कनकाई अनलाईन
गीतकार टीका भट्टराई (नेपाल) को पाँचौँ कृति ’मुर्छना’ गीतसङ्ग्रहको विमर्श कार्यक्रम सम्पन्न भएको छ ।
मोती जयन्तीको सन्दर्भ पारेर कनकाई प्रतिभा प्रतिष्ठाद्वारा आयोजित एक कार्यक्रममा प्रतिष्ठानकी आजीवन सदस्य समेत रहेकी नेपालको उक्त गीत सङ्ग्रहको समीक्षा प्रस्तुत गरिएको थियो । प्रतिष्ठानको मासिक साहित्य गोष्ठी सञ्चालन उपसमितिका संयोजक साहित्यकार निर्मलकुमार खतिवडाको अध्यक्षता, अग्रज सञ्चारकर्मी, गीतकार एवम् सङ्गीतकार चन्द्र भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा दीपक रायमाझी र विवश बलिभद्र कोइरालाले सो गीतसङ्ग्रहकोे परिचर्चा गरेका थिए ।
गायक तथा सङ्गीतकार झलक संग्रौलाले टीका भट्टराई नेपालको शब्द रहेको ‘परदेशमा’ बोलको गीत गाएका थिए भने शिशिर योगीको सङ्गीत र स्वर रहेको ‘तस्विर तिम्रो यी आँखामा आउँछ कैलेकैले’ बोलको गीत रबिना लिम्बुले गाएकी थिइन् । त्यसै गरी, कार्यक्रममा आकृति विष्ट र हस्त परियारले पनि गीतकार भट्टराईका एकएक वटा गीत गाएका थिए । गीतकार भट्टराईको परिचय स्रष्टा खगिन्द्रा खुसीले गराएकी थिइन् । कार्यक्रममा प्रमुख अतिथि भण्डारी, प्राज्ञ सुमित्रा बाङ्देल ‘चेली’, केशव आचार्य, शिवशंकर थापा, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल लगायतले शुभकामना मन्तव्य प्रकट गरेका थिए ।
गीत संग्रहमा १ सय २० वटा गीतहरू संग्रहित छन् । संग्रहमा देशभक्ति गीत, युगल गीत, लोक गीत र आधुनिक गीतहरू पुस्तकमा समेटिएका छन् । सरल भाषाशैली र विशिष्ट शब्द संयोजन रहेको टीका भट्टराई नेपालका गीतहरूमा देशप्रेम, माटोको सुगन्ध, नेपाली संस्कृतिप्रतिको मोह, परम्परा र चाडपर्वमा आएको विकृतिप्रतिको चिन्ता, जीवनयापनका यावत् आरोह अवरोध, माया प्रेम, पीडा आदि विषय र भाव रहेका छन् । गीतकार संघको आयोजनामा गत जेठमा गीतकार संघ काठमाडौं नेपालको सभाकक्षमा यो कृतिको परिचर्चा समेत गरिएको थियो ।
गीतकार टीका भट्टराईलाई गत साल गीतकार संघ नेपालले उत्कृष्ट गीतकारको रूपमा सम्मान तथा पुरस्कृत गरेको थियो । उनले पहिलो कृति ‘आमा’ शोककाव्यबाट साहित्य विधामा कलम चलाएकी हुन् । त्यसपछिका तीनवटा कृतिहरु प्रीतिपुष्प, मनका रङ्गहरू, अनुभूतिका स्वरहरू सबै गीत संग्रहहरू छन् । टीका भट्टराईका गीतहरूमा यशोदा पराजुली, नरेन्द्र प्यासी, शिशिर योगी, प्रमोद खरेल, मेनुका पौडेल, निशान्त भट्टराई , झलक संग्र्रौला, सरोज कोइराला, अस्मिता अधिकारी, मेलिना मैनाली, आनन्द कार्की, भानु ढकाल, गौरव दर्पण र माया गजुरेलले स्वर दिइसकेका छन् । टीकाका करिब ३० वटा गीतहरू संगीत भई बजारमा आइसकेका छन् ।
कार्यक्रममा अग्रज साहित्यकार कोमलप्रसाद पोखरेल, वरिष्ठ गीतकार शिवशंकर थापा, प्राज्ञत्रय हरिप्रसाद पौडेल, सुमित्रा बाङ्देल ‘चेली’ र मुनाराज शेर्मा, प्रखर कवि केशव आचार्य, सनलाइट सङ्गीत विद्यालय विर्तामोडका सञ्चालक कृष्ण योञ्जन र सरगम संगीत विद्यालय विर्तामोडका सञ्चालक दीपक रायमाझी, सुसेली साहित्य काकरभिट्टाका अध्यक्ष साहित्यकार पुण्यप्रसाद खरेल आदिको विशेष आतिथ्य रहेको थियो । होटल डिलाइट सुरुङ्गामा भएको कार्यक्रममा मासिक साहित्य गोष्ठी सञ्चालन उपसमितिका सचिव कथाकार दिनेश तिम्सिनाले स्वागत मन्तव्य राखेका थिए भने प्रतिष्ठानका उपाध्यक्ष डा. पुण्यप्रसाद सिग्देलले कार्यक्रमको सञ्चालन गरेका थिए ।