Kanakai Online

नाबालिकाको मृत्यु प्रकरण झापाबाट आमा पक्राउ


बुधवार, भदौ १९, २०८१ |

कनकाई अनलाईन
झापा, मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा बगानभित्र मृत भेटिएका दुई नाबालिकाकी आमालाई प्रहरीले पक्राउ गरेको छ ।
गत शनिबार सुन्दरहरैँचास्थित केरा बगानभित्र दिदी–बहिनीको शव फेला परेको थियो । धनकुटाको पाख्रीबास नगरपालिका–४ डिकुरे घर भइ सुन्दरहरैँचा–७ मा बस्दै आएका अर्जुन कार्कीका नाबालिका छोरीहरू १ वर्षीया आइका र ३ वर्षीया अर्पणा कार्की शनिबार दिउँसो ४ः३० बजेतिर मृत फेला परेका थिए ।
सो घटनामा मृतक नाबालिकाकी आमा अस्मिता न्यौपाने फरार भएकी थिइन् । २९ वर्षीया अस्मितालाई प्रहरीले शनिबार साँझदेखि नै खोजी तीव्र पारेको थियो । तत्काल फरार भएकी उनलाई आज ९बुधबार० बिहान ६ बजेतिर बिर्तामोडबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतकाअनुसार अस्मितालाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र झापा प्रहरीसँगको समन्वयमा पक्राउ गरिएको हो ।
‘बिर्तामोडबाट पक्राउ गरेर बेलबारी ल्याएका छौँ,’ जिल्ला प्रहरी कार्यालय मोरङका एक प्रहरी अधिकृतले भने, ‘उक्त घटनामा आमाको संलग्नता भएको हुनसक्ने आशंका भएकाले पक्राउ गरिएको हो ।’
पक्राउ परेकी अस्मितालाई इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।
घटनाको प्रकृति हेर्दा विष खुवाएर दुवै बालिकाको हत्या गरेजस्तो देखिने मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । अहिले प्रहरीले विभिन्न कोणबाट घटनाको अनुसन्धान सुरु गरेको उनले बताए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार निर्माणाधीन घरमा पानी लगाउने विषयमा अर्जुन र अस्मिताबीच विवाद भएको खुलेको छ । विवाद भएपछि दुई जना नाबालिका छोरीलाई लिएर अस्मिता शनिबार साँझदेखि घरबाट बेपत्ता थिइन् । पछि, स्थानीयले नाबालिकाहरूको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
स्थानीय नारायण न्यौपानेको केरा बगानभित्र दिदीले बहिनीलाई अंगालो हालेको अवस्थामा शव फेला परेको थियो । अर्जुन श्रीमती अस्मिता र दुई छोरीसहित सुन्दरहरैँचा–७ मालती टोलस्थित दिदी सीता रेग्मीको घरमा बस्दै आएका थिए । उनले नजिकै नयाँ घर पनि बनाउँदै थिए ।
नाबालिकाहरूको शव भेटिएको स्थानमा कीटनाशक औषधि ‘मेटासिट’को बट्टा फेला परेको थियो । छोरीहरूलाई विष खुवाएर आमा सम्पर्कविहीन भएको हुनसक्ने भएकाले प्रहरीले खोजी तीव्र पारेको थियो ।
पक्राउ परेकी अस्मितामाथि प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरेको छ । नाबालिकाहरूको शव शनिबार नै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागि लगिएको छ ।
पोस्टमार्टम रिपोर्टपछि घटनाको वास्तविकता पत्ता लाग्ने बताइएको छ ।
‘सकेसम्म आजै विस्तृत अनुसन्धान हुनेछ । पक्राउ परेकी महिलामाथि अदालतबाट म्याद लिएर अनुसन्धान हुन्छ,’ अनुसन्धानबाट खटिएका एक प्रहरी अधिकृतले भने ।
प्रहरीले म्याद थप गरेपछि पक्राउ परेकी अस्मितालाई सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।