Kanakai Online

सुरुङ्गा रेडक्रसको सोह्रौं सभा संस्थापकलाई सम्मान


शनिवार, भदौ २२, २०८१ |

कनकाई अनलाईन

नेपाल रेडक्रस सोसाइटी उपशाखा सुरुङ्गाको सोह्रौं साधारणसभामा जग्गादाता र संस्थापकहरुलाई सम्मान गरिएको छ ।
आज

रेडक्रस सभाहलमा उपशाखा सभापति बालकृष्ण प्रसाईंको अध्यक्षता, कनकाई नगरपालिका उपप्रमुख आशा शर्मा शिवाकोटीको प्रमुख आतिथ्य र नेपाल रेडक्रस सोसाइटी झापा शाखा सभापति लोकराज ढकालको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा सुरुङ्गा रेडक्रस स्थापनामा विशिष्ट योगदान गरेको मूल्यांकन गर्दै रेडक्रस अभियानको धरोहरका रूपमा जग्गादाता संस्थापक अध्यक्ष गेहनाथ उप्रेतीलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियोे ।

त्यसै गरी, रेडक्रसकर्मीहरू तोयानाथ अधिकारी र दुर्गाप्रसाद चापागाईंलाई संस्थालाई पुर्याएको देनको लागि प्रशंसापत्रद्वारा सम्मान गरिएको थियोे । सदस्य श्याम पौडेलले स्वागत मन्तव्य राखेको कार्यक्रममा अध्यक्ष प्रसाईंले वार्षिक प्रतिवेदन, सचिव अर्जुन बोहराले सङ्गठनात्मक प्रतिवेदन र कोषाध्यक्ष दीपक भट्टराईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा एमाले नगर अध्यक्ष गोकर्ण ओझा, नेपाली कांग्रेस नगर सचिव दीपक खतिवडा, राप्रपा नगर अध्यक्ष टीकाराम बराल, सुरुङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष भीमप्रसाद अधिकारी, कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाका अध्यक्ष प्रेमप्रसाद चुडाल, शिक्षासेवी डम्बर फुयाँल, युनिक बहुमुखी क्याम्पस सुरुङ्गाका क्याम्पस प्रमुख दीपक भट्टराई, घैलाडुब्बा रेडक्रस सभापति चन्द्र चुडाल, शरणामती रेडक्रस सभापति महेन्द्र प्रसाईं, सल्लाहकारद्वय श्रीप्रसाद बिमली र खेमराज कार्की, लगायतको आतिथ्य रहेको थियोे । २०५८ सालमा स्थापित सुरुङ्गा उपशाखामा हाल ६ यशस्कर सदस्य, १० विशिष्ट सदस्य र ६२६ जना आजीवन सदस्यहरू रहेका छन् । उपशाखा अन्तर्गत १३ वटा जुनियर रेडक्रस सर्कल र ४ वटा युवा रेडक्रस सर्कल रहेका छन् ।

यस वर्ष अधिवेशनसमेत रहेकाले नयाँ कार्यसमिति गठनका लागि निर्वाचन समिति गठन गरी जिल्ला शाखाले आवश्यक प्रक्रिया अघि बढाएको बुझिएको छ ।