुर्गा प्रसाई पक्राउ परेपछि आन्दोलित बनेका उनका समर्थकहरुको निशानामा भारतीय गाडी परेका छन ।
भक्तपुरमा दुर्गा प्रसाई पक्राउ परेसगै झापा बन्दको आव्हान गरेका दुर्गा प्रसाईका समर्थकले झापाका भिन्दाभिन्दै स्थानमा दुईवटा भारतीय ट्रकमा आगजनी गरी क्षति पुर्याएका छन् ।

आईतवार राती राति ११ः१० बजे कन्काई –८ स्थित पूर्वपश्चिम राजमार्गको बिरिङ खोलाको पुलमा बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको युपी ५७ एटी ४४९३ नम्बरको भारतीय मालबाहक ट्रकमा आगजनी गरेका हुन् । प्लाइ बनाउन प्रयोग हुने कच्चा पदार्थ बोकेको ट्रकमा ६ वटा मोटरसाइकलमा आएका १०÷१२ जनाले ट्रकमा आगजनी गरी फरार भएका थिए । बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा इलाका प्रहरी कार्यालय बिर्तामोड र सुरुङ्गाबाट खटिएको संयुक्त प्रहरी टोलीले राति ११ः५५ बजे आगो पूर्ण रुपमा नियन्त्रणमा लिएको थियो । ट्रकमा भएको आगजनीबाट अगाडिको भागमा क्षति पुगेको छ ।

त्यस्तै पछाडिको भागमा समेत सामान्य क्षति पुगेको छ ।साथै, ट्रकमा भएको आगजनीबाट सोही ट्रकका चालक भारत सिलिगुडी बस्ने बर्ष ४० का कुमार महतो दाहिना हातको पाखुरामा जलेर घाइते भएका छन् । उनको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै प्रसाईका समर्थकहरुले बिहान २.४५ बजे बिर्तामोड ६ गिरीबन्धु टी इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा अर्को भारतीय ट्रकमा आगजनी गरेका छन् । सुनसरीको दुहबीबाट काँकडभिट्टातर्फ जाँदै गरेको खाली ट्रकलाई ५–६ जनाको समूहले आगजनी गरेका हुन् ।
ट्रकमा लागेको आगो बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । आगलागीबाट ट्रकको अगाडिको भाग पूर्णरुपमा जलेर नष्ट भएको छ भने पछाडिको भागमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ । साथै, आगलागीबाट ट्रकका चालक भारत इस्लामपुर बस्ने बर्ष ४० का पोदा रायको दाहिने हातको पाखुरा र ढाड जलेर घाइते भएकोमा उनलाई बीएण्डसी अस्पतालमा लगेर उपचार गरिएको थियो । चालक राय भारतमै उपचार गर्ने भन्दै भारततर्फ गएको बिर्तामोड प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले बताउँनुभयो ।

त्यस्तै आईतवार राती ८ः३५ बजे बिर्तामोड – १, राजगढ स्टेण्डस्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकलमा आएका ४÷५ जनाको समूहले मुख्य राजमार्ग ३ वटा टायर बालेर फरार भएका थिए । पक्राउको विरोधमा प्रसाई समर्थकहरुले आज चक्काजाम आव्हान गरेका छन् । उनीहरुले आगजनी जस्ता अराजक गतिविधि गरेपनि यातायात संचालन भइरहेको प्रहरीले जनाएको छ ।

आईतवारनै प्रहरीले झापामा दुईजना दुर्गा प्रसार्एका समर्थकलाई पक्राउ गरेको थियो ।पक्राउ पर्नेहरुमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका झापा जिल्ला संयोजक रामचन्द्र मैनाली र नागरिक प्रतिरक्षा बल (पीडीएफ) का मेची अञ्चल संयोजक दुरेन राई रहेका छन् । उनीहरुलाई पक्राउ गरि प्रहरी अनुसन्धानमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक कृष्णकुमार चन्द्रले बताउँनुभयो । दुर्गा प्रसाईका समर्थकद्धारा उनको पक्राउको विरोधमा सोमवार आव्हान गरिएको झापामा यातायात बन्दको आशिंक प्रभाव परेको छ ।

,

सम्बन्धित खबर